काठमाडौं । भारतीय सेनाबाट निवृत्त भएसँगै साहित्य सृजनामा ‘फुलटाइमर’ बनेका पोखरेली कवि अमृत क्षेत्रीको जीवनदर्शन समेटिएको पुस्तक ‘यादको कोलाज’ सार्बजनिक भएको छ।
भारतीय सेनामा जागिरे हुँदाका आरोह तथा अवरोहहरूको संगालो हो उनको पुस्तक। यसमा विगतका घटनाक्रमको टिपोट मात्र छैन, तिनले हृदयमा जन्माएका भावमाथिको दार्शनिक लेपन पनि गरिएको छ। कलात्मक शैलीमा लेखिएको पुस्तक पठनिय छ।
उनले २० वर्षको उमेरमा भर्ति भएर वैंसका ऊर्जाशील १६ वर्ष भारतीय सेनामा विताएका थिए। उनले भने, ‘सेनामा भएका बेला काश्मीर, हिमाञ्चल, केरला, जम्बु आदि धेरै क्षेत्रमा काम गर्न पुगें। त्यहाँका प्रसंग मात्र होइन, बिदामा जन्मथलोमा फर्कंदा सँगालिएका अनुभूतिहरू पनि लेखेको छु।’
उनका पुस्तक विभिन्न १२ ओटा खण्डमा बाँडिएको छ। माया प्रकाशनले छापेको ‘यादको कोलाज’ कलिङ साहित्यिक महोत्सवका अवसरमा शुक्रबार ललितपुरको हिमालय होटलमा सार्बजनिक गरिएको हो। नेपाल ऋषि जगमान गुरुङ, प्राध्यापक वीणा पौड्याल, भारतीय अर्थशास्त्री डा. विवेक देवरोंय, लेखक कमलकान्त दास र कृतिकार अमृतले संयुक्त रूपमा पुस्तक लोकापर्ण गरेका हुन्।
यसअघि वि.सं. २०७८ मा उनको कविता सङ्ग्रह ‘एकान्त भिड’ प्रकाशित भैसकेको छ। उनी भ्याएसम्म साहित्यिक गतिविधिमा सक्रिय हुन्छन्। धेरैभन्दा धेरै स्रष्टाहरूसँग संगत बढाउनु र घुमफिर गर्नु पनि उनको रुचिको विषय हो।उनी पोखरामा बस्छन्। उनको पुख्र्यौली थलो मोदी गाउँपालिका–६, गिज्यान गाउँ हो जुन पर्वत जिल्लामा पर्दछ। पर्वतकै तिलहारमा रहेको नवजागृत मा.वि.मा कक्षा ११ मा पढ्नेताका नै उनले कविता लेखनयात्रा सुरु गरेका। विशेषतः कविता र लघुकथा लेख्छन्।
सकारात्मक सोचका धनी अमृत विभिन्न संस्थामा संलग्न छन्। उनी लघुकथा प्रतिष्ठान पोखराका सचिव र नेपाली लेखक सङ्घ, गण्डकीको सचिवालय सदस्य हुन्। साथै ‘पुछारसिटे अभियान’ पोखरामा पनि उत्तिकै सक्रिय छन्। ‘दालभात खान र कारमा तेल हाल्न त पेन्सनबाट पुगिहाल्छ’, भबिश्यका बारेमा ४० वर्षे लाहुरे कवि भन्छन्, ‘बाँकी जीवन साहित्यको सेवा र मुलकभित्र घुमफिरमा विताउने छु।’