काठमाडौं । केशवराज थोकर फोटो पत्रकारितामा स्थापित नाम। उनी विशेषतः न्युज फोटोग्राफी गर्छन्। दिनरात नभनी काममा खटिन्छन्। कहिले राजनैतिक घटनाक्रमका तस्बिर खिच्छन् त कहिले विपत्ती र महामारीका। दिनदिनै खिच्नु पर्ने भएकाले विषयमा विविधता हुन्छ। पछिल्लो समय उनी ‘फोटो कथा’मा काम गरिरहेका छन्।
कोभिड शान्त भैसकेको छ। त्यसको प्रभाव भने कायमै छ। कोभिडमा उनले खिचेका तस्बिरहरूको फोटो बुक बनाएका छन्, ‘लाइफ इन प्यान्डेमिक’।
उनले खिचेका दर्जनौं तस्बिर चर्चित छन्। १६ वर्षको पत्रकारिता जीवनमा उनले धेरैको स्याबासी पाए। स्वदेस तथा विदेसबाट केही पुरस्कार पनि पाए। एक समय उनले ‘फोटो पत्रकार क्लब नेपाल’को नेतृत्व पनि सम्हाले।
फोटो पत्रकारिताबाट के पाए त ?
‘नेपालका कतिपय घटनाक्रमलाई नजिकबाट नियाल्ने अबसर पाएँ। ‘त्यसैगरि सर्बसाधारणदेखि राज्य हाँक्नेहरूसँग पनि संगत गर्न पाएँ’, उनी भन्छन्, ‘म काममा यसरी रमाएँ कि १६ वर्ष वितेको पत्तै पाइनँ।’
उनले शान्ति प्रक्रियामा आएका माओवादी क्यान्टोनमेन्टमा बसिरहेका तस्बिरदेखि राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट बाहिरिँदै गरेका तस्बिरसम्म खिच्न भ्याए। त्यसैगरि गणतान्त्रिक नेपालका राष्ट्रपति रामवरण यादव, विद्यादेवी भण्डारीसम्मका तस्बिर खिचे। अनि १२ वैशाख २०७२ को भुइँचालोदेखि कोभिड–१९ को महामारीसम्म आफ्नो क्यामेरामा कैद गरे।
केही समय अघि संसारलाई नै कोभिड–१९ ले सतायो। त्यतिबेला उनी घरभित्रै खुम्चिएर बसेनन्। कोभिडको प्रभावबारे तस्बिर खिचिरहे। अहिले कोभिड शान्त भैसकेको छ। तर, त्यसको प्रभाव कायमै छ। हिजो उनले खिचेका तस्बिरहरूको एउटा दस्तावेज बनाएका छन्, ‘लाइफ इन प्यान्डेमिक’।
उनले बनाएको दस्तावेज ‘फोटो बुक’ हो। यसमा त्यतिखेर शवहरू पशुपतिको खुला भुभागमा जलाएको, गभर्वती महिला आइसोलेसनमा बसेको, अक्सिजन नपाएर अस्पताल बाहिर बसेर उपचार गराइरहेको, फ्रन्टलाइनहरू आदिको फोटो कथा लेखिएको छ।
‘हामीले यसरी महामारी भोगेका थियौं भन्ने पस्किने प्रयास गरेको हुँ’, थोकर भन्छन्, ‘महामारीमा के भएको थियो भनेर फोटो बुकले सम्झनाउने छ।’
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४, भेडपु गाउँमा जन्मे÷हुर्केका थोकर हिजोआज काठमाडौंको बौद्धमा बस्छन्। उनको फोटो पत्रकारिता यात्रा ‘नेपाल समाचारपत्र’बाट सुरु भएको थियो। त्यहाँ दुई वर्ष काम गरेपछि उनले नागरिक दैनिकमा १३ वर्ष काम गरे। त्यसपछि ‘आयो मेल’ डिजिटल पत्रिकामा करिब एक वर्ष फोटो सम्पादकका रुपमा काम गरे। अहिले उनी प्रिलान्सरका रुपमा क्रियाशील छन्।
कडा मिहिनेत, धैय र विषयगत ज्ञानले काममा सफलता मिल्ने उनको अनुभव छ। पत्रकारले आफ्नो ज्ञानको दायरा बढाउनु पर्छ। डिजिटल पत्रकारिताको युगमा घरमै बसेर धेरैकुरा सिक्न र बुझ्न पाइन्छ।
‘सबैका हातहातमा मोबाइल फोन छ, सबैले फोटो खिच्न सक्छन्’, उनी भन्छन्, ‘फोटो पत्रकारले उनीहरूभन्दा फरक खुबी देखाउनु पर्छ। फोटो स्टोरीमा फोकस हुने। मल्टि मिडियाकर्मीमा रुपमा आफूलाई ढाल्नु पर्छ। हैनभने पेशामा टिकिरहन सकिँदैन।’
पत्रकारिता आफैंमा सजिलो काम होइन। त्यसमाथि फोटो पत्रकार सधैं फ्रन्टलाइनर बन्नु पर्छ। देशमा कुनै समस्या पर्दा वा महामारी आउँदा उनीहरू घरमै बस्छु भनेर सुख पाउँदैनन्। ‘त्यति मात्र होइन, चाडबाडमा समेत परिवारलाई समय दिन पाइन्न’, थोकर भन्छन्, ‘पहिला काम अनि परिवार।’
व्यावसायिक फोटोपत्रकारहरूका उपकरण धेरै हुन्छन्। गहुँगो भारी बोकेर हिँड्नु पर्छ। त्यसैले ६० प्रतिशत फोटो पत्रकारहरू ढाड दुख्ने समस्याबाट पीडित भएको उनले बताए। फोटो पत्रकारितामा समयको एकदमै महत्व हुन्छ। वितेको समय र छुटेको गोली फर्केर आउँदैन। त्यसैले यहाँ हरेक मिलिसेकेण्डको, हरेक निमेषको महत्व हुन्छ। बेलैमा तस्बिर कैद गर्न सकियो भने मात्र त्यो उत्कृष्ट बन्छ।
भबिश्यका योजना केके छन् त ?
समाजमा ओझेल परेका कथाव्यथालाई ‘फोटो कथा’ मार्फत् सार्बजनिक गर्दै जाने उनको योजना छ।
‘आवाजविहिनहरूको आवाजलाई भिज्युल स्टोरी मार्फत सार्बजनिक गर्नेछु’, उनले सुनाए, ‘बाँचुञ्जले क्यामेरा बोकेर हिँडिरहने छु।’
फोटो पत्रकारिता मार्फत समाज बदल्न हिँडेका यी युवालाई धेरैधेरै शुभकामना !
हेर्नुहोस् फोटोपत्रकार थोकरले खिचेका केही तस्बिरहरू