पनौती। हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको प्रकृति प्रेमी समूहले असोज १३ गते काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२ मा अवस्थित ‘पञ्चकन्या झरना’मा पदयात्रा गराएको छ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मुलमन्त्र बोकेर स्वस्थ समाज निर्माणमा समर्पित समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा हाइकिङ गरिएको हो। उनीहरूलाई पनौती बसपार्कबाट त्रिवेणीधाम, भालेश्वर मन्दिर हुँदै खारखोलाको ‘पञ्चकन्या झरना’मा पुर्याइयो।
उनीहरू झरनाबाट भालेश्वर मन्दिरसम्म गएकै बाटो फर्किए भने मन्दिरबाट फरक बाटो मल्पि हुँदै पनौती बसपार्क आइपुगेका थिए। यसरी करिब १६ किलोमिटर पदयात्रा गराइयो। पञ्चकन्या झरना सुन्दर छ। डाँडाबाट वेगले झरेको पानीको दृश्यमा आँखा रमाउँछन्। झरनाको फेदीमा तलाउ पनि छ। झरना नजिकै पञ्चकन्या मन्दिर पनि छ। झरनासम्मै व्यवस्थित पदमार्ग छ।

पदयात्राको शुभारम्भमै ‘पनौती पर्यटन विकास केन्द्र’ले पदयात्रीलाई टीका लगाएर स्वागत गरेको थियो। लगत्तै उनीहरूलाई सांस्कृतिक सहर पनौती घुमाइयो। लायकु क्षेत्र घुमेर उनीहरू त्रिवेणीघाट पुगे। त्यहाँका ब्रम्हायणी, इन्द्रेश्वर, भैरबलगायत मन्दिर दर्शन गरे।
पुरुषोत्तम कर्माचार्य
अध्यक्ष, पनौती पर्यटन विकास केन्द्र
पनौतीका सम्पदाका विषयमा केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पदयात्रीलाई जानकारी गराए। केन्द्रका पूर्व अध्यक्ष एवम् छ्वाली कलाका कलाकार जयराम मानन्धरले चाहिँ झरनासम्मै पथप्रदर्शक बनेर सहयोग पुर्याए। पदयात्रीहरूलाई पनौती बजारबाट रोशी खोलाको किनारैकिनार मुल बाटोमा हिँडाइयो। करिब दुई घण्टा हिँडेर जब उनीहरू खोंचमा रहेको झरनामा पुगे तब त्यहाँको प्राकृतिक वातावरणमा रोमाञ्चित बने। तस्बिर खिचे, टिकटक बनाए। सबै रमाए।
रामदेवी महर्जन
हाइकिङविज्ञ
पदयात्रालाई सुरक्षाकर्मीले पनि साथ दिएका थिए। स्मरणीय छ, पञ्चकन्या झरना जाने मार्गमा टिपर गाडीहरू चल्छन्। गाडी चलेका बेला पदयात्रा सम्भव हुँदैन। गाडी र मोटरबाइकमा भने जान सकिन्छ। त्यसैले केन्द्रको समन्वयमा प्रहरी प्रशासनको सहयोग लिएर पदयात्राका बेला शनिबार केही समय टिपर सञ्चालनमा रोक लगाइएको थियो।
अर्को महत्वपूर्ण कुरा, यहाँको भालेश्वर मन्दिर पौराणिक मानिन्छ। पदयात्रीले भालेश्वर दर्शन गर्नुका साथै नजिकैका पानी घट्ट पनि अवलोकन गरे। फर्किंदा केही पदयात्रीले घट्टमा पिँधिएको मकै र गहुँको पिठो किनेर ल्याए पनि।
जयराम मानन्धर
पूर्व अध्यक्ष, पनौती पर्यटन विकास केन्द्र
झरना क्षेत्रमा भर्खरै एउटा रिसोर्ट बनाइएको छ। स्थानीय युवाहरू निर्पन कार्की, जीवन के.सी., विशाल के.सी र विजय के.सीले करिब एक करोड २० लाख रुपैयाँ लगानीमा ‘पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट’ खोलेका हुन्।पदयात्रीलाई यही रिसोर्टमा स्वास्थ्यवद्र्धक खाना खुवाइयो। संस्थाको हाइकिङमा जंकफुड र फास्टफुड निषेध छ। खानापछि हाइकिङविज्ञ महर्जनले केहीबेर अन्तरक्रियात्मक नाचगान गराइन्। त्यसपछि उनीहरूलाई पनौतीसम्मै हिँडाइएको थियो।
संस्थाको अर्को हाइकिङ असोज २७ गते शनिबार फरक ठाउँमा हुनेछ।
रिसोर्टमा सम्पर्क गरेर पञ्चकन्या झरनामा जाँदा सजिलो हुनेछ।
सम्पर्क :
पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट
फोन: ९७४९४१३८८६, ९८५११५६३२४









































