तेज गुरुङ ‘मौरिस हर्जोग ट्रेल’ व्यवस्थापन समितिका अध्यक्ष हुन्। संसारमै पहिलोपटक आरोहण गरिएको आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम हो। फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लेकेनल सन् १९५० जुन ३ मा यसको चुलीमा पुगेका थिए। यो हिमाल म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ मा पर्दछ। गुरुङको नेतृत्वमा नारच्याङ गाउँदेखि यसको आधारशिविरसम्म पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरि पूर्वाधार विकासका काम गरिँदै आएको छ । यस पदमार्गको विकासबारे पर्यटन अभियन्ता गुरुङसँग गरिएको कुराकानी :
म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथमको आधारशिविरसम्मको पदयात्रामा रोमाञ्चक अनुभूति सँगाल्न पाइन्छ। बेनीबजारबाट निस्कने पदयात्रीले ६ दिनमै यात्रा पुरा गर्न सक्छन्।
‘मौरिस हर्जोग ट्रेल’का विशेषता के के हुन् ?
विश्वमै पहिलो पटक चढिएको अग्लो हिमाल अन्नपूर्ण प्रथम हो। साथै केटु हिमालपछिको अप्ठेरो हिमाल पनि यही हो। त्यही कारण सन् २०२१ अगस्टसम्म ३७७ जनाले मात्र आरोहण गरेका थिए। अर्को विशेषता हिमालसँग नजिकै विशाल हिमताल छ जसलाई ‘पञ्चकुण्ड ताल’ भनिन्छ।
आरोहीहरु हर्जोग र लेकेनल त्यहाँ पुगेका बेलामा यो ताल जमेको अबस्था रहेछ। त्यसैले उनीहरूसँगै हिमाल चढेका आङथार्की शेर्पा र सार्की शेर्पाले यसको नाम शेर्पा भाषाबाटै ‘डिकिचो’ (जमेको ताल) राखेका रहेछन्। पछि हामी स्थानीय वासिन्दाले यसको नाम पञ्चकुण्ड ताल राख्यौं।
धार्मिक दृष्टिबाट हेर्दा तुलसीकृत रामायणमा कागभुसुण्डीले रामायण सुनाएको ठाउँ पनि यही हो। त्यसैले यसको धार्मिक महत्व पनि ठुलो छ। पञ्चकुण्ड ताल नजिकै मनाङको तिलिचो ताल पर्दछ। साथै निलगिरी हिमसृङ्खला, बराहशिखर (फेङ) पनि आधारशिविर क्षेत्रमै पर्दछन्। यस क्षेत्रमा दुर्लभ बनस्पति भोजपत्रको घना जङ्गल पनि छ। यहाँका पाखाहरुमा विशाल गुफाहरू छन्। ताल नजिकै पदमार्गमा पञ्च झरना छन्। ठुलाठुला पाँच ओटा झरना । यसबाहेक पदमार्गमै अर्को फुत्फुते झरना पनि छ। त्यसैले स्वच्छ वातावरण भएको पवित्र भूमि भएकाले यो पदमार्ग स्वदेसी तथा विदेशी पदयात्रीका लागि उत्तम गन्तव्य बन्न सक्छ।
जैविक विविधताका हिसाबले यो क्षेत्र कत्तिको समृद्ध छ ?
जैविक विविधताको हिसाबले हाम्रो क्षेत्र धनी छ। यहाँ थरीथरीका वनस्पति, जीवजन्तु र चराचुरुङ्गी पाइन्छन्। रैथाने गुराँसको घना जङ्गल पनि यहीँ छ। दुर्लभ वन्यजन्तु हिउँचितुवा, डाँफेमुनाल, पुच्छर नभएको मुसा, कस्तुरी मृग, घोरल, झारल, भालु आदि पदयात्रामा देख्न सकिन्छ।
अन्नपूर्ण हिमालको आधारशिविरसम्म कसरी पदयात्रा गर्न सकिन्छ ? कति समय लाग्छ ?
म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका वडा नं ४, नारच्याङ गाउँको नागढुङ्गामा हामीले सूचना पाटी राखेका छौं। त्यहाँबाट हुमखोलासम्म सडक खुलिसकेको छ। नागढुङ्गाबाट हुमखोलासम्मको सडकको दूरी २० किलोमिटर छ। त्यहाँबाट २२ किलोमिटर हिँडेपछि आधारशिविरमा पुगिन्छ। पदमार्गका ठाउँठाउँमा हरेक दुई दुई घण्टाको दूरीमा कटेज तथा आवासगृह बनाएका छौं। यसले गर्दा स्यानो समूहलाई टेन्ट आवश्यक पर्दैन, खानेकुरा, पकाउने भाँडावर्तन र ग्याँस बोके पुग्छ।
म्याग्दीको सदरमुकाम बेनीबजारबाट पदयात्रामा निस्कने विदेसी पदयात्रीहरु ४ दिनमा सजिलै आधारशिविर पुग्न सक्छन्। बेनीबाट नारच्याङसम्म २३ किलोमिटर सडक छ। बेनीबाट निस्केको पहिलो दिन तातोपानी, नारच्याङ, बाँसकोट, मालारानी, छोटेपा या हुमखोलामा पुगेर बास बस्न सकिन्छ।
दोस्रो दिन गुफाफाँट या भुस्केट मेलामा बास बस्न सकिन्छ। तेस्रो दिन पञ्चकुण्ड ताल (४,०५० मिटर) नजिकै पुगेर बास बस्न सकिन्छ। चौंथो दिन तीन घण्टा हिँडेर अन्नपूर्णको हालको आधारशिविर (४१९० मिटर)मा पुग्न सकिन्छ। फर्कंदा भने दुई दिनमै बेनी बजार आउन पनि सकिन्छ। फर्कंदा पहिलो दिन गुफाफाँट, साँधीखर्क वा हुमखोलामा बस्न सकिन्छ। दोस्रो दिन नारच्याङ बेसिगाउँ, तातोपानी या बेनी बजार पुग्न सकिन्छ। एक दिन थप बसेमा नारच्याङ गाउँको जीवनशैलीका साथै नारच्याङ झरनाको सौन्दर्यमा रमाउन पनि पाइन्छ।
नारच्याङ गाउँ किन घुम्ने ?
