काठमाडौं। नेपालको पर्यटनमा समर्पित एक जना युवाले भर्खरै सुन्दर कृति सार्बजनिक गरेका छन्, ‘बेस क्याम्प ।’ नवराज घिमिरेकृत उपन्यासले पर्वतारोहणका रहस्यहरू उजागर गरेको छ। पुस्तकमा विदेसीको नेपालप्रतिको मोह, हिमालप्रतिको माया, नेपाली शेर्पाका सुखदुःखका कथाव्यथा समेटिएका छन्। त्यसैले नेपाली पर्यटन बुझ्न चाहनेका लागि उनको उपन्यास सन्दर्भ सामग्री बन्न सक्छ।
पर्यटनकर्मी युवा नवराज घिमिरेले लेखेको उपन्यास ‘बेस क्याम्प’ पढ्दापढ्दै सगरमाथा शिखरमा पुग्न सकिन्छ। विशेषतः पर्वतीय पर्यटनका विषयमा जानकारी लिन चाहनेहरूका लागि यो उपन्यास सन्दर्भ सामग्री बन्न सक्छ।
हिमालको फेदिसम्म पुगेर हिउँ खेलेका तर चुलीमा कहिल्यै पाइला नटेकेका घिमिरेले रोचक ढङ्गमा सगरमाथा आरोहणको कथा बुनेका छन्। भन्छन्, ‘हिमालप्रतिको रुचि, दश वर्षको पर्यटन अनुभव, शेर्पा आरोहीहरूसँगको सँगत र अध्ययनले मलाई उपन्यास लेख्ने वातावरण बनाइदियो।’
खासमा बेस क्याम्प भनेको हिमालको काख हो। त्यहाँ बसेर हिमाल आरोहण सहज बनाउन तारतम्य मिलाइन्छ। एक्लमटाइज हुन तलमाथि गरिन्छ। आवश्यक योजना बनाइन्छ। यसमा पर्वतारोही, शेर्पा, सहयोगी सबैको सामूहिक योगदान रहन्छ।

अर्को कुरा, शिखर चढ्न पनि बेस क्याम्प पुग्नै पर्छ, शिखरबाट ओरालो झर्दा पनि बेस क्याम्प टेक्नै पर्छ। बेस क्याम्प विना आरोहण सम्भव छैन। त्यही भएर घिमिरेले हिमाल आरोहणको कथा बोकेको उपन्यासको नाम नै ‘बेस क्याम्प’ राखेका।
नेपाली हिमाल, पर्वतारोही र शेर्पाका विषयमा धेरै विदेसीले धेरै किताब लेखेका छन्। वृतचित्र बनेका छन्। हाम्रा यी सम्पदा र हाम्रा जीवनसङ्घर्षका विषयमा भने हामी नेपालीले खासै लेखेका छैनौं।
‘हाम्रो कथा हामीले नै लेख्नु पर्छ। समाजमा बहस छेड्ने गरी लेख्नु पर्छ भनेर’, उपन्यासकार घिमिरे भन्छन्, ‘हामीले शेर्पाका दुःख उजागर गर्नु पर्छ। उनीहरूको योगदानलाई सम्मान गर्नुपर्छ। पर्वतीय पर्यटनका बढीभन्दा बढी कुरा सार्बजनिक गर्नुपर्छ।’

