मनास्लु। उत्तरी गोरखामा पर्ने मनास्लु पदमार्गमा बर्सेनी पदयात्रीको चहलपहल बढ्दो छ। ठाउँठाउँमा होटल, लज, रिसोर्ट र होमस्टे खुलेका छन्। सम्भवतः पदमार्गकै सबैभन्दा आरामदायी ‘नुब्री फोर सिजन रिसोर्ट’ हो जुन नामरुङ गाउँमा छ।
मनास्लु क्षेत्रको प्रवद्र्धनमा पर्यटनकर्मी लाक्पाढुण्डुप लामाले अतुलनिय योगदान पुर्याएका छन्। समाजसेवासँगै उनी पर्यटन व्यवसायमा पनि सक्रिय छन्। आफ्नै जन्मथलो नामरुङमा उनले खोलेको ‘नुब्री फोर सिजन रिसोर्ट’ मुलुकले गौरब गर्नलायक प्रोडक्ट बनेको छ।
पर्यटन अभियन्ता लाक्पाढुण्डुप लामाले सञ्चालनमा ल्याएको रिसोर्टमा हिमाली संस्कृतिको सुवास पाइन्छ। भिल्ला शैलीमा ढुंगा र काठबाट बनेका भवन। त्यसमा बौद्ध धर्मको झल्को दिने चित्र। काठमा कुँदिएका बुट्टा। पाँच वर्ष भयो, रिसोर्ट सञ्चालनमा आएको। गाइड र पोर्टरलाई पदमार्गका ‘हिरो’ मान्ने लामाले उनीहरूलाई पनि आरामदायी बासको व्यवस्था मिलाएका छन्।
तातोपानी सुविधासहितका अट्याच बाथरूम, अर्गानिक साउना, कफी विथ बेकरी सुविधा छ। त्यति मात्र होइन, अल्टिच्यूड सिक्नेस भएकालाई आराम मिल्ने लोठसल्लाबाट बनाइएको विशेष कोठा छन्। रिसोर्टमा सभा हल पनि छन्।
यहाँ फापरको रोटी र सिस्नुको सुपसहित ढिँडो सेटका साथै याक सिजलर, याक बर्गरलगायत अर्गानिक परिकार पनि पाक्छ। रिसोर्ट मुन्तिर बगैंचाको स्याउबाट उनी एप्पल पाई र मफिन पनि बनाउँछन्। पर्यटकलाई आरामदायी बास र मिठो खाना खुवाउन रिसोर्ट बनाएको उनी बताउँछन्। विगतमा उनले सिंगापुरमा जीवनसङ्घर्ष गरेका थिए। उताबाट फर्केपछि मनास्लु पदमार्गलाई उजिल्याउने काम गरिरहेका छन्।
उनको काम प्रेरणादायी छ। उनले आफू मात्र कमाएका छैनन्, जन्मथलो मनास्लु क्षेत्रको विकासमा पनि ठूलो योगदान पु¥याउँदै आएका छन्। उनको काम अतुलनिय छ। पुराना कुरा गर्दा, नौ वर्षकै उमेरमा नाङ्गै खुट्टा बुबाको बख्खु समातेर भोटखोलाबाट काठमाडौं झरेका थिए उनी। बिरानो काठमाडौंमा बाँच्न उनले के मात्र गरेनन्, डोकोमा राखेर आँप बेचे। फुटपाथमा कपडा बेचे। भोकभोकै पनि बसे। उनको संघर्षका कथा उधिन्ने हो भने एउटा पुस्तकको ठेली नै बन्छ।
जीवन संघर्ष गर्दागर्दै उनी सिंगापुर पुगे। सुरूका दिनमा मजदूरी गरे। पछि व्यापार व्यवसायमा चम्किए। करिब १७ वर्ष त्यतै बसेर फर्कंदा उनको गाउँ नामरूङ उस्तै थियो। डोकोनाम्लो छुटेकै थिएन। त्यसैले उनले जन्मथलो नुब्री भ्यालीका लागि केही गर्ने अठोट गरे।
‘म सिंगापुरबाट फर्कँदा मलाई नपुग्दो केही थिएन। तर मेरो गाउँमा विकास पुगेकै थिएन। अझै मोटर बाटो पुगेको छैन’, उनले भने, ‘त्यसैले गाउँलेको दुःख कम गराउन भनेर म गाउँ फर्केको हुँ।’ सन् २००८ मा नेपाल फर्केपछि उनले नुब्री भ्यालीका युवालाई संगठित गरेर ‘नुब्री सांस्कृतिक युवा उत्थान समिति’ गठन गरे। गाउँगाउँमा आमा समूह र युवा समूह बनाए।
ती समूहलाई आफ्नै खल्तीको पैसा सहयोग गरे। समूहले सांस्कृतिक र पर्यटन चेतना बढाउन ठूलो काम गर्यो। मनास्लु क्षेत्रमा विशेषतः दुइटा भ्याली पर्छन्, चुम भ्याली र नुब्री भ्याली। तिब्बतसँग सिमा जोडिएका कारण सुरक्षा संवेदनशीलताको नाउँमा मनास्लु संरक्षण क्षेत्रलाई अर्धनिषेधित क्षेत्रका रूपमा राखेको थियो। त्यसलाई खुला गरेर पर्यटकीय चहलपहल बढाउन उनले लबिङ गरे। यसैका लागि उनीहरूले सिंहदरबार घेराउ गरे।
