श्री एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने गरी ८० सिट क्षमताका दुई जहाज थपेको छ। त्यससँगै श्रीसँग ‘फिक्स्ड विङ’ आठ र हेलिकोप्टर संख्या आठ पुगेको छ।
थपिएका नयाँ जहाज अन्तर्राष्ट्रिय उडानका लागि पनि उपयुक्त मानिन्छन्। ‘डी हेभिल्यान्ड एयरक्राफ्ट अफ क्यानाडा’मा निर्मित ‘ड्यास ८ क्यू ४००’ मोडलका दुई जहाज उक्त एयरलाइन्सले थप गरेको हो। यसअघि सोही मोडलका दुई जहाज श्री एयरलाइन्सले आन्तरिक गन्तव्यमा उडाउँदै आएको छ। ती जहाजमा ‘पीडब्लू १५० ए’ मोडलका ‘टर्बो टाइप’ इन्जिन छन्।
थपिएका दुई जहाजमध्ये एउटाले ‘९ एन- एएनआर’ र अर्कोले ‘९एन- एएनएस’ कलसाइन पाएका छन्।
त्यसबाहेक श्री एयरलाइन्ससँग ‘सीआरजे २००’ मोडलका दुई र ‘सीआरजे ७००’ मोडलका दुई जहाज छन्। ‘सीआरजे २००’ ५० सिट क्षमताको जहाज हो। यस्तै, ‘सीआरजे ७००’ मा ७० सिट हुन्छन्।
श्री एयरलाइन्ससँग ‘एमआई १७’ मोडलका ६ हेलिकोप्टर छन्। तीन हेलिकोप्टरमा २४ सिट हुन्छन् र एकपटकमा चार हजार किलो कार्गो बोक्न सक्छन्। यस्तै, ‘एएस ३५० बीथ्रीई’ मोडलका दुई हेलिकोप्टर पनि श्रीले उडाउँदै आएको छ।
२०५५ सालमा स्थापित यो कम्पनीले ०५६ सालदेखि ‘एमआई १७’ हेलिकोप्टरबाट मुलुकका विकट र दुर्गम क्षेत्रमा खाद्यान्न, निर्माण सामग्री र उपकरण ढुवानी तथा हवाई यात्रुलाई सेवा दिँदै आएको छ। सन् २०१० देखि आफ्ना ‘एमआई १७’ हेलिकोप्टरलाई संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसन र विश्व खाद्य कार्यक्रमका अन्तर्राष्ट्रिय चार्टर उडानमा पनि प्रयोग गर्दै आएको छ, श्री एयरलाइन्सले। त्यसरी अन्तर्राष्ट्रिय उडान अनुमति लिने र सञ्चालन गर्ने यो पहिलो कम्पनी हो।
सन् २०१७ देखि ‘सीआरजे २००’ र ‘सीआरजे ७००’ मोडलका जहाजहरू मार्फत श्री एयरलाइन्सले आन्तरिक उडान थालेको हो। कम्पनीले भद्रपुर, धनगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज र राजविराज विमानस्थलमा नियमित उडान गर्दै आएको छ। यस्तै, ‘माउन्टेन फ्लाइट’मा पनि आफ्ना जहाज प्रयोग गर्दै आएको छ। थपिएका जहाजमार्फत संखुवासभाको तुम्लिङटार र सुर्खेत विमानस्थलमा उडान विस्तार गर्ने श्री एयरलाइन्सको योजना छ।