प्राकृतिक रुपमा हाम्रो नारच्याङ सुन्दर छ। विशाल झरना त गाउँमै छ, यहाँबाट अन्नपूर्ण साउथ र बराह शिखर हिमालको देख्न सकिन्छ। साथै हिउँपहिरो झरेको दृश्य देख्न र आवाज सुन्न पाइन्छ। हाम्रो गाउँ नारच्याङ मगर बाहुल्य गाउँ हो। मगर बाहेक दलित समुदाय, क्षेत्री, नेवार, गुरुङ, थकाली आदिको बसोबास छ। गाउँमा पाहुनाले चाहेमा मगर संस्कृति अवलोकन गर्न पाउँछन्।
नारच्याङ क्षेत्रमा हाइड्रो पावरहरू सञ्चालित छन्। तिनको पनि अध्ययन एवम् अवलोकन गर्न सकिन्छ। साथै धार्मिक आस्था भएकाहरु गाउँकै शिवालयमा पूजापाठ गर्न सक्छन् भने आधारशिविरमै बुद्धको चैत्य र शिव मन्दिर बनाइएको छ।
पूर्वाधार विकासका के कस्ता काम गर्दै हुनुहुन्छ ?
हामीले नारच्याङदेखि आधारशिविरसम्म ४२ किलोमिटर पदमार्ग बनाइसकेका छौं। पाँच ठाउँमा झोलुङे पुल, ८ ठाउँमा पोर्टर सेल्टर र गेस्ट सेल्टर पनि बनायौं। अब ८ ओटै ठाउँमा चर्पि बनाउन, खानेपानीको धारा जडान गर्न र बिजुली पु¥याउन बाँकी छ। यी काम चाँडै गर्नेछौं। यस बाहेक स्थानीय गाइडलाई तालिमको आवश्यकता छ। र होटल चलाउन इच्छुकहरूलाई कुकिङ र बेकिङ सम्बन्धी तालिम दिनु छ। सञ्चारको समस्या छ। यसको व्यवस्थापनका लागि सरकारसँग माग गरिरहेका छौं।
पदमार्ग पहिचान गराउन के कस्ता प्रवद्र्धनात्मक सामाग्री उत्पादन गर्नु भएको छ ?
पहिला हामीले नक्सा र ब्रोसर बनाएका थियौं। ठाउँठाउँमा ठाउँ चिनाउने संकेत पाटी राखेका छौं। ठाउँठाउँमा सूचना पाटी पनि राखेका छौं। चाँडै परिमार्जित नक्सा निकाल्दै छौं। आफ्नै वेवसाइट पनि बनाउँदै छौं। ख्यातीप्राप्त सञ्चारकर्मीहरुलाई पनि पदमार्गमा घुमाउने योजनामा छौं। नारच्याङमा पर्यटन सूचना केन्द्र चाहिएको छ। त्यसका लागि पनि हामी सरकारको ध्यानाकर्षण गराईरहेका छौं।
सरकारसँग भन्नु पर्ने कुरा ?
यस पदमार्गको प्रवद्र्धनका लागि सरकारले पहल गर्नु पर्छ। अहिलेसम्म केन्द्र सरकारको सहयोगमा मात्र काम गरिरहेका छौं। तर, यसको विकास र प्रवद्र्धनमा प्रदेश सरकार र स्थानीय गाउँपालिकाले लगानी गर्नु पर्छ। अर्को कुरा अन्नपूर्ण हिमाल आरोहण गरेको शुल्कबाट हामी स्थानीयले पाउनु पर्ने रकम हाम्रो क्षेत्रमा आउनु पर्छ।
पर्यटक आगमनको अबस्था कस्तो छ ?
हाम्रो पदमार्गमा विदेसी पनि आउन थालेका छन्। विशेषतः नेपाली पदयात्रीको आकर्षण बढेको छ। भारतीय तिर्थालुको संख्या पनि उल्लेख्य छ। यही वैशाख यता मात्र पाँच हजारभन्दा बढी पर्यटक आएको अनुमान गरेका छौं।