त्यसअघि उनले सन् २००९ देखि नै राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूलाई मनास्लु क्षेत्र घुमाउँदै आएका छन्। तिनताका मिडियामा मनास्लु क्षेत्रका दुःखका खबर मात्र आएनन्, सम्भावनाका कुरा पनि उजागर भए। यसरी उनले निजी खर्चमा केही वर्ष पत्रकारलाई घुमाए। पत्रकारलाई घुमाउँदा लाखौं खर्च भयो होला, उनले त्यसको हिसाब राखेका छैनन्। उनले नुब्री भ्यालीको वृत्तचित्र पनि बनाए। उनको मुटुमा नुब्रीको माया छ।
पर्यटनकर्मी निमा लामाको अगुवाईमा चुम भ्याली पहिले नै चर्चित थियो। लाक्पाढुण्डुपको अगुवाईमा पर्यटन बजारमा नुब्री भ्याली पनि स्थापित भयो। अर्को महत्वपूर्ण कुरा, उनले सन् २०११ मे ९ देखि ११ गतेसम्म मनास्लु पदमार्गको सामागाउँमा ‘मनास्लु महोत्सव’ मनाए। जापानी राजदूत, नेपालका मन्त्री, पर्यटनविद् र पत्रकारहरूको टोलीलाई निम्त्याएर मनाइएको महोत्सवले मनास्लु पदमार्गको प्रचारमा ठूलो टेवा पुर्यायो। महोत्सवमा पनि उनले ठूलो धनराशी खर्च गरे।
उनको कामबाट प्रभावित भएर ‘ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम’ ले गोरखा जिल्लाको पर्यटन पूर्वाधार विकासको परियोजना उनकै संस्थालाई दियो। त्यसबाट दुई वर्षसम्म तालिम, जनचेतना र पदमार्ग सुधारका उल्लेखनीय काम भए।
विस्तारै पर्यटक बढ्दै गए। यसै बीचमा ७२ सालको भुइँचालोले अबरोध ग¥यो। पछि कोरोनाले सतायो। अहिले फेरी चहलपहल बढेको छ। उनी गाउँमा सङ्ग्रहालय सञ्चालनको तयारी पनि गरिरहेका छन्। गुम्बा, माने र काने बनाउन उनले पु¥याएको सहयोग पनि उल्लेखनीय छ। गाउँलेलाई पर्यटन कर्ममा लाग्न हौस्याएर, राम्रो प्रचारप्रसार गरेपछि उनले पनि जन्मथलोमा रिसोर्ट बनाएका।
उनले नामरूङ मुन्तिर पोर्टको ३ सय रोपनीमा इटालीबाट ल्याइएका स्याउ रोपेका छन्। स्याउको राम्रो उत्पादन सुरू भइसकेको छ। स्याउबाट जुस, वाइन र जाम बनाउने उनको योजना छ। उनी भुइँमान्छे हुन्। आफ्नै बलबुतामा सफलताको भ¥याङ चढ्दै गरेका। उनी करोडौंका मालिक भैसके तर आफ्नो धरातल बिर्सेका छैनन्। सरल र आत्मीय छन्। रिसोर्टका पाहुनालाई आफैं खाना सर्भ गर्न पछि पर्दैनन्। यसरी कहिले वेटरको काम गर्छन् भने कहिले भाँडा माझिरहेका भेटिन्छन्। अनि कहिले डोकोमा भारी बोकेर उकालो चढिरहेका हुन्छन्।
‘कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन’, कर्मयोगी लामा भन्छन्, ‘हामीले समयलाई त्यत्तिकै खेर फाल्नु हुँदैन। सकेको काम गर्नुपर्छ।’ पछिल्लो दश वर्षमा केही परिवर्तन भएको छ। पर्यटनको घाम लागेको छ। पर्यटनबाट सबै गाउँलेको अनुहारमा खुसी ल्याउन भने बाँकी नै छ। त्यसका लागि उनी निरन्तर क्रियाशील छन्।
उनको रिसोर्ट आफैंमा मुलुकले गर्व गर्नलायक प्रोडक्ट हो। त्यतिले मात्र उनी प्रेरणाश्रोत बनेका होइनन, मनास्लु क्षेत्रको प्रवद्र्धन र विकासका लागि उनले ठूलो धनराशी र समय खर्चेका छन्। उनको कामबाट सबैले सिक्नुपर्छ।