डाेल्पा। फोक्सुण्डो तालमा पुग्दा बेग्लैे ऊर्जा मिल्छ। भुःस्वर्गमा पुगेको अनुभूति हुन्छ। नेपाली भएकामा गौरबबोध हुन्छ। तालको कञ्चन पानीमा तन र मन डुबुल्कि मार्न थाल्छन्। त्यसमाथि बोन धर्मका झण्डाहरूबाट बगेर आएको शितल हावा र मन्त्रोचारणका मधुर वाणीले त्यतै हराउन मन लाग्छ। त्यसैले जीवनमा एक पटक घुम्नै पर्ने गन्तव्य हो फोक्सुन्डो।
फागुनदेखि असार र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन मानिन्छ। नेपालगञ्जबाट ताल घुमेर नेपालगञ्ज फर्कन एक साता समय र खल्तीमा २५ हजार रुपैयाँ छुट्टयाए पुग्छ।
फोक्सुन्डो ताल
छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल। बिहानदेखि बेलुकिसम्म फरक–फरक रंगमा सजिन्छ ताल। काञ्जिरोवा हिमालको काखमा अबस्थित फोक्सुन्डो ताल अंग्रेजी शब्द ‘वाई’ आकारमा छ।
शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३६११ मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमि छ। यसको अधिकतम लम्बाई ५.९३ किमि र अधिकतम चौंडाई १.८० किमि छ भने गहिराई १४५ मिटर। ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचिकृत भएको छ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुण्डो ताल। नेपाल सरकारले हिमाली जैबिक विविधता संरक्षण गर्न विसं २०४० सालमा निकुञ्ज बनाएको। निकुञ्जको क्षेत्रफल ३ हजार ५५५ वर्ग किमि। तालमा नुहाउन, पौडी खेल्न र लुगा धुन पाइँदैन। त्यहाँ डुंगा चढ्ने सुविधा छैन। आँखा नझिम्क्याई हेरिरहन भने पाइन्छ। जति हेरे पनि आँखा थाक्दैनन्। आँखाभरि, मनभरि सजाइरहन मन लाग्छ।
डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रा गरेपछि मात्र तालमा पाइला टेक्न सकिन्छ। ताल किनारामा रिग्म गाउँ, गुम्बा, चैत्य आदि छन्। तालबाट अढाई घन्टा पदयात्रा गरेर भ्यू पोइन्ट पुगेमा फोक्सुण्डोको बेग्लै स्वरुप देखिन्छ। तालको निकासबाट बग्ने खोलालाई फोक्सुन्डो खोला भनिन्छ। खोलामा चित्ताकर्षक छाँगो छ जसलाई फोक्सुन्डो झरना भनिन्छ। फोक्सुन्डो खोला सुलिगाड पुगेपछि ठूली भेरिमा मिसिन्छ।
सुलिगाडबाट २७ किमिमा पदमार्गमा फोक्सुन्डो। पहिलो दिन ६ घन्टा हिँडेर साङता/ छेप्कामा बास, दोस्रो दिन ७ घन्टा हिँडेर चुनुवारमा र तेस्रो दिन ४ घन्टा हिँडेर रिग्म गाउँमा बास बस्ने गरि पदयात्रा योजना बनाउनु बेस हुन्छ।
रिग्म गाउँ
फोक्सुन्डो ताल किनाराको रिग्म गाउँ पदयात्रीहरूको बासस्थान हो। डोल्पा लोअर सर्किट, अपर डोल्पो र फोक्सुण्डो पदयात्रा गर्नेहरू रिग्म गाउँमा बास बस्छन्। गाउँमा ६५ घर छन्। त्यहाँ केही होटल छन्।
गाउँमा भोटे समुदायका लामा, बुढा, बैजी र गुरुङको बसोबास छ। यहाँ आलु, फापर, गहुँ, र तोरी उत्पादन हुन्छ। तरकारीमा काउली, बन्दा, गाजर, साग फलाइन्छ। पशुपालनमा चौंरी, बाख्रा र कुखुरा पालिन्छ। गाउँको उत्तरपश्चिममा काञ्जिरोवा हिमाल छ भने दक्षिणमा काङ ताईका तोङ हिमाल। गाउँमा गुम्बा, चैत्य र मानेहरू छन्। त्यहाँ भोटे जीवनशैलीको सौन्दर्य पाइन्छ।
दुई रात रिग्मोमा बसेर फोक्सुन्डोको सौन्दर्यपान गर्नु उत्तम मानिन्छ। गाउँमा पुस–माघमा बाक्लो हिउँ पर्छ। हिउँ पर्नु अगाडि नै उनीहरू बेंसीतिर झर्छन्।खासमा सडकमार्गबाट सुलिगाड पुगेर पदयात्रा गर्दा होस् या जुफालसम्म उडेर यात्रा गर्दा सबैतिर मध्यम खालका होटल पाइन्छ। त्यसैले ‘टि हाउस टे«किङ’ संभव छ। रिग्म गाउँबाट दुई दिनको पदयात्रामा प्रसिद्ध शे–गुम्बा पुगिन्छ भने दुई दिन एक बिहान हिँडेमा बगला र नुमला भञ्ज्याङ पार गरेर धो–तराप भ्याली (४,२०० मिटर)।
बोन धर्म
डोल्पामा प्रकृतिपूजक बोन धर्माबलम्बिको बसोबास छ। बोन धर्मका प्रर्वतक शेन्पा तोन्राव मिवो हुन् जुन धर्म सुरु भएको १८ हजार ४० वर्ष पुगिसक्यो। संसारका सबै प्राणीलाई सबैखाले दुःखहरूबाट रक्षा गर्ने धर्मलाई युङढुङ् बोन धर्म भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ।
