भक्तपुर। सूर्यविनायक नगरपालिका–५, भक्तपुरस्थित ‘गणेशमान स्मृति वाटिका’लाई पर्यटनधामका रुपमा विकास गरिने भएको छ। यसलाई प्रजातन्त्रवादीको तीर्थस्थल, प्रकृतिप्रेमीको क्रीडास्थल र आध्यात्मिकहरूको मन बिसाउने चौतारीका रुपमा चम्काउने अभियान सुरु भैसकेको छ।
शुवर्णेश्वर मन्दिर ।
सांस्कृतिक सहर भक्तपुर नजिकै पूर्वपश्चिम लाम्चिलो परेको थुम्कोलाई ‘गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण समिति’ले पर्यटकीय गन्तव्य बनाउने काम थालेको हो।
उसले पूर्वाधार विकासका केही काम गरिसक्यो। यसैक्रममा प्रजातन्त्रवादी योद्धा एवम् लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण भइसकेको छ। पुर्णकदको प्रतिमा १२ फिट अग्लो छ। सिंहको २६ औं स्मृति दिवसका अबसरमा असोज २ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिमा अनावरण गरियो।
‘प्रतिमा अनावरण कार्यक्रममा उपश्थित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, अर्थमन्त्री प्रकाशसरण महतलगायत सबैबाट सहयोगको वचन पाएका छौं’, समितिका महासचिव कृष्णमुरारी न्यौपाने भन्छन्, ‘हामी गुरुयोजनाअनुसार पार्कलाई छिटोभन्दा छिटो पुर्णता दिनेछौं।’

वाटिकामा सङ्ग्रहालय पनि बनाइनेछ। समग्रमा वाटिकालाई गणेशमान अध्ययन केन्द्रका रुपमा विकास गर्ने समितिको योजना छ। सिंहको निडरता, त्याग र स्वाभिमानको गाथा प्रेरणादायी छ। विपरीत दिशामा फर्केका काँग्रेस र कम्युनिष्टलाई पञ्चायत विरोधी एउटै मोर्चामा सामेल गराएर गणेशमानले वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुर्नबहाली गराए, लगत्तै राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गरे। बरु उनले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा सिफारिस गरेका थिए।
यस्ता जनप्रेमी योद्धाको नामबाट वाटिका बनाउने काम वि.सं. २०५४ सालमा सुरु भएको हो। वाटिका क्षेत्रको भूगोल, जैविक विविधता, गणेशमानजीको जीवनदर्शन र सुर्वणेश्वर मन्दिरका आध्यात्मिक दर्शनलाई एकीकृत रुपमा समेटेर यस क्षेत्रलाई पर्यटनधामका रुपमा विकास गर्ने समितिको योजना छ।

वाटिका क्षेत्र १७४ रोपनी र १५ आना जमिनमा फैलिएको छ। यसको पश्चिमी छेउमा सुर्वणेश्वर महादेव मन्दिर छ। मन्दिर हातामा गणेशलगायत अरु देवदेवीका मूर्ति, पाटी, त्रिशूल आदि संरचना छन्। भगवानको दर्शन पनि हुने र स्वास्थ्य पनि राम्रो हुने भएकाले यहाँ ‘मर्निङ वाक’ गर्नेहरूको पनि धुइरो लाग्छ। वनभोज खानेहरू, टिकटक बनाउनेहरू, चलचित्र र म्युजिक भिडियो खिच्नेहरू मात्र होइन, मनको शान्ति खोज्नेहरू पनि वाटिकामा भेटिन्छन्।
थुम्काबाट काठमाडौं उपत्यकाका पाँचओटा सहरहरू काठमाडौं, भक्तपुर, मध्यपुर, ललितपुर र कीर्तिपुरको चित्ताकर्षक दृश्य देखिन्छ। गुचुमुच्च गाउँबस्तीको दृश्य रमाइलो लाग्छ। अर्को कुरा, मौसम खुलेका बेला उत्तरी भेकमा हरिया डाँडामाथि सेता हिमालको लर्कन पनि देखिन्छ। गणेश, लाङटाङ, दोर्जेलाक्पादेखि गौरीशङ्कर हिमालसम्मको शृङ्खला ।
जैविक विविधताका दृष्टिले पनि वाटिका क्षेत्र धनी छ। यहाँ थरीथरीका बोटबिरुवा, चरा, पुतली र जनावर भेटिन्छन् । वाटिकासँगै जोडिएको सूर्यविनायक सामुदायिक वनका कारण यहाँ जीवजन्तुको चहलपहल भइराख्छ।
वाटिका काठमाडौंबाट १६ किलोमिटर यात्रामा वाटिकामा पुगिन्छ। सूर्यविनायक चोक नजिकै पाण्डुबजारबाट गुण्डुतिर जाँदा करिब १ किलोमिटर दूरीमा सडक किनारमै छ वाटिका।









