जिरी। दोलखाको जिरी नगरपालिकामा कार्तिक १५ गते (भोली) बाट 'जिरी च्याम्पियनसिप २०८०' शुरु हुने भएकाे छ।
भोलीबाट कार्तिक १८ गतेसम्म सञ्चालन हुने जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो।
जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा भोलीदेखि कार्तिक १८ गतेसम्म सञ्चालन हुने जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको युवा सञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले जनाकारी दिए।
अध्यक्ष खड्का अनुसार प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभा सदस्य कुण्दनराज काफ्ले गर्ने तय भएको छ भने समापन प्रतिनिधिसभा सदस्य गंगा कार्कीले गर्ने तयारी रहेको छ।
प्रतियोगितामा बागमती प्रदेशस्तरीय अन्तर पालिका खुला भलिबल प्रतियोगिता, जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस प्रतियोगिता र स्थानीय खेलहरु हुने आयोजक युवा सञ्जाल जिरीले जनाएको छ।
जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत खुला भलिबल प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५१ हजार रहेको छ भने दोश्रो, तेश्रो र सान्तवना पुरस्कार क्रमशः १ लाख १ हजार, ५१ हजार र २५ हजार रुपैयाँ रहेको छ। यस्तै, अल्ट्रा म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाउने छन्। स्लो बाइक रेस तर्फका बिजेताहरुलाई ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितालाई सफल बनाउन नगरपालिकाभित्रबाट खेलमा सहभागी हुन चाहने खेलाडीहरुले आपसी समन्वय र सहकार्य गरी प्रत्येक खेलमा एउटा मात्रै टिम दर्ता गरी टिमलाई सफल र व्यवस्थित बनाउन जिरी नगरपालिकाले आग्रह गरेको छ।
प्रतियोगितामा विभिन्न स्पर्धामा २० भन्दा बढी समुहको सहभागीता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा १७ लाख बढी खर्च लाग्ने युवा सञ्जाल जिरीका कोषाध्यक्ष इश्वर कार्कीले बताए। प्रतियोगिता सञ्चालन गर्न विभिन्न संघसंस्था, तथा इच्छुक व्यक्तिहरुबाट आर्थिक सहयोगको अपिल गरिएको र सहयोग प्राप्त भइरहेको कोषाध्यक्ष कार्कीले बताए।