म्याग्दी। धौलागिरि हिमालसँग आँखा जुधाउन रमणिय डाँडा हो, टोड्के। बेनी बजारको शिरमा बसेको डाँडा। प्रकृति र अध्यात्मको दोभान (२,४३० मिटर)। डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्।
डाँडासम्मै मोटर बाटो पुगेको छ। रिसोर्टमा दुई हजार रुपैयाँमा डिनर, बेड, ब्रेकफास्ट र लन्च सुविधा पाइन्छ।
टोड्केमा पुग्दा आनन्द मिल्छ। मनसुनमा चारैतिर हरियाली छ। डाँडामा बसेर योग तथा ध्यान गर्न सकिन्छ। मनसुन विदा हुनेवित्तिकै हिमालको मिठो दृश्य देख्न पाइन्छ। टोड्केको धार्मिक महत्व पनि छ। यहाँ स्वर्गद्वारी महाप्रभुलगायत धेरैले सन्तले तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्छ टोड्के। टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन्। पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्। मगर बाहुल्य गाउँमा होमस्टे सुविधा छ।
पहिलापहिला टोड्केमा झीँ र पूर्णगाउँको गाईगोठ राखिन्थ्यो। आलु र मुला खेती गरिन्थ्यो। डाँडाको नाम टोड्के रहनुमा एउटा कथा छ। टोड्केको अर्थ प्वाल हो। जंगलमा ५० मिटर लामो सुरुङ छ। त्यो प्वालमा गाईवस्तु अड्किन्थे। तिनलाई बाघभालुले खाइदिन्थे। गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गयो।
टोड्केको शिवालयमा स्वर्गद्वारी महाप्रभु र उनका शिष्यहरू पूजारी महाराज र रखाल महाराजकालगायतका सन्तको मूर्ति राखिएका छन्। शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो। टोड्केबाट ५ घन्टा पदयात्रा गरेमा म्याग्दीकै मालिकाधुरी (३,३५० मिटर)मा पुगिन्छ। त्यहाँ एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालिकाको। त्रिदेवीको दर्शनले मनोकांक्षा पूरा हुन्छ। मालिकाबाट अर्को ३ घन्टा हिँडेर विम गाउँमा बास बस्न सकिन्छ।
डाँडामा दुई रात विताउने गरी यात्रा योजना बनाउनु बेस हुन्छ।
स्वागतम्
हामीले सामुदायिक रुपमा ‘टोड्के हिल रिसोर्ट’ चलाएका हौं। यसमा तीन दर्जनभन्दा बढी शेयर होल्डर छन्। ६ रोपनी जग्गामा खोलिएको रिसोर्टमा अट्याच बाथरुमसहितका कोठा र टेन्ट सुविधा छ। एकैपटक ६० जनासम्म बस्न सक्छन्। सेमिनार हल पनि छ। हाम्रो रेष्टुराँमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ। तपाईं पनि आउनुस् है।
कसरी पुग्ने ?
काठमाडौं–बेनी २८२ कि.मि., बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ कि.मि., बसमा ३ घन्टा। बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्।
- रुट १–बेनी, अर्थुङे, झीँ गाउँ हुँदै टोड्के १९ किमि।
- रुट २– बेनी, अर्थुङे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के १५ किमि।
- रुट ३–बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ किमि।
- रुट ४–बेनी, सिम, कुहुँ गाउँ हुँदै टोड्के २९ किमि।
- रुट ५–बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के १९ किमि।
सम्पर्क
भिम शेरचन–९८५१०२३०३२