पोखरा। नेपाली लेखक सङ्घ कास्कीले ११० औँ बीपी जयन्तीका अवसरमा पोखरामा समाजबादी चिन्तक प्रदिप गिरीको सम्झना गरेको छ।े ‘प्रदीप गिरी: अध्यात्मदेखि माक्र्सवादसम्म’ शीर्षक कार्यक्रममा काँग्रेस नेता विश्व सिग्देलले गिरीलाई गृहस्थ सन्यासीका रूपमा चित्रण गरे।
‘व्यक्तित्व, चरित्र, विचार र आचरणले पनि गिरी एक फकिर हुन्’ उनले भने। फकिर चरित्रको अराजक व्यक्ति हुँदाहुँदै पनि उनको असाधारण बौद्धिकता काङ्ग्रेसलाई आवश्यक भएकाले मात्र उनी काङ्ग्रेसमा अटाइरहन सम्भव भएको उनले बताए।
विचार र कार्यशैलीमा पार्टीभित्र बेलाबेला टकराव भइरहने गिरी पार्टीको ह्वीपसमेत नमान्ने गरेका उदाहरण दिँदै उनले भने, ‘वर्तमान संविधान प्रजातान्त्रिक नभएको भन्दै पार्टीको बेवास्ता गर्दै गिरीले हस्ताक्षर गरेका थिएनन्। उनी अराजक प्रवृत्तिको हुन सक्नुका पछाडि उनको अध्यात्मको गहनबुझाइ नै प्रमुख कारण हो।’
अध्यात्म धर्मभन्दा निकै माथि रहेको र अध्यात्मवादी चिन्त नभएको मानिसले ससानो सम्प्रदायभन्दा पनि सिङ्गो विश्व मानव समुदायलाई आफ्नो जीवनसापेक्ष मान्ने सिग्देलले बताए। नेपाली माक्र्सवादी भनिनेहरूमा माक्र्सवादको बुझाइ निकै कमजोर रहेको सङ्केत गर्दै उनले भने, ‘अध्ययनमा निकै गहिराइसम्म पुग्ने कुरामा गिरी पछि अर्को व्यक्तिले आजसम्म भेट्न सकेको छैन ।’ माक्र्सवादको असली अर्थ बुझ्नका लागि विश्वासिलो स्रोत व्यक्तिका रूपमा गिरी स्थापित भएका थिए।
राम्रो प्रजातन्त्रवादी बन्न पनि माक्र्सवाद एवम् अन्य कम्युनिष्ट विचारधाराको राम्रो ज्ञान हुनु जरुरी भएको मान्यता राख्ने गिरीले माक्र्सवादमात्रै होइन लेनिन, स्टालिनदेखि लिएर कम्युनिजमका एकएक केस्रा केलाएर अध्ययन गरेका थिए। माक्र्सवाद दर्शन भएको तर राजनीतिक चिन्तन नभएको ठहर थियो सिग्देलको।
बी.पीपछि गिरीमा नै उच्च राजनीतिक सुझबुझ र फराकिलो चिन्तन थियो। कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारी, डा. भूमिराज बस्ताकोटी, शिव के.सी., दिपेन्द्र श्रेष्ठ, चिरञ्जीवी शर्मा पौडेल, गीता लामिछाने, डा. लक्ष्मीशरण अधिकारी, रीताअधिकारी ‘ऋतु’ र प्राञ्जललगायतले बि.पी र गिरीको जीवन दर्शन बारे बोलेका थिए।