काठमाडौं। प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताको भण्डार सुदूरपश्चिम प्रदेश । त्यहाँका सम्पदाहरू राम्रोसँग उजागर भैसकेको छैन। सुदूरका कुनाकन्दरामा मुस्कुराइरहेछन् हिमालहरू। गुञ्जिरहेछन् डेउडाका झङ्कारहरू।
सभ्यता र संस्कृतिका विम्बहरू। तिनै समृद्ध सभ्यताका रङ्गहरू दुनियाँलाई चिनाउन हिँडेका युवा पत्रकार हुन्, वसन्तप्रताप सिंह।
दिनदिनै सबैले देखेका र अनुभूत गरेका विषयहरूलाई उनी फरक ढङ्गले हेर्छन्। मिहिन किसिमले विश्लेषण गर्छन्। सम्भावना र समस्या दुवै उजागर गर्छन्। उनको पत्रकारिताले सुदूरपश्चिमका विभिन्न पाटा उजागर गरिसकेको छ। आफ्नो जिल्ला बझाङलाई चिनाउने अभियानमा भर्खरै उनले फोटो पुस्तक पनि सार्बजनिक गरेका छन्, ‘साइपाल हिमाल।’
बझाङको साइपाल गाउँपालिका–३ मा पर्छ साइपाल (७,०३१ मिटर)। साइपालसँग कुम जोडिएर फिरानकोभ, दोङलिप, योकापहाड, रानी हिमाल, जेठी बहुरानी, सुनखानी, शंखमाला, चाँदेशिखर, गुदुपाल, व्याँसीमारेलगायतका हिमालहरू उभिएका छन्।
‘साइपाल हिमाल’ पुस्तकमा जनजीवन, संस्कृति, भुदृश्य र पर्वतीय जीवनका चित्र र जानकारी समेटिएको छ। रङ्गीन कलेबरमा प्रकाशित पुस्तक एक सय ३२ पेजको छ। पुस्तक साइपाल क्षेत्र चियाउने आँखीझ्याल बन्न सफल भएको छ। पर्यटक, पर्यटनकर्मी र नेपालप्रेमीका लागि सिंहले सुन्दर उपहार सुम्पेर गुन लगाएका छन्।
यतिमै सिमित छैनन् उनी, साइपाल हिमालको हुम्ला र बाजुरातिरको भूभाग समेत डुलेर त्यताका तस्बिर र जानकारीसहित चाँडै नै परिमार्जित संस्करण निकाल्ने उनको योजना छ।
उनले सुदूरका सबै हिमाल पहिचान गर्नु पर्ने आवाज उठाउँदै आएका छन्। ‘सुदूरपश्चिमका नौमध्ये तीन जिल्ला मात्र हिमाली हुन्, बझाङ, दार्चुला र बाजुरा’, उनी भन्छन्, ‘सुदूरपश्चिममा ५५ सय मिटरभन्दा अग्ला दुई सयभन्दा बढी हिमाल छन्। तर, आजसम्म ७१ ओटाको मात्र नामकरण भएको छ।’
सुदूरका अरु चर्चित हिमाल हुन्, अपी (७१३२ मिटर), ओम पर्वत, व्यास नाम्पा, कापुचुली, बब्बे आदि। आवश्क पूर्वाधार विकास गरि आरोहण र पदयात्राका लागि यी हिमाल खुला गरिनुपर्नेमा उनी जोड दिन्छन्।
जयपृथ्वी नगरपालिका वडा नं १ पिमि गाउँका सिंह कान्तिपुर पब्लिकेशन्सका पत