उत्तरी गोरखाको धार्चे गाउँपालिकाभित्र पर्ने लाप्राक, सिङ्ला, गुम्दा, यमगाउँ, उहिया, खोर्ला, लप्सीबोट, खानीगाउँ, लापु गाउँलगायत क्षेत्रमा मकै विवाह गर्ने अनौठो चलन छ।
सिङ्ला गाउँमा माघ २८ गते मकै विहे धुमधामले मनाएको थियो।
मकै विहे एक प्रकारको प्रकृति पूजा हो। वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्मको ज्योतिषद्वारा लगन जुराएर मकै बिहे गर्ने चलन छ। विभिन्न गाउँमा फरक फरक दिनमा मकै विवाहको पूजा हुन्छ।
‘यो क्षेत्रमा मकै विवाह गरेपछि मात्र खेत बारीमा मकै हाल्ने वा मकैको बिउ छर्ने चलन परापूर्वकालदेखि चलिआएको हो,’ सिङलाका स्थानीय युवा राजु गुरूङ (गोर्खालीले) भने।
मकैवाली सप्रियोस्, किरा नलागोस् र प्रसस्त उब्जनीको कामना गर्दै मकै विवाह गर्ने चलन रहिआएको जनविश्वास छ। परापूर्वकालदेखि चलिआएको संस्कृति अहिलेको पुस्ताले पनि पछ्याएका छन्।
बेहुली पट्टिको मानिसहरु अगाडिनै नजिकको जंगलको गुफामा बसेका हुन्छन्। गाउँबाट बाजागाजासहित जन्ती लिएरबेहुलाको टोली बेहुली लिन जान्छन्।
बेहुली लिएर फर्केर साँझमा बाजागाजासहित पञ्चे खालमा आएर भुटेको र उसिनेको मकैको पार्टी खाइन्छ। बेलुकी नाचगान र भोज भतेरको साथमा मकै विवाह धुमधामले मनाइन्छ।
बिहे नगरी मकै रोप्नु अशुभ हुने धार्मिक र साँस्कृतिक मान्यता छ। लाप्राकवासीले गत शुक्रबार मात्रै मकै बिहे गरेका हुन्। ‘मकै बिहे सम्पन्न गरेपछि मात्रै यस क्षेत्रको प्रमुख वाली मकै रोप्न सुरू हुन्छ,’ धार्चे गाउँपालिका वार्ड-४ का वडाअध्यक्ष राज गुरुङले भने।
गाउँका सबै मानिसहरु मकै विहेमा जन्तीको रुपमा उत्साहपूर्वक सहभागी भएका थिए। उनीहरू मकै बिहेमा खुव रमाए, मकैको भोज भतेर खाए र धुमधामले नाचगान गरे।
अन्य गाउँहरुमा भने यसअघिनै मकै विवाह सम्पन्न भएको सिङ्लाका राजु गोरखालीले बताए।
मकै विवाह
उत्तरी गोर्खाका वासिन्दा प्रकृतिक पूजक हुन्। उनीहरु बोन धर्मावलम्बी हुन्।
प्रकृति पूजकले ‘मकै विवाह’ सम्पन्न गरेपछि मकैखेती लगाउन सुरू गर्छन्।
मकैवालीको राम्रो उव्जनी, असिना पानीबाट वाली जोगिन, रोग नलागोस् भनेर मकैको विहे गर्ने प्रचलन रहेको छ।
पुरानो रिति र चलन अनुसार स्थानीय ज्योतिषीद्वारा साइत हेरिन्छ। विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ।
अनि सिंगारपटार गरेर एक जना बालकलाई डोलीमा राख्छन्। मादल, झ्याली ढ्याङ्ग्रो र बाजागाजासहित गाउँका मानिसहरु जन्ती जाने गर्छन्। केही पर जंगलमा बेहुलीको घरको स्वरुपमा बनाएको झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती जान्छन्।
जन्तीहरुले कन्यालाई लिएर बाजागाजासहित गाउँको वरिपरी परिक्रमा गर्छन्। जन्ती जाँदा प्रत्येकले आ-आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा जम्मा पारिएको हुन्छ। ती मकैलाई गोबर, तीतेपाती सुनपानीले चोख्याइन्छ र अरू मकैको बिउमा मिसाएर बारीमा लगेर रोपिन्छ।
बेलुका ठूलो आँगनमा नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुन्छ।
उत्तरी गोरखा क्षेत्रमा मकै विहे पश्चात मात्रै मकै रोप्न सुरु हुन्छ।
हेर्नुहोस् सिङ्ला गाउँको मकै विवाहका केहि झलक
फोटो/भिडियो सौजन्यः राज गुरूङ (गोर्खाली)