ललितपुर। काठमाडौं उपत्यकामा एउटा यस्तो सांस्कृतिक बस्ती छ जसलाई ‘सुकुल बुन्ने गाउँ’ भनिन्छ। जुन गाउँमा धानको परालबाट परम्परादेखि नै सुकुल र चकटी बनाइन्छ। ललितपुरको महालक्ष्मी नगरपालिका– ६ मा पर्ने ‘सिद्धिपुर’ सुकुल बुन्ने गाउँका रुपमा प्रख्यात छ। यसको पुरानो नाम ‘सानागाउँ’।
ललितपुरको सिद्धिपुर ‘सुकुल बुन्ने गाउँ’का रुपमा प्रख्यात छ। यहाँ परालबाट सुकुल मात्र होइन, थरीथरीका हस्तकला पनि बनाइन्छ।
परम्परागत शैलीबाट बनाइएको सुकुल भुइँमा ओच्छ्याइन्छ। आधुनिक गलैंचा र कार्पेटभन्दा सुकुल स्वास्थ्यका लागि राम्रो मानिन्छ।

हस्तकला बनाउन विशेषतः महिला अगाडि छन्। पछिल्लो समय यहाँ सुकुल र चकटी मात्र होइन, परालबाट थरीथरीका हस्तकला बनाइन्छ।। जुत्ता, मुढा, मेच, टेबुल, कलश, देवदेवी, राष्ट्रिय झन्डा आदि बनाइन्छ। यी कलाकृति घर तथा होटल र रेष्टुराँमा प्रयोग गरिन्छ।
गाउँकी अगुवा चिरिमाया महर्जन परालबाट विभिन्न किसिमका सामान बनाउन सिपालु छिन्। उनैले हो धेरैथरी सामान बनाउन सुरु गरेको। उनबाट धेरैले यो कला सिकेका हुन्। बस्तीमा हस्तकला प्रवद्र्धनमा सिद्धिपुर सिकाई केन्द्र क्रियाशील छ। केन्द्रबाट रामचन्द्र महर्जनले सिकाउँछन्। स्थानीय वडा कार्यालयमा परालका कलाकृति झल्काउने सङ्ग्रहालय पनि बनाइएको छ।

‘हामी सिद्धिपुरलाई मात्र होइन, समग्र नगरपालिकालाई नै पर्यटन गन्तव्य बनाउने अभियानमा जुटेका छौं’, वडाध्यक्ष धर्म महर्जन भन्छन्, ‘हामी होमस्टेको अध्ययन पनि गर्दैछौं। तपाईं पनि हाम्रो गाउँ घुम्न आउनुस् है!’ एक समय सिद्धिपुरमा नेवार समुदायको मात्र बसोबास थियो। समयसँगै मुलुकका विभिन्न भुभागका जातजाति आएर बसेका छन्। सिद्धिपुर सुन्दर फूलबारीका रुपमा मुस्कुराइरहेको छ।
यहाँ परालबाट बनाइएका हस्तकला लाइभ हेर्न पाइन्छ। यसबाहेक मन्दिर, चैत्य, गुम्बा र खेती किसानी यहाँका प्रमुख आकर्षण हुन्। ग्वार्कोबाट मात्र ३ किलोमिटर दूरीमा पर्दछ सिद्धिपुर। बस्तीसम्मै पक्कि सडक सञ्जाल छ। बस्तिमा नेवा खाजाघर र रेष्टुराँ छन्।


स्थानीय तेजराम महर्जन।














हाइकिङविज्ञ रामदेवी महर्जन।