प्रभा बराल
घामको रापले बाहिरको तुषारो पगाल्न बाँकी नै थियो। हामी चार मानुषी बिहान अबेलासम्म कोठाभित्र बस्नै सकेनौँ। कति बेला से–फोक्सुण्डो ताल हेर्न जाऊँ भयो। लामा होटलका बहिनीले “अहिले जाडो हुन्छ एकछिन पछि जानुहोला” भने। उनीहरूले बनाएको तातो चिया र फापरको रोटी विलम्ब नगरी खायाैँ। भान्छाको तातो कोठा भए पनि अलमल गरेर बस्न मनै मानेन। पाइलाहरू आफैँ तालतिर सोझिए। यहाँसम्म आइपुग्न कात्तिक १ गते काठमाडौँदेखि रुकुम पश्चिमसम्मको पच्चीस घण्टे यात्रा गरियो। रुकुमदेखि डोल्पा त्रिपुराकोटसम्म करिब आधा दर्जन जिपको कष्टकर जोखिमपूर्ण यात्रा पनि यही ताल हेर्नलाई त थियो। जाडोको के बहाना गर्नु जस्तो लाग्यो। डोल्पाको सुलीगाडदेखि यहाँसम्म तीन दिन लगातार हिँड्ने जोश पनि त यही तालले दिएको थियो।
“से–फुक्सुण्डोले रूप फेरिरहन्छ। घाम नलाग्दैको रूप, लागेपछिको रूप, त्यसपछि फेरि पनि अनेक अनेक रूप, घण्टौँ बसेर नियाल्नु है राम्ररी,” अनुभवीको सल्लाह थियो यो। सुन्दै आश्चर्य लाग्ने यो कुरालाई महसुस पनि गर्नु थियो। होटलदेखि पाँच मिनेटको दूरीमा थियो ताल। बिहानको ७ बज्दा नबज्दै हामी रिग्मो गाउँ नियाल्दै अगाडि बढ्यौँ। ढुङ्गाको गारो लगाइएका प्रायः दुईतले घर, आँगनमा मोटामोटा दाउराको खलियो, घरमाथि छानामा फहराइरहेका लुङ्दार, कलात्मक बुट्टा खोपिएका काठका झ्याल भएका करिब पचहत्तर घर धुरी रहेछन् यहाँ। वरिपरिका पर्वत शृङ्खलाका चुचुरा हिउँले सेताम्य थिए भने परबाट कान्जिरोवा हिमालले पनि घुम्टो उघारिरहेको थियो। मनै हर्ने दृश्य थिए यी। प्रायः सबै घर होटल नै थिए। असोजदेखि चैतसम्म दुनै वा अन्य ठाउँमा गएर हिउँ छल्नुपर्छ भनेर अघि होटलका बहिनीले भनेको सम्झँे। हिमाली जीवनको जटिलता कहाँ सहज छ र ?
तालछेउ पुग्दा हामीजस्तै आन्तरिक पर्यटक छपक्कै भरिन लागेछन्। “दिदी ! भ्युपोइन्ट जान लाग्नुभएको हो कि ? हामी त्यतै जान लागेको,” हिजो बाटोमा आउँदा भेटिएका जाजरकोटका भाइले भने।
“नजाने हामी यहीँबाट हेर्छौं, कस्सिएर दुई घण्टा हिँड्ने जाँगर छैन।” हामी पुग्दा तालको पानी फेवातालको पानीजस्तै थियो। हिजो बेलुका यहाँ पाइला राख्नेबित्तिकै ताल हेर्न आएका थियौँ। आउँदा आउँदै हेरेको निलो पानी अहिले त फेरि यस्तो है ? हामी गफ गर्दै हिँड्दा एउटी शेर्पिनी आमाको आँगनमै आएछौँ। उनले मुसुक्क हाँसेर स्वागत गरिन्। उनको गाउँमा हामी आइपुग्दा शायद उनी भित्रदेखि नै खुसी होलिन्। “निलो पानी कतिबेला हुन्छ आमा ?” नमस्कार गर्दै जिज्ञासा राखेँ। “अब घाम लागेपछि बिस्तारै निलो हुँदै आउँछ। ऊ पर हेर्नु त किनारकिनार निलो निलो हुँदै आएको छ नि।”
