पोखरा। भुइँमान्छेको कथामा आधारित जानुका खतिवडाद्वारा लिखित उपन्यास ‘आतोओडा’ पठनिय भएको टिप्पणी गरिएको छ। सरल भाषामा सहज एवम् मिठोसँग लेखिएको भन्दै शनिबार पोखरामा तारिफ गरिएको हो।
पुछारसिटे अभियानले आयोजना गरेको परिचर्चा कार्यक्रमका वक्ताहरूले सीमान्तकृत सन्थाल समुदायको विषय उठान गरेकामा उपन्यासकारलाई धन्यवाद दिए।
‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको’ भन्ने आन्दोलनबारे जानकारी नलिई यो उपन्यास पढ्दा त्यसले बुझाइ अपूर्ण हुन्छ’, कार्यक्रममा समीक्षक डा. ईश्वरमणि अधिकारीले भने, ‘दिव्या कोइराला, विपी कोइराला, जगन्नाथ आचार्य, भीमदत्त पन्त लगायतले चलाएको भूमिसुधार आन्दोलनको प्रभाव सन्थाल समुदायमा पर्न नसक्नु बिडम्बना हो।’
सन्थाल जातिको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको समग्र जीवनसङ्घर्षको गाथा नै ‘आतोओडा’ भएको उनले बताए। सन्थाल समुदायबाहेकका उपन्यासका अन्य पात्रले सन्थाललाई दुःख दिने गरी मात्रै प्रस्तुत गरिएको बताउँदै मुख्य पात्र फूलमुनि सुरुमा हठी देखिए पनि परिस्थितिसँग सम्झौता गरेको देखाइएकोमा असन्तुष्टि व्यक्त गरे।
आत्मिक, अलौकिक, बाध्यात्मक, घरजमलगायतका प्रेमका विविध रूपको चित्रण उपन्यासमा भएको छ। उनले सन्थाल जातिलाई मान्छे कम काम गर्ने मेसिन बढी भएको यथार्थ उपन्यासमा भेटिने विचार व्यक्त गरे। अधिकांश पात्र निरीह बनाइएकामा उनले असन्तुष्टि जनाए।
पुस्तकमाथि अर्की परिचर्चाकार हसिना बस्नेतले झोडा फाँडेर बसेका सन्थालका पुर्खाले औलो र जङ्गली जनावरको आक्रमण सहेर सभ्यता निर्माण गरेका तर राज्यले तिनको अस्तित्वसमेत स्वीकार गर्न नसकेको यथार्थ उपन्यासले बोकेको सुनाइन्। सामाजिक यथार्थवादी धाराको उपन्यासमा फूलमुनि र बुधिनका माध्यमबाट सन्थाल समुदायको जीवनशैली प्रस्तुत गरेको बताइन्।
राज्यका कर्मचारीले सन्थाल समुदायलाई हेपेको देखाएर तमाम सीमान्तकृत वर्गलाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको उल्लेख गरिएको सुनाइन्। आञ्चलिक भाषाको हरक उपन्यासमा पाइने र कथा शैलीलाई अलिकति सनसनीपूर्ण र खोजमूलक बनाउँदा अझ सुन्दर हुनेतर्फ सङ्केत गरिन्।
उपन्यासकार खतिवडाले आफूले शोधपत्रका लागि अध्ययन गर्न जाँदा सन्थाल समुदायको जीवनबाट प्रभावित भएको र समयक्रममा उनीहरूको जीवनकथालाई औपन्यासिक स्वरूप प्रदान गरेको बताइन। कार्यक्रममा डा. अशोक थापा, अग्रज साहित्यकार सरुभक्त, समीक्षक सञ्जीव पौडेल, कवि श्रीराम अधिकारी ‘गोर्जे’ र कवि सुरज उपाध्यायले पनि सम्बोधन गरेका थिए।