पोखरा। कवि अमृत क्षेत्रीले भारतीय सेनामा रहँदा संगालेका अनुभूतिहरूको पुस्तक ‘यादको कोलाज’को गृह लोकार्पण गरिएको छ। साहित्यकार सरूभक्तसहितका स्रष्टाले शनिबार पोखरामा लोकार्पण गरेका हुन्। यस अघि केही दिन पहिला पुस्तक ललितपुरमा सार्बजनिक गरिएको थियो।
लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक बाँडिएको छ। त्यसैले ‘यादको कोलाज’ लाहुरे जीवनको प्रतिबिम्ब बनेको छ।
‘यसमा लाहुरे जीवनका कडा अनुशासनको कारुणिक वर्णन गरिएको छ। प्रकृतिको उदात्त वर्णन छ। काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम अमृतले गरेका छन्’, पुस्तकको समीक्षा गर्दै कवि जीवनसागर भण्डारीले भने, ‘युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने उदाहरण यादको कोलाज हो।’
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सरुभक्त थिए। ‘लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको छ’, उनले भने, ‘नपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता छ।’
कार्यक्रममा राजनीतिकर्मी विश्व सिग्देल, लेखक अमृत, कवि रीता अधिकारी ‘ऋतु’, मुक्तककार लक्ष्मण थापा, प्रकाशक माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्तलगायतले पुस्तकमाथि आफ्नो धारणा राखेका थिए।