पोखरा। सुर्खेतमा बसेर साधना गर्दै आएका कवि महेन्द्रकुमार मल्लका सृजनालाई पोखरेली साहित्य अनुरागीले मन पराएका छन्। शुक्रबार पोखरामा नेपाली लेखक संघ, गण्डकीले आयोजना गरेको ‘कवि महेन्द्रकुमार मल्लसँग एक साँझ’ कार्यक्रममा उनीहरू मन्त्रमुग्ध बनेका हुन्।
उनले आफ्ना अनुभव र अनुभूति पस्केका थिए। ‘जीवनको प्रतिबिम्ब नउतारेको कला र कला नभएको जीवन दुवैको अर्थ छैन’, उनले भने, ‘समाजका लागि कलाको रङ भरेर सिर्जना पस्कन सकेमा मात्र शक्तिशाली सिर्जना पस्कन सकिन्छ।’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार समेत रहेका मल्लले विश्वविद्यालयको खस्कँदो साखबारे चिन्ता व्यक्त गरे। नेपालमै दर्जनभन्दा बढी विश्वविद्यालय भएको अवस्थामा उच्च शिक्षा अध्ययन गर्न लाखौँ युवा विदेशिनु िदेशको शिक्षानीति असफल भएको भन्दै आत्मालोचना गरेर सुध्रिनुपर्ने बताए। विद्वत्वर्गले पनि यसमा दबाब दिनुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कर्णालीमा जन्मेर मुलुकको शिक्षा, साहित्य र सिङ्गै देशलाई मुटुमा राखेर हिँडेको एक बौद्धिक व्यक्तित्वलाई स्वागत गर्न पाउँदा गर्व महसुस भएको सुनाए। उनले मल्लका छोटा कविता बढी शक्तिशाली भएको निष्कर्ष सुनाए। नेपाली जनजीवनका विविध आयाम एउटै कवितामा उनेर बौद्धिकता प्रदर्शन गर्नु मल्लको मूल काव्यिक विशेषता हो।
कार्यक्रममा मध्यपश्चिमाञ्चल गजल मञ्च, सुर्खेतका अध्यक्ष धिरेन अनुपम र महासचिव पहल असिमले आआफ्ना गजल सुनाए। साथै पोखराका दीपक समीप, रीता अधिकारी ‘ऋतु’, प्राञ्जल, श्रीराम अधिकारी ‘गोर्जे’, लक्ष्मण थापा र सञ्जीव पौडेलले पनि सम्बोधन गरेका थिए।