काठमाडौं । मुलुकमा बढ्दै गएको सहरीकरणसँगै हाम्रो भान्सामा पनि आधुनिकताले प्रवेश पाएको छ। विज्ञापनको प्रभाव र देखासिकीले गर्दा हाम्रा अर्गानिक खाद्यवस्तु छाडेर झिलिमिली अखाद्य पर्दाथतिर समाज लोभिँदै गएको छ। परिणामः स्वास्थ्य जोखिममा पर्दै गएको छ।
त्यसैले हाम्रो मौलिक पूर्वीय सभ्यताअनुसार भान्छा संस्कृति पुर्नजागरण गराउने उद्धेश्यले ‘भान्सा सुधार अभियान, नेपाल’ सक्रिय भएको छ। भान्से कविता दाहालको परिकल्पना एवम् नेतृत्वमा सञ्चालित अभियानको मुल मन्त्र नै ‘भान्सा पहिलो अस्पताल, भान्छे उत्कृष्ट बैद्य’ हो।
‘पूर्वीय सभ्यताअनुसार प्रकृतिको सम्मान गर्ने हाम्रो जुन संस्कार छ त्यो मानवमैत्री र पर्यावरणमैत्री छ’, दाहाल भन्छिन्, ‘तिनको जर्गेना गर्दै सुख, शान्ति, समृद्धि र आनन्द प्रदान गर्ने हाम्रो अभियानको मुख्य उद्धेश्य हो।’
भान्सा स्वस्थकर हुनुपर्छ, रोगको मुहान बन्नु हुँदैन। उनको लक्ष्य ‘हरेक मानिसलाई भान्से र हरेक भान्सेलाई उत्कृष्ट बैद्य बनाउने’ हो।
‘गाई, माई र माटोको सम्मान गर्नु हाम्रो उद्धेश्य हो’, उनी भन्छिन्, ‘सुन्दर, शान्त र विशाल राष्ट्र निर्माण गर्न यी संस्कृतिले टेवा पुग्ने भएकाले हामीले यो अभियान शुभारम्भ गरेका हौं।’
अभियानले स्वस्थ खाना, स्वस्थ पानी, स्वस्थ भाँडावर्तन, विरुद्ध भोजनका बारेमा सचेतना कार्यक्रम चलाउँदै आएको छ। यस्तो कार्यक्रममा व्याबहारिक अभ्यास समेत गराइन्छ।
डेढ वर्ष भयो अभियान सुरु भएको। अभियानले विभिन्न ठाउँमा सचेतना कार्यक्रम चलाइसकेको छ। सरकारी निकाय र संघसंस्थासँग समन्वय गरेर झापा, मोरङ, सुनसरी, महोत्तरी, सिन्धुली, मकवानपुर, पोखरा र सुर्खेतमा कार्यक्रम गरिसकेको छ।
कसरी जन्मियो त भान्सा सुधार अभियान ?
आफ्नै सासूआमा बालकुमारी अधिकारीबाट प्रेरित भएर उनले अभियानको परिकल्पना एवम् नेतृत्व गरेकी। आज बालकुमारी छैनन्, ११ वर्ष भयो उनले छाडेर गएको। उनीसँगको नौ वर्षे सहकार्यबाट कविताले धेरै ज्ञान बटुलिन्।
‘सासूआमा अथाह ज्ञानको भण्डार हुनुहुन्थ्यो’, उनी सम्झिन्छिन्, ‘अझै धेरै कुरा सिक्न बाँकी हुँदाहुँदै उहाँ स्वर्गमा जानु भयो।’
उनले माइती र मावलीबाट पनि पूर्वी सभ्यताको ज्ञान पाएकी थिइन्। ‘बिहे भएर घरमा आइसकेपछि सासूआमाबाट व्याबहारिक ज्ञान पाएँ’, उनले भनिन्, ‘मेरो घर नै मेरो विश्वविद्यालय बन्यो। त्यसको उत्कृष्ट प्राध्यापक सासूआमा बन्नु भयो।’
तिनैप्रतिको सम्मान दर्साउँदै उनले एउटा पुस्तक लेखेकी छिन्, ‘स्मृतिभित्र सासू र भान्सा’। यही भदौ ९ गते काठमाडौंमा गीतकार गणेश रसिक र केशवानन्द स्वामीका हातबाट पुस्तक लोकापर्ण गरियो।
‘सासूआमाबाट पाएका पात्रोमा लेखिएका भान्साका संस्कृति र शास्त्रीय मान्यताका कुराहरू जसले संस्कारी बनाउँछ, तिनै उपदेश, तिनै प्रेरणा यस पुस्तकमा समेट्ने प्रयास गरेकी हुँ’, उनले भनिन्। उनको अभियानमा धेरैको साथ छ। अभियानका उपाध्यक्ष देवीप्रसाद पाण्डे ‘दिपक’, सचिव सुरेश घिमिरे र कोषाध्यक्ष प्रमोद सिग्देल छन्। त्यस्तै दुई प्रशिक्षकमा चिकित्सक दिपक वाग्ले, डा. राजेन्द्र न्यौपाने छन् भने सदस्यहरूमा लक्ष्मी दाहाल, किशोरकुमार दाहाल, सुरेन्द्र रिमाल, गोपाल सिवाकोटी, भेषराज मानन्धर र लक्ष्मी शर्मा दाहाल छन्।
संस्थाको सल्लाहकारहरूमा डा. हरिप्रसाद पोखरेल, डा. राजु अधिकारी, कुलराज चालिसे शर्मा, वैज्ञानिक नारायण घिमिरे, पत्रकार जीवराम भण्डारी, ज्योतिषी दुर्गा दाहाल, डा. लक्ष्मीनारायण सिंह र कुबेरजंग थापा छन्।
अभियन्ता दाहाल साहित्यकार पनि हुन्। उनी गीत, कविता र भजन लेख्छिन्। उनका तीन ओटा गीत रेकर्ड भैसके। भान्सा सुधार सम्बन्धी, आधुनिक र भजन गीत। केही भजन र आधुनिक गीत रेकर्डिङको चरणमा पनि छन्।
उदयरपुरको लेखानीमा जन्मेर कटारीमा हुर्केकी कविता स्थानीय त्रिवेणी माध्यमिक विद्यालयमा पढ्दापढ्दै साहित्य सृजना लागेकी। आफ्नो पहिलो कविता मुना पत्रिकामा छापिएपछि प्रेरित भइन्। साहित्यकार कृष्ण शाह ‘यात्री’, गुरु विश्वराज ढुङ्गानालगायतको गुन उनी कहिल्यै बिर्सन सक्दिनन्।
आजभोली उनी भक्तपुरमा बस्छिन्। उनका तीन ओटा पुस्तक प्रकाशनका लागि तयार छन्। त्यसमा पनि एउटा चाहिँ विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउने पाठ्यपुस्तक हुनेछ।