समयक्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोम्पोहरूको विश्वास छ। शेत्पा तोन्राव आठौं बुद्ध हुन्। उनीे स्याङ्स्युङ राज्यको ओल्मो लुङ रिङ भन्ने ठाउ“मा पिता ग्याल्बोन थोकार र माता योछि शेन्राव ग्याल्सेमाका पुत्रको रुपमा जन्मिएका थिए।
जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश संग्रह गरिएका १४० पुस्तक छन्। जसलाई ‘काङग्युर’ भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीन सय शास्त्र रचिएका छन्, तिनलाई ‘कातेन’ भनिन्छ।बोन धर्म अभ्यास गर्नेहरूलाई बोन्पो भनिन्छ। अन्य बौद्धमार्गीहरू माने घुमाउँदा ओम माने पेमे हुँ भन्छन्। तर, बोन धर्माबलम्बिहरू ‘ओम मा ट्रि मु ये सा ले दु’ भन्छन्। अन्य बौद्धमार्गीहरू माने, गुम्बा र चैत्यलाई दाहिना पारेर घुम्छन्। बोन्पोहरू भने देब्रे पारेर घुम्छन्।
फोक्सुन्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गुम्बा छ। हिमाली भेगमा यस्ता धेरै गुम्बा छन्। बोन बुद्धिस्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा) का अनुसार डोल्पा, मुस्ताङ, हुम्ला, जुम्ला, बागलुङ, मुगु, कास्की, चितवन र काठमाडौंमा बोन्पोको उल्लेख्य बसोबास छ। डोल्पामा मात्र साना–ठूला गरी तीन दर्जन भन्दा बढी बोन गुम्बा छन्। त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ।
काठमाडौंको इचंगुनारायण तीनघरेमा पनि बोन गुम्बा छ। गुरु योङजीन रिम्पोचेले ३६ वर्ष अघि स्थापना गरेको त्रितेन नोर्बुचे गुम्बामा बोन धर्म सम्बन्धी ‘फिलोसपी अफ डाक्टर’ पढाइ हुन्छ। यस्तो कोर्ष पुरा गर्नेलाई गेसे भनिन्छ। यसका लागि कम्तिमा १५ वर्ष पढ्नु पर्छ। गुम्बामा ध्यान कोर्ष पनि पढाई हुन्छ।
इतिहास हेर्ने हो भने स्याङस्युङ राज्य आठौं शताब्दीसम्म दक्षिण एशियाका ठूला र शक्तिशाली राज्यमा गनिन्थ्यो। भोटका पहिलो राजा न्याठी चेन्पोदेखि ३२ औं राजा नाम्री स्रोङ्चेनसम्म भोटमा बोन धर्मले व्यापकता पाएको देखिन्छ।
राजा स्रोङचेन गोम्पोदेखि बुद्ध धर्म भोटमा विस्तार हुन थालेको हो। भोटका राजा ठिसोङ देचेनको पालामा बोन धर्ममा धेरै उतारचढाव आयो। त्यसपछि क्रमशः धेरै बोन धर्मावलम्वी भोटबाट विभिन्न ठाउँमा छुट्टिनु पर्ने अबस्था आयो।
धर्म बिस्तार गर्न संस्थापक मिवो बीस वर्षको उमेरमा नेपाल आएको पाइन्छ। त्यतिबेलैदेखि नै नेपालमा बोन धर्म प्रचार भएको मानिन्छ। हिमाली भेकका कतिपय प्राचीन गुम्बा, माने र चैत्यहरूको संरक्षणमा राज्यले लगानी गर्नु पर्ने देखिन्छ।
कसरी पुग्ने ः काठमाडौं–नेपालगञ्ज–जाजरकोट–डोल्पा सडक यात्रा, बसमा तीन दिन। जाजरकोट–डोल्पा सदरमुकाम दुनै ११८ किमि कच्ची सडक। खोलामा पुल बनिनसकेकाले सडक यात्रा सजिलो भने छैन। अथवा काठमाडौं–नेपालगञ्ज १ घन्टा हवाई यात्रा। नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाई यात्रा। जुफाल–सुलिगाड जीपमा। सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रामा फोक्सुन्डो ताल।
पर्यटनमैत्री वातावरण
हामीले पर्यटनमैत्री वातावरण बनाएका छौं। फोक्सुन्डो ताल वरिपरि पदमार्ग बनाइरहेका छौं। फोक्सुन्डो पदमार्ग सुधारका लागि सरकारले ठूलै बजेट छुट्टयाउनु पर्छ। हाम्रो गाउँमा खाना र बासका लागि होटल सुविधा छ। बेलैमा फोन सम्पर्क गरेर आउनुस् है।
सम्पर्क: ९८५१०३४०१८
टि हाउस ट्रेकिङ
ट्रेकिङ कम्पनीहरूले अब टि हाउस टे«किङमा जोड दिनु पर्छ। क्याम्पिङमा आउने विदेशी पर्यटकहरू खानेकुरा काठमाडौंबाटै ल्याउँछन्। उनीहरूबाट गाउँलेलाई खासै फाइदा पुग्दैन। बरु हामीलाई आन्तरिक पर्यटकबाटै फाइदा हुन्छ। हिमाली भेगको पदयात्रामा अपनाउनु पर्ने साबधानी अपनाएर र आबश्यक तयारी गरेर पदयात्रामा निस्कन सबैसँग आग्रह गर्दछु।
सम्पर्क: ९८५१२३८२२१