काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनको आत्मकथा ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ सार्वजनिक भएको छ। पुस्तक डिजिटल प्लेटफर्म ‘दराज’ सँगै पुन आफैँले काठमाडौँका सडकमा माइकिङ गरेर बिक्री गरिरहेका छन्।
महावीर पुनले बुधबार काठमाडौँको सोल्टी होटलमा जारी गैरआवसीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलनमा पुगेर किताब बेचेका थिए। पुनले काठमाडौँकै गोंगबु नयाँ बसपार्क, नारायण गोपाल चोक, कोटेश्वर र खरिबोडमा सडकछेउमा उभिएर माइकिङ गरी बटुवाहरुलाई किताब बेचेका थिए।
त्यस्तैगरी शंखमूलस्थित उजामा क्याफेमा पुगेर पुनले पुस्तक बेचेका थिए। गाडीबाट ओर्लिने बित्तिकै किताबको कार्टुन बोकेर क्याफेतिर लम्केका पुनलाई उज्जामा क्याफेका सञ्चालक दोलखा, जिरीका युवा उद्यमी लिलाराम खड्काले स्वागत गरेका थिए।
क्याफेभित्र छिरेका उनी धमाधम हस्तक्षार गर्दै किताब बिक्री गर्न व्यस्त भए। कार्टुनमा रहेका किताब केही छिनमै बिक्री भएका थिए। क्याफेमा रहेका युवा-युवतीले खुशी हुँदै पुनको किताब खरिद गरेर फोटो खिच्न व्यस्त देखिन्थे।
अन्य ठाउँ किताब बेच्न हतारमा रहेका पुनले देश विदेशमा रहेका सबै नेपालीहरुको सहयोगमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन भइरहेको बताए। ३० वर्षदेखि मरेको वीरगन्जको कृषि औजार कारखाना ब्युँताउन आफूले आत्मकथा लेख्न बाध्य भएको समेत उनले बताएका थिए। ‘अब सम्पूर्ण नेपालीहरुको सहयोगमा कृषि औजार कम्पनी सञ्चालनमा ल्याउने हो,’ उनले भने। ९ महिना लगाएर कारखाना करिब मर्मत भइसकेको र अब तिहारपछि सञ्चालनमा आउने पुनले बताए।
उनले उत्साहित भएर बजारमा डुलेको र यस्तो काम पहिलोचोटी गरेको बताए। नयाँ-नयाँ काम गर्न रमाउने उनी धेरै साथीहरुको साथ सहयोगमा किताब बेच्न सहज भएको समेत बताए। बिगत २ दिनमा नेपालका धरान, हेटौँडा र विदेशको हङकङमा समेत पुस्तक पठाएको बताए।
पैसाको चरम आवश्यक भएकोले किताब बेचेर उठेको रकमले तिहार लगत्तै वीरगञ्ज कृषि औजार कारखाना लगानी गर्ने उनले बताए। विभिन्न ठाउँमा घुमेर किताब बेच्दा धेरै मान्छेसँग भेटघाट र भलाकुसारी गर्दै किताब बेच्दा निकै रमाइलो अनुभूति भएको उनको भनाइ थियो।
सरकारले कारखाना सञ्चालन गर्न हस्तान्तरण गरे पनि आर्थिक रुपमा सहयोग गर्न नसकेकोले आवश्यक रकम उठाउन जीवनकथा लेखेको उनले बताएका छन। किताबबाट उठेको सम्पूर्ण रकम राष्ट्रको सम्पती वीरगञ्ज कारखाना ब्युँताउन मद्दत पुग्ने उनको अपेक्षा छ। र, सबै जनालाई किताब बेचेर सहयोग गर्न समेत उनले आह्वान गरेका छन्।
किताबमा उनको बाल्यकालमा भेडा चराएको अवस्थादेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनसम्म आइपुग्दा घटेका ठुला-ठुला मोडहरु र जीवन भोगाइहरु समेटिएको छ।३०६ पृष्ठ रहेको पुस्तकको मूल्य रु. ७५० र विदेशमा १० डलर राखिएको छ भने, मुद्रण बुक्स हिमालयले गरेको हो।