काठमाडौं। लामो समयदेखी फोटो पत्रकारितामा सकृय फाटो पत्रकार केशवराज थोकरको ‘लाइफ इन पेन्डामिक’ फोटो पुस्तक सार्वजनिक भएको छ।
बुधबार राजधानीको एक होटलमा आयोजित समारोहका बीच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा थोकरको फोटोपुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकमा कोरोना महामारीको समयमा काठमाडौंको जीवन भोगाइलाई फोटोको माध्यमबाट चित्रण गरिएको छ। महामारीमा आफ्नै भोगाइलाई पनि फोटोमार्फत प्रस्तुत गरेका छन्।
‘कोरोना फेरि नदोहोरियोस्,’ उनले भने, ‘त्यो घटना कति डरलाग्दो थियो भन्ने जानकारी दिन यो पुस्तक ल्याएको हुँ ।’ पुस्तकबाट आम्दानी गर्नेभन्दा पनि समाजप्रतिको दायित्व बोधले आफूलाई घचघच्याएको उनले बताए। ‘जीवन जोखिममा राखेर खिचेका यी तस्बिर हुन्,’ उनले भने, ‘यसले त्यति बेलाको कथालाई बोल्नेछ।’
कार्यक्रममा सभामुख घिमिरेले थोकरले फोटोको माध्यमबाट इतिहासको दस्तावेजिकरण गरेको बताएका छन्। ठोकरले फोटो पत्रकारिताले इतिहास सम्झाउने काम गरेको सभामुख घिमिरेको भनाई थियो।
वरिष्ठ सरुवा रोग चिकित्सक डा. शेरबहादुर पुनले किताबका फोटोहरु देख्दा आफूलाई पुराना दिनको याद आएको बताए। कोभिड महामारी सम्झदै उनले भने, ‘गाडी चलाउँदै किताबका फोटो हेर्दा मलाई आँसु आयो। त्यो बेला मलाई फ्रिक्वेन्टली फोन आउँथ्यो। सेकेन्ड वेभमा एम्बुलेन्स बज्दै आउँथ्यो। ढोका खुल्नसाथ मृत्यु देख्नुपर्थ्यो।’ त्यस्तै कार्यक्रममा उपस्थित प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले यो दस्तावेजका रुपमा र पाठ्यक्रमका रुपमा पनि काम लाग्ने बताएका थिए।
फोटो पुस्तक म्हेन्दो ट्रष्टले प्रकाशन गरेको १२५ पृष्ठको रंगीन किताबको मूल्य एक हजार रुपैयाँ रहेकाे छ।
याे पनि: फोटो पत्रकारितामा लम्केका केशव