उनी आक्कलझुक्कल मिडियामा पर्यटनका विषयमा लेख्थे। ‘बेस क्याम्प’ जस्तै कृति लेख्ने हुटहुटि जागेको धेरै वर्ष भैसकेको थियो। कामको व्यस्तताले समय दिन पाएका थिएनन् तर जब कोभिड–१९ ले विश्व आक्रान्त बन्यो तब उनी पनि फुर्सदिला बने।
‘त्यही फुर्सदलाई सदुपयोग गरेर मैले उपन्यास लेखेको हुँ’, उनी उत्साहि छन्, ‘पाठकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु।’ मस्र्याङ्ग्दी गाउँपालिका–९, लमजुङका घिमिरेको पेशा पर्यटन हो। उनी ‘गुड कर्म टे«किङ’का प्रबन्ध निर्देशक हुन्। अचेल काठमाडौंको बनस्थलीमा बसेर पर्यटनकर्म सम्हालिरहेका छन्। उनको उमेर ३८ वर्ष पुग्यो। घुमफिर गरिराख्छन्। कहिले पदयात्रा गर्छन् त कहिले देसविदेस डुल्छन्।
पर्यटनकर्ममा कसरी जोडिए त नवराज ?
‘नेपाल भ्रमण वर्ष १९९८’ मनाइरहँदा म गाउँमै कक्षा ९ मा पढ्थें। त्यो वर्ष हाम्रो लमजुङ हुँदै थोराङ भञ्ज्याङ पार गर्ने विदेसीको लर्को लागेको थियो’, उनले सम्झिए, ‘मैले उनीहरूलाई आफ्नो बारीमा पाकेका सुन्तला बेचें। केही पर्यटकसँग कुराकानी पनि गरें। त्यसैले मलाई पर्यटनप्रति आकर्षण बढाएको हुनुपर्छ।’

यसरी उनले पहिला सुन्तला बेचें, पछि टुरिजम प्याकेज बेच्न थालें। समयक्रममा विदेसीलाई लिएर थोराङ भञ्ज्याङ, तिब्बत र भुटानसम्म पुगे। सगरमाथाका दुवैतिर (नेपाल र तिब्बत)को आधारशिविर चुम्न भ्याए। र, जन्मियो, ‘बेस क्याम्प’ उपन्यास पनि।
उनले यसलाई लेखनको प्रस्थानविन्दु मानेका छन्। अझै लेख्नु पर्ने धेरै कुरा छन्। ‘पर्वतीय जनजीवनका विषयमा निरन्तर लेखिरहनेछु’, उनले भने।
उनको लेखन यात्रा
उनी विद्यालय जीवनमा कहिलेकाहिँ निबन्ध लेख्थे। कविता लेख्थे। ठुलो भएपछि लेखनले निरन्तरता पाएन। पर्यटनमा जोडिएपछि घुमफिर गर्थे। रोमाञ्चित बन्थे। अरुले लेखेका कुरा पढ्थे।
एउटा यात्राले उनलाई लेख्न उत्साहि बनायो। उनी काठमाडौं नजिकै मकवानपुरको चित्लाङमा पुगेका थिए। त्यहाँको ढुङ्गेधाराको चिसो पानी खाएर बसेका बेला देखेको दृश्यले प्रेरित भएर हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कुन मन्दिरमा जान्छौ यात्री’ कविता लेखेका थिए।
तिनताका तराईबाट काठमाडौं भित्रिने नाका चन्द्रागिरि थियो। मोटरबाटो बनिनसकेको अबस्थामा हिँडेरै ओरीदोरी गर्नुपथ्र्यो। एउटा मोटो मान्छे तामदानमा बोकिएर पशुपतिनाथ दर्शन गर्न आएको दृश्यले मुटुलाई चसक्क बनाएपछि उनले ‘यात्री’ कविता लेखेको भनाई छ।
देवकोटाको प्रसङ्ग, चित्लाङको प्राकृतिक सौन्दर्य, बाख्राको चिज आदि धेरै कुराले घिमिेरको हृदयलाई छोयो। त्यहाँबाट फर्केपछि उनले सेतोपाटी डट्कम्मा एउटा नियात्रा नै लेखे। त्यहाँबाट उनको लेखन यात्रा शुभारम्भ भयो। उनी बेलाबेलामा मिडियामा पनि लेख्छन्। ‘बेस क्याम्प’ उनको पहिलो कृति हो। यसको मूल्य ४ सय रुपैयाँ राखिएको छ।
