रामेछाप। रामेछाप नगरपालिका ६ ओख्रेनीका शेरबहादुर तामाङले उत्पादन गरेको जुनारले राम्रो बजार पाउँदा उनि उत्साहित बनेका छन्। माग अनुसारको बिक्री गर्न झण्डै झण्डै समस्या परेको उनी बताउँछन्।
राम्रो मूल्यमा बोटबाटै सधैँ व्यापारीहरूलाई बिक्री गर्न पाउँदा आफू निकै उत्साहित भएको उनले सुनाए। ‘जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका छन्, व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएकोले बजारको समस्या छैन।’ उनले भने। सुन्तला बगैँचाबाटै प्रतिकिलो रु १ सय र जुनार प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ। पहेँलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका कृषक तामाङ बताउँछन्।
जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्। मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ। रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ। यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए। यो उत्पादन अहिलेसम्मकै उच्च हो।
कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ। उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुर लगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताए। अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताए।
फल कुहाउने औँसाबाट जुनार जोगाउनका लागी १० पटकसम्म विषादी छरिएको प्रमुख गैरेले जानकारी दिए। जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग कीरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन्। केही वर्ष यहाँको जुनारमा फल कुहाउने औँसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो। थोरै बाँकी रहे पनि त्यसमा कीरा भेटिन्थे। यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताए।
जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो। रामेछाप नगरपालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा सैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकीरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन्।
विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको अर्का कृषक हिमाल तामाङ बताउँछन। कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ। गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ।
जिल्लाको रामेछाप, रामपुर, सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताए।