रोल्पा,
‘अघिल्लो दिनसम्म मौसम त्यति सफा थिएन, तर शनिबारको एकाएक उघ्रियो। निलो आकास, सेताम्मे हिउँले छप्पक्क थियो जलजला। मौसमले पनि साथ दियो, निकै भाग्यमानी भयौं हामी,' जलजाला हेली टुरका सञ्चालक जेलबाङ निवासी पर्यटन अभियन्ता पृथ्वी पुनमागर (बाल्कुराम) ले सुनाए।
गत शनिबार जिल्लाको सदरमुकाम लिबाङदेखि बिहान ११: ३५ बजे उडेको हेलिकोप्टर रोल्पाको गाउँ वस्तीमाथि , डाँडाकाँडा छिचोलेर सेताम्मे जलजला पहाडमाथि फन्को मार्दै करिब ६ मिनेटमा हिउँले सेताम्मे जलजलामा अवतरण गर्यो ।
‘आहा! क्या मनमोहक जलजला’, सबै पर्यटक खुशीले प्रफुल्ल हुँदै जलजलाको समथल भूमिमा लडिवुडी खेल्दै हिउँसँग अंकमाल गरे। भरपुर आनन्द लिँदै रमाए।
रोल्पाको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल जलजलामा सदरमुकाम लिबाङदेखि पहिलोपटक व्यवासायिक हेली टुरमार्फत आन्तरिक पर्यटक जलजला पुगेका हुन्।
शनिबार लिबाङ–जलजला-कोठेभिरको पहिलो उडान रोल्पा नगरपालिका मेयर पुरन केसीले उद्घाटन गरेपछि हेली जलजला तर्फ उडेको थियो।
हेलीमा रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, रोल्पा नगरपालिका मेयर पुरन केसी, रोल्पा जिल्ला मगर संघका अध्यक्ष कुम पुन मगरलगायत रोल्पाका चर्चित व्यापारीहरू हेलिकप्टरमार्फत जलजला क्षेत्र र कोठेभिरको भ्रमण गरेका थिए।
उनीहरू करिब डेढ घण्टा जलजलामा सौन्दर्यमा रमाएका थिए।
त्यसपछि हेली जलजलादेखि पूर्व कोठेभिरतिर उड्यो। ८ मिनेटमा कोठेभीर पुग्यो। सुनछहरी गाउँपालिका वार्ड न. २ को भित्री गाउँमा पर्ने अर्को पर्यटकीयस्थल कोठीभिर समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाईमा पर्छ।
अत्यधिक हिउँ भरिएकोले हेली अवतरण गर्न सकेन तर वरीपरी फन्को मार्दै दृश्यवलोकन गरी हेली लिवाङ फर्किएको थियो।
भ्रमणमा पुगेका सबै आन्तरिक पर्यटकले हेलिकप्टरमार्फत जलजला भ्रमण गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए। जलजला पुग्दा उनीहरूले सपनाको दुनियाँमा पुगेको महसुस गरेका थिए। ‘यात्रा अति रमाइलो र अवस्मरणीय भयो! स्वीट्जरल्याण्ड पुगेको आभास भयो,’ उनीहरूले खुसीले गदगद थिए।
विशेषगरी हिउँ परेको वेला जलजला पुग्न पाउँदा उनीहरु निकै हर्षित भएका थिए।
शनिबार लिबाङ-जलजला ६ वटा हेली उडान भएको थियो। हेली भ्रमणमा ३० जना आन्तरिक पर्यटकले जलजला र कोठेभिरको भ्रमण गरेका सञ्चालक पृथ्वी पुन मगरले जानकारी दिए।
अबका दिनमा पर्यटकका माग अनुसार हेली टुर गराइने योजना रहेको उनले बताए। कम्तिमा ३० जनासम्म बुकिङ भएमा मौसमको अवस्था हेरेर हेली टुर गराईने उनले बताए।
‘यो बेला जलजलामा अत्यधिक हिउँ परेको र सडक यात्राको असहजताले ऐतिहासिक तथा धार्मिकस्थल रोल्पा पुग्न निकै कठिनाई हुन्छ। त्यहाँ पुग्न धेरैको ईच्छा भए पनि पुग्न असम्भव हुन्छ । जलजला पहाड हिउँले सेताम्मे भएको परैवाट हेरेर चित्त बुझाइन्छ। यो कौतुहल्ता मेट्न र ठाउँमै पुगेर जलजलाको साक्षतकार अनुभव लिन सकियोस भनेर हेली टुर सञ्चालन गरेका हौ’, उनले भने।
यसपल्ट सुलिचौर जलजलाको ३ वटा उडान र ढोरपाटनको एउटा उडान र सल्यानको श्रीनगरबाट एउटा उडान प्राविधिक कारणले स्थगित भएको थियो। यो उडान पछि दाङ, सुलिचौर, प्युठान, लिवाङलगायतबाट जलजला हेली टुर वुकिङको बारेमा निरन्तर फोन आइरहेको समेत टुर सञ्चालक पुन मगरले बताए।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको सहकार्यमा हेली टुर सुरू गरिएको पर्यटन अभियन्ता मगरले जानकारी दिए।
वैशाख पूर्णिमामा अर्को हेली उडान कार्यक्रम राखिएको उनले जानकारी दिए। त्यसबेला जलजलामा भव्य मेला लाग्छ। रोल्पा जिल्ला लगायत छिमेकी जिल्लाबाट समेत ठूलो संख्यामा भक्तजन पूजा गर्न आउँछन्।
रोल्पा नगरपालिकाको मेयर पुरन केसीले व्यवसायिक हेली टुरले रोल्पा जिल्लाकै पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जलजला र कोठेभिरको हेली टुर मार्फत पर्यटकलाई भ्रमण गराएकोमा धन्यवाद दिदै रोल्पाको पर्यटन प्रवर्धनको निरन्तरताको लागि शुभकामना दिए।
जलजला क्षेत्रको महत्व र विशेषता
थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकाको साझा भुभाग हो जलजला पहाड। प्राकृतिक रुपमा निकै मनोरम रहेको जलजला धार्मिक एवम ऐतिहासिक रुपमा प्रसिद्ध छ। नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले एक सय गन्तव्यको सूचीमा राखिएको जलजला माओवादी जनयुद्वकालमा आफ्नो सुरक्षित र आधार इलाकाका रुपमा मानिएको थियो।
जलजलामा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्छ। जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ। वर्षेनि सयौं भक्तालुजनहरु भेडा र कुखुराको बलि दिएर पूजा गर्छन्। वराह देवताको पूजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ।
मन्दिरबाट करिब २० मिनेटमा बिशाल भामा गुफा छ। किम्बदन्ती अनुसार यो गुफामा १२ भाइ वराह र २२ बहिनी बज्यु वराह उत्पत्ती भएको थियो। त्यस्तै यसको सेरोफेरोमा झरनाहरु प्रसस्तै छन्। जंगली पशुपंछि, वनस्पति, फूलहरु , र थरि थरि चराचुरुंगी पाईन्छ।
उत्तरतिर सिस्ने हिमाल, पुथा र धौलागिरी हिमश्रृंखलाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
समुन्द्र सतहबाट ३००० मि. देखि ३६५० मिटरसम्मको भूभागमा फैलिएको जलजला रोल्पा जिल्लाकै अग्लो भुभाग हो। यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रुपले प्रसिद्ध छ।
वसन्त ऋतुमा जलजला क्षेत्र गुराँस फुलेर ढकमक्क हुन्छ, वर्षायाममा थरी थिरिका सयौं रंगिबिरंगि वुकी फूल फुल्छ। हिउँदमा जलजला क्षेत्र सेताम्मे हिउँले ढाकिन्छ।
वैशाख-जेठमा करिव १४ प्रजातिका गुराँस फुल्दा जलजला क्षेत्र बेहुलीझैं सिंगारिन्छ। यहाँ घोरल, थार, रतुवा, हरिण, बंदेल , बाघ, चितुवा, भालु र दुर्लभ वन्यजन्तु रेड पाण्डा लगाएत जंगली जनावर पाईन्छ।
त्यस्तै डाँफे, मुनाल, कालिजसहित सयौ चराचुरुंगिको बासस्थान हो जलजला। घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे,भारमासे, पातव , ढालमुन्द्र, विन्जोरी , ढोङ्ग्रे, सुनगाभा आदि फुल साथै जडिबुटिहरु समेत पाईन्छ।
राष्ट्रिय प्रकृति कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ । केही वर्ष अगाडि एक्सप्लोर गरिएको गुरिल्ला ट्रेल र जलजला ट्रेकिङ ट्रेल यही क्षेत्रलाई पछ्याउँछ।
जलजला कसरी पुग्न सकिन्छ?
- हेलीमा लिबाङबाट करिब ६ मिनेटमा जलजला पुगिन्छ, फर्किँदा ५ मिनेट लाग्छ।
- काठमाडौंबाट लिवाङसम्म बस या माईक्रोमा करिब १२ घण्टा।
- लिवाङवाट धवाङहुँदै पेवासम्म साढे २ घन्टापछि जिपमा ओख्रेनी पुगिन्छ। त्यहाँबाट धरमपानीहुँदै जलजला करिव ५-६ घण्टा पैदलमार्ग।
- सुलिचौरवाट जेलवाङसम्म डेढ घण्टा जिप यात्रा , जेलवाङवाट सुल्कबाङ हुदै ६-७ घण्टाको पैदलयात्रामा जलजला पुगिन्छ।
- थबाङबाट चलाबाङसम्म गाडीमा ३० मिनेट , त्यहाँबाट ४-५ घण्टा पैदलमार्गमा जलजला पुगिन्छ।
- पोखरा, वुर्तिबाङ, रूकुम (पूर्व) को खावाङ बगर, महतगाउँ, थबाङहुँदै जलजला पनि पुग्न सकिन्छ।
हेली टुर प्याकेजको मूल्य
- रोल्पाको लिबाङबाट जलजला -१८ हजार ५०० रूपैयाँ
- सूचलिचौरबाट जलजला -१९ हजार ५०० सय रूपैयाँ
- प्युठानको विजुवारबाट जलजला -२६ हजार ५०० सय रूपैयाँ
तस्वीरहरु: पृथ्वी पुन मगर , जलजला
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)