काठमाडौं। काठमाडौं महानगरापकिाले यहीँ मसिंर २७ गते २९औं महानगर दिवसको अवसरमा बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ।
महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले मसिंर २७ गते राष्ट्रिय सभागृहमा प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको हो।
महानगरको सम्पदा तथा पर्यटन विभागका अनुुसार प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (श्रृङ्गार) लगाउनुपर्छ। बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ। महानगरका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन्। यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ। सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ। यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ।
‘२ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन्। यस्तै २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँछन्,’ महानगरले भनेको छ।
प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ। यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्छ। पहिलो आफैँले छानेको बजाउन पाइन्छ। दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ। एउटा धुन ५ मिनेटभित्र सक्नुपर्छ। ४ मिनेटमा संकेत बज्नेछ। यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ। गीत नेपाल भाषाकै हुनुपर्छ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार रुपैयाँ र चाँदीको ठूलो बाँसुरी प्रदान गरिने महानगरले जनाएको छ। दोस्रो पुरस्कार एक लाख रुपैयाँ नगद र चाँदीको मझौला बाँसुरी र तेस्रोलाई ५० हजार रुपैयाँ नगदसहित चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ।
सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरिने महानगरपालिकाले जनाएको छ। प्रतियोगितामा भाग लिन चहाने इच्छुक समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्ने छ।
दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ। यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठले बताइन्।