काठमाडौं। नेपालमा हाइकिङ जागरण गराउँदै आएको ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले भदौ २३ गते शनिबार धादिङको धुनिबेसी नगरपालिका–७ मा रहेको तीनछाँगे झरनामा हाइकिङ गराएको छ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा घन्काउँदै प्रकृतिप्रेमीहरू झरनामा पुगेका हुन्।
एकै ठाउँमा तीन ओटा झरना भएकाले ‘तीनछाँगे’ झरना भनिएको। थली, गुर्दुम र लिखु खोलाबाट बगेको पानी झरनाको श्रोत। सडक छेउमै छ झरना।
सातदोबाटोस्थित निरोगधामबाट पृथ्वीराजमार्गको खानीखोलासम्म गाडीमा गएर त्यहाँबाट हाइकिङ शुभारम्भ गरिएको थियो। खानीखोलाबाट सिम्लेचौर, दोभान हुँदै पदयात्रीलाई झरनामा पुर्याइयो। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मुलमन्त्र लेखिएको निलो क्याप लगाएका पदयात्रीको लर्कनले गाउँलेको ध्यान खिच्यो। पदयात्रीले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मन्त्रोचारण गरेका थिए।

समूहकी कोषाध्यक्ष एवम् हाइकिङविज्ञ रामदेवी महर्जनले हाइकिङ टोलीको नेतृत्व गरेकी थिइन्। रामदेवी तिनै अगुवा हुन् जसले नेपालमै पहिलोपटक हाइकिङ पुस्तक लेखेकी छिन् ‘हाइकिङ काठमाडौ’। उनले हाइकिङको नेतृत्व गर्नुका साथै मिडियामा बरोबर हाइकिङ, योग र प्राकृतिक स्वास्थ्यका विषयमा लेखहरू लेख्दै आएकी छिन्। हाइकर्सहरुका माझमा उनी ‘हाइकिङ क्विन’का रुपमा सम्मानित छिन्।
तरकारीबारी बिचमा रहेको कच्चि मुलबाटोमा हिँड्दै जब पदयात्री सिम्लेचौर पुगे तब महर्जनले उनीहरूलाई केहीबेर साँचो ध्यान गराइन्। ध्यानपछि पदयात्रीको थकान मेटियो। त्यहाँबाट जङ्गलको उकालो बाटो हिँड्दैहिँड्दै उनीहरू दोभान पुगे। दोभानको झोलुङे पुल तरेर उकालो लागेपछि केही बेरमै झरना देखियो। झरनामा पुग्दा सबै पदयात्री रमाए। त्यहाँको चिसो पानीमा पदयात्रीले मुख धोए। तस्बिर खिचे। टिकटक बनाए। एकैछिनमा सिमसिमे पानी पर्यो।

झरना अवलोकनपछि फर्केर नजिकै विशाल तामाङको पसलमा सबैलाई स्वास्थ्यबर्धक तीन बराबर आहार खुवाइयो। खानापछि पदयात्रीलाई नौबिसेसम्म पदयात्रा गराइयो। त्यसभन्दा अगाडि हाइकिङविज्ञ महर्जनले सबैलाई स्वास्थ्य सम्बन्धी जानकारी बाँडेकी थिइन्। र, केही गीतमा पदयात्रीले नाचगान गरेका थिए।
खानीखोलाबाट झरनासम्म ७ किलोमिटर र झरनाबाट नौबिसेसम्म ४ किलोमिटर गरि ११ किलोमिटर पदयात्रा गरिएको थियो। संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं उपत्यकाका डाँडापाखामा हाइकिङ गराउँदै आएको छ। उसको हाइकिङमा जंकफुड र फास्टफुड प्रतिबन्धित छ। स्वास्थ्यबर्धक खाना खुवाइन्छ। अर्को हाइकिङ असोजको दोस्रो शनिबार फरक ठाउँमा हुनेछ।






























