जिरी। दोलखाको जिरी नगरपालिकामा ‘जिरी च्याम्पियनसिप २०८०’ आयोजना हुने भएको छ। युवा सञ्जाल जिरीको आयोजनामा कार्तिक १५ देखि १८ सम्म ३ दिने ‘जिरी च्याम्पियनसिप २०८०’ आयोजना हुन लागेको हो।
खेलका माध्यमबाट जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पर्याउने उद्देश्यले यस प्रतियोगिताको आयोजन गर्न लागेको युवा सञ्जालका अध्यक्ष जगदिश खड्काले जानकारी दिए।
उनले भने,‘ खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रचार सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौं।’ कार्यक्रममा बागमती प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, जिरी भ्याली माउन्टेन सर्किट म्याराथन, स्लो बाइक रेस सहित स्थानीय खेलहरूको प्रतिस्पर्धा गराइने आयोजक युवा सञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवानलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएका छन्। भलिबल तर्फ प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई क्रमशः नगद रु १ लाख ५१ हजार, १ लाख १ हजार, ५१ हजार र २५ हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ। भलिबलका विभिन्न ७ विधामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरूलाई जनही नगद ५ हजार, प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ।
त्यस्तै, १६ कि.मी म्यारथन तर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने छ भने, स्लो बाइक रेस तर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ७ हजार, ५ हजार र ४ हजार प्रदान गरिने छ।
स्थानीय खेलका विषयमा कुन खेल खेलाउने निश्चि भइनसेकपनि सो खेलमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ६ हजार ३ हजार, २ हजार प्रमाण पत्र र मेडलले प्रदान गरिने अध्यक्ष खड्काले बताए। विभिन्न सामाजिक कामहरूमा विशेष योगदान पुर्याउँदै आएको सञ्जाल विगतका वर्षहरूमा पनि यस किसिमको कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने अध्यक्ष खड्काको भनाई रहेको छ।
च्याम्पियनसिपकाे आर्थिक सहयोगीमा जिरी नगरपालिका रहेको छ।