पाेखरा। माछापुच्छ्रे हिमाल र अन्नपूर्णा हिमशृङ्खला छयाङ्ग देखिने टाकुरा हो पन्चासे। पन्चासे (२,५१७ मि.) बाट सूर्योदय र सूर्यास्त पनि देखिन्छ । कास्की, पर्वत र स्याङ्जाको संगम हो पन्चासे। यहाँ पाँच पवित्र टाकुरा छन्। सिद्धवराह, पञ्चशील बुद्ध, कुटी, पञ्चकोसी ताल लगायत सम्पदा पन्चासेका आकर्षण हुन्।
प्रकृति र अध्यात्मको दोभान पन्चासे घुम्नै पर्ने गन्तव्य हो। सोमबार बाला चर्तुदशीका दिन पन्चासेमा मेला लाग्दैछ।
जैविक विविधताको बगैंचा पन्चासे ५,५०० हेक्टरमा फैलेको छ। पन्चासे क्षेत्र ७८४ देखि २,५१७ मिटर उचाइमा छ जहाँ ६ सयभन्दा बढी प्रजातिका वनस्पति र जडीबुटी पाइन्छन्। जंगलमा ११३ थरीका सुनाखरी फुल्छन्।
पन्चासेबाट थुप्रै खोला बगेका छन्। हर्पनखोला, आँधीखोला, रतिखोला, जरेखेला र सेतीखोलाको मुहान पन्चासे नै हो। पन्चासे जंगल मुन्तिरका गाउँमा करिब एक लाख भन्दा बढी नागरिक बस्छन्। त्यहाँ गुरुङ, बाहुन, क्षत्री, विश्वकर्मा, परियार, मगर र नेवार लगायत जातिको बसोबास छ।
टाकुराबाट अढाई घण्टामा श्रवणकुमारको समाधिस्थल पुगिन्छ। टाकुरामुनि पञ्चकोसी तालको बीचमा बाराही मन्दिर छ। त्यहाँ बालाचर्तुदशीका दिन मेला लाग्छ। मेला भर्नेहरू पञ्चकोसी तालबाट बीउ छर्दै उकालो चढ्छन्। त्यहाँ शिवरात्रि, फागु पूर्णिमा र बुद्ध पूर्णिमामा पनि मेला लाग्छ।
पन्चासेमा वर्षैभरि चिसो हुन्छ। यहाँ पुस–माघमा हिउँ पर्छ। विदेशीमाझ ‘पन्चासे पदमार्ग’ प्रख्यात छ। फेवाताल किनारबाट उकालो चढेर पहिलो दिन भुम्दी, दोस्रो दिन पन्चासे र तेस्रो दिन पर्वतको चित्रेमा, चौथो दिन नाउडाँडासम्म पदयात्रा गरेर पोखरा बास बस्छन् पर्यटकहरू। असोजदेखि मंसिरसम्म पन्चासे घुम्ने उत्तम समय।
कसरी पुग्ने: काठमाडौंदेखि पोखरा २०० कि.मि.को बाटो बसमा ६ घण्टा लाग्छ। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रामा पुगिन्छ। पोखराको हल्लनचोकदेखि भन्ज्याङसम्म २९ कि.मि. छ। भन्ज्याङबाट डेढ घण्टा हिँडेपछि पन्चासेको टाकुरामा पुगिन्छ । स्याङ्जा, पर्वत र कास्की तीनवटै जिल्लाबाट पन्चासे पुग्न सकिन्छ ।