समुन्द्र सतहदेखि २०९५ मिटरस्थित अति सुन्दर लुकुम गाउँ। रूकुम पूर्वको भूमे गाउँपालिका वार्ड न.१ को मध्य पहाडी लोकमार्ग सडक खण्डमा पर्ने गाउँ पुग्दा जो पनि टक्क अडिएर मन्त्रमुग्ध हुन्छ।
पश्चिमी वायूको प्रभावले केही दिनअघि देशका अधिकांश पहाडी क्षेत्रमा हिउँ पर्दा लुकुम गाउँ पनि सेताम्मे हिउँले धपक्क ढाक्दा बेहुलीझैं सिंगारिएको छ।
करिब ५ सय घरधुरी रहेको गुजुमुल्ट वस्तिमा मगर समुदायको बाहुल्य छ। यहाँ दलित र गुरूङ समुदायको मिश्रित बसोवास छ।
गाउँ नजिकै वर्षौ पुरानो अग्ला अग्ला धुपीको झ्याङ छ। रोल्पाको चर्चित थबाङ गाउँबाट गुरिल्ला पदमार्ग रूझिखोला हुँदै लुकुम, सेरा भएर ढोरपाटनतिर निस्कन्छ।
मध्य पहाडी लोकमार्ग बाग्लुङबाट बुर्तिबाङ, काँक्रीहुँदै रुकुमकोटबाट मुसिकोट जोडिएको छ।
यो सँगै मगर बाहुल्य क्षेत्र पूर्वी रोल्पा र पूर्वी रूकुममा असार पहिलो साता हप्तौदिनसम्म धुमधामले भूमे पूजा गर्दै पर्व मनाइन्छ। यो क्षेत्रको ठूलो चाड नै भूमे हो।
फ्रान्सेली मानवशास्त्री एनी डे सेल्स लामो समय लुकुममा बसेर खाम-भाषी मगर जाति र तिनीहरूको अनौठो संस्कृति र परम्पराको बारेमा विस्तृत रूपमा अध्ययन अनुसान्धन गरेकी थिईन्।
झाँक्री मेलाको लागि प्रख्यात लुकुम गाउँमा साउनमा ठूलो मात्रामा झाँक्रीहरु बाजा गाँजा, ढोल सहित नृत्यको साथ जीवन्त जमघटको आयोजना गर्छ। गाउँमा करिब थुप्रै झाँक्रीहरु छन् जसमा ३० प्रतिशत जति महिला झाँक्री छन्।
साउने संक्रान्तिमा यहाँ झाँक्रीको ठूलो मेला लाग्छ, जहाँ थप्रै झाँक्री केही दिनसम्म नाच्ने गर्छन्। राम्रोसँग ब्राण्डिङ गरि प्रचार-प्रसार गर्न सके बिदेशी लगाएत स्वदेशि पर्यटकको झाँक्रि पर्यटन फस्टाउन सक्छ।
बाग्लुङको बुर्तिबाङदेखि करिब ६२ किमी पश्चिममा र रुकुमकोटबाट करिब २६ किमी पूर्वमा मध्य पहाडी सडक खण्डमा पर्दछ लुकुम गाउँ। यहाँबाट थबाङ गाउँ करिब १८ किमी पर्छ।
तस्बिरहरूः दिलचन पुन, लुकुम

