“ए हो त है ?” तालको यो विचित्र दृश्यले मन रोमाञ्चित भयो। एकछिन उता पाल शेन गुम्बातिर जाऊँ, त्यतिञ्जेल घाम पनि लागिसक्छ अनि यता घुमौँला हामीले सल्लाह ग¥यौँ। रिग्मो गाउँ हेर्दै हेर्दै ताललाई किनार पारेर पूर्वपट्टि लाग्यौँ। बाटोमा चर्दै गरेका चौँरी हाम्रो आगमनले तर्सिएजस्ता पो देखिए। हामी जति जति नजिक जान्छौँ, ती त्यति त्यति पर पो भाग्न थाले। तिनका समीप बसेर फोटो खिच्ने हाम्रो रहर पूरा भएन।
ठाउँ–ठाउँमा हामी टक्क अडिँदै प्राकृतिक सौन्दर्य नियाल्दै थियौँ। पहेँला र राता पात भएका थरी थरी वृक्ष अनि सल्लाका रुखले तालको सौन्दर्य अझ निखारेजस्तो लाग्यो। वरिपरि चट्टानी पहाडले ताललाई संरक्षण दिइरहेको थियो। कलाकारले कुँदेर बनाएजस्ता पहाडहरू मुसुक्क हाँसिरहेका थिए। अद्भूत प्रकृतिको वरदान यहाँ खनिएको थियो। करिब दस मिनेटजतिमा हामी गुम्बानजिक पुग्यौँ। ताल र गुम्बाका बारेमा धेरै तथ्य बुझ्न मन लाग्यो। स्थानीय व्यक्ति भेट्यौँ। उनीसँग केही भलाकुसारी भयो।
रारा तालपछि से–फोक्सुण्डो दोस्रो ठूलो ताल हो। नेपालको सबैभन्दा गहिरो ताल यही हो र यो तीन हजार ७४४ मिटरको उचाइमा अवस्थित छ। यो तालमा कुनै जलप्राणी छैैनन् भन्ने सुन्दा अझ बढी आश्चर्य लाग्यो। फेरि तालको पानीमा कहिल्यै हिउँ पनि जम्दैन रे ! प्रकृतिको अनमोल वरदान से–फोक्सुण्डोका बारेमा यति धेरै जानकारी पाउँदा हर्षविभोर भयौँ। प्राकृतिक सम्पदामा हामी कति धनी छौँ। से–फोक्सुण्डो, रारा, तिलिचो, फेवा, वेगनासलगायत दर्जनौँ ताल, विभिन्न हिमताल अनि अन्य प्राकृतिक सौन्दर्यका खानी कति कति तर पनि हामी किन यस्ता मगन्ते ? किन सधैँ हामी विकासमा पछि ? विश्वले किन हामीलाई हेप्छ ? गरिब मुलुकको सूचीमा किन हामी परिरहन्छौँ ? निकै दुःख लाग्यो देशको दुरवस्था सम्झेर। तत्काल केही कायापलट हुने सम्भावना पनि नदेखेर फेरि छातीमा देश दुख्यो। आँखामा आँसु भरियो। “तिमी नेपाली सुनको थाल लिएर माग्न हिँडेका छौँ” भनी विदेशीले कहाँ त्यसै भनेका हुन् र !
यस क्षेत्रको धार्मिक आस्था, विश्वास र प्रकृतिको ऐतिहासिक सम्पदाको द्योतक रहेछ यो गुम्बा। संसारकै पुरानो बोन धर्म यहाँका मानिसले मान्दा रहेछन्। रिग्मो गाउँको आस्थाको केन्द्र मानिने साझा गुम्बा रहेछ यो। से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको बहुमूल्य सम्पदा रहेको तालनजिकैको यो गुम्बा निकै पुरानो पनि हो रे। डोल्पा जिल्ला प्राकृतिक सम्पदाका हिसाबले अत्यन्त धनी छ। यार्सागुम्बा, चिराइतो, जटामसी, पाँचऔँले, बोदो, अन्तिस, पदमचाल, भोटेखयरलगायत अनगिन्ती जडीबुटी पाइन्छन् यहाँ तर हालसम्म सडक सञ्जालसमेत जोडिन नसक्दा जनता निराश छन्। राज्यसत्ताको नेतृत्व वर्गप्रति अत्यन्त खेद छ उनीहरूलाई। तपाईंहरू काठमाडौँदेखि आउनुभएको रहेछ। डोल्पाको विकास गरे समग्र देशकै मुहार फेरिन्छ भनेर भनिदिनुस् है, उनले भावुक हुँदै भने। आफ्नो आवाज मोबाइलमा अडियो रेकर्ड भएको देखेर केही आशावादी भएका होलान्।
“ओहो ! यहाँबाट त ताल झन् सुन्दर देखिने रहेछ,” साथीहरूको मुहार अझै उज्यालियो। पहाडका अनेक कोण र खोँचमा बगेको निलो पानीले तालको भव्यतालाई निखार्ने रहेछ। घुम्दै घुम्दै हामी वरिपरि हिँडिरह्याँै। कुनै तपस्वीले एकटकले ताल नियालेजस्तै देखिने रहेछ गुम्बाबाट हेर्दा। से–फोक्सुण्डो तालमाथि नै झैँ गरी एउटा रुखमा बसेर फोटो खिचेको दृश्य सामाजिक सञ्जालमा देखेकी थिएँ। त्यो रुख त गुम्बाकै अगाडि बसेर हाम्रै स्वागतमा मुस्कराइरहेको पो रहेछ। धेरै पुरुष मित्र रुखमाथि चढ्दै फोटो खिच्दै गर्नुभएको थियो। ज्यानै हत्केलामा राख्ने दुस्साहस हामीले गरेनौँ। मनले त यो ठाउँ छोड्न मानेको थिएन तर हामीसँग त्यति धेरै समय कहाँ थियो र ?
बिहान सात बजे तालमा आएका हामी मध्याह्नको ११ बजेछ। तालको पानी अब भने राम्रैसँग निलो देखिएको थियो। अति सुन्दर दृश्य थियो यो। स्थानीयको पहलमा तालकै छेउछाउ वाईफाई जोन रहेछ। सौर्य ऊर्जाले चल्ने यो सुविधाको उपयोग गर्न बिर्सिने त कुरै भएन। हामीले पालैपालो फेसबुक लाइभ ग¥यौँ। दर्जनौँ साथीले लाइक र कमेन्ट गरेर उत्तिकै हौसला दिनुभयो। आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न स्थानीय कति चिन्तित रहेछन् भन्ने कुरा पर्यटकलाई इन्टरनेटको सुविधा दिन खोजेको उदाहरणले पनि छर्लङ्ग पार्दथ्यो। “आमा, यो ठाउँका बारेमा केही बताइदिनु न ?” चाउरीले मुजैमुजा पर्न लागेकी एउटी आमासँग सोधेँ तर आमाले आडैका बुवालाई देखाइन्। बुवा त डोल्पाका इन्साइक्लोपिडिया जस्ता नै रहेछन्। डोल्पाको नामकरण कसरी रह्यो भन्नेदेखि लिएर एउटा रोचक किंवदन्ती नै सुनाए।
“के के फल्छ नि यो गाउँमा ?”
“आलु, उवा, जौ प्रशस्त फल्छ। भेडाबाख्रा, याक, चौँरी, नाक प्रशस्त छन्। तिनको दुग्ध उद्योग, जडीबुटी सङ्कलन र प्रशोधन गर्न सके मनग्गे आम्दानी हुन्थ्यो तर खै कहिले हुन्छ हाम्रो ठाउँको विकास ? बिरामी पर्दा अस्पतालको मुख देख्न हामीले कहिले पाउँछौँ ? हाम्रो चौँरी बिरामी परेर भकाभक मर्दा हामीलाई कति चोट लाग्छ। हाम्रा दुःख कति छन् कति। तपाईंहरू तालको सुन्दरता र हिमालको हिउँ मात्र देख्नुहुन्छ तर हाम्रो दुःख महसुस गर्न सक्नुहुन्न। पीडा छ हामीलाई,” बूढा बोल्दाबोल्दै भावुक देखिए। क्याराभानका नायक थिन्ले र से–फोक्सुण्डोमा चौँरी झरेको दृश्य सुटिङ भएको ठाउँ पनि उनले देखाइदिए। बाटोमा आउँदा थिन्लेलाई घोडाले खसालेको ठाउँ देखेनौँ ? उनले भने।
“देख्यौँ। उनको नाममा स्मारक पनि बनेको रहेछ।” यही माटोमा जन्मेर हुर्केर यहीँको बाटोमा अभ्यस्त बनेको मानिस घोडाबाट जोगिन नसकेर मर्नुपर्ने नियति सम्झेर मन कटक्क भयो। “मलाई साथीहरूले बोलाए बुवा, अहिले जान्छु एकछिन पछि फेरि बोल्न आउँछु है ?” भनेर उनीबाट छुट्टिएँ। उनले भनेका कुरा सोह्रैआना सत्य हुन्। ती कुरासँग मेरो पनि पूर्ण सहमति छ तर हामी निरीह जनता के गर्न सक्छौँ र ? देश हाँक्ने मानिसले गर्नु प¥यो समस्याको समाधान। हेलिकप्टरमा सिधैँ ताल आउने। “आहा ! ताल” भन्ने र फोटो खिच्ने जाने गर्न भएन। मनमनै यिनै कुरा गम्दै तालको छेउमा पुगेँ।
साथीहरूले कविता भन्दै भिडियो खिच्दै थिए। मैले पनि त्यो सुवर्ण अवसर गुमाउन चाहिनँ। तालमा परेको इन्द्रेणीले अपूर्व दृश्य प्रतीत भइरहेको थियो। प्रकृतिको अनमोल वरदान रहेछ यो भन्ने लाग्यो। हामी आजै फर्कने योजनामा थियौँ। करिब पाँच घण्टा तालमा घुुमेर फर्कनै लाग्दा एक जना भाइ घोडाको बगाल लिएर बाटोमा हिँड्दै थिए। “ल भाइ हामी ताललाई साक्षी राखेर घोडा चढ्छौँ र पारिश्रमिक पनि दिन्छौँ” भनेपछि चारै जना पालैपालो घोडा चढ्यौँ र दुई सय रुपियाँ हातमा राखिदियौँ। खुसी भए भाइ। घोडा चढ्ने धोको पनि हाम्रो पूरा भयो। होटलमा फर्र्किएर खाना खायाँै र हिँड्ने तरखरमा लाग्यौँ। होटलका बहिनीले खादा लगाएर बिदाइ गरे। अन्तिम पटक ताललाई होटलको छतमा उक्लेर फेरि हे¥यौँ र बाईबार्ई ग¥यौँ। अलिकति वर आउँदा प्राथमिक स्कुल रहेछ। शिक्षकसँग परिचय भयो।
कक्षाभित्र पसेर दस जनाजति विद्यार्थीसँग बोलियो। कक्षा एकदेखि चारसम्मका सबै विद्यार्थी संयुक्त कक्षामा रहेछन्। चकलेट दियौँ, खुसी देखिए। तानमा कपडा बुनिरहेकी एउटी दिदी तान रोकेरै हामीसँग बोलिन्। खानेकुरा के दिऊँ के दिऊँ भयो। झोलाभित्र हात हालेँ, केही बदाम, काजु र किसमिस फेला पारेँ। खुसी भएर हात थापिन्। यी र यस्तै सुखद अनुभूति बटुलेर तल झर्न लाग्यौँ। उकालो उक्लँदाको सास्ती ओर्लंदा कहाँ हुन्थ्यो र ! से–फोक्सुण्डोको साक्षी बन्दै, उसको माया छातीभरि सजाएर ‘से फोक्सुण्डो झरना’ आइपुग्दा लेखक तथा पर्यटनविद् कर्ण शाक्यको पुस्तक ‘डोल्पो द हिडन प्याराडाइज’ सम्झिएँ। नेपालको सबैभन्दा अग्लो र ठूलो झरना भनेर उल्लेख गरेको कुरा स्मृतिमा पुनर्ताजगी भयो। यो अनुपम दृश्यलाई आँखा झिम्म नपारी हेरिरह्यौँ। रेँची पुगेर बास बस्ने योजना थियो। हिँडाइलाई सुस्त बनाउन पनि भएन भनेर झरनासँग पनि बिदा भयौँ र ओर्लियौँ डोल्पाली बाटोका घुम्ती छिचोल्दै।
गोरखापत्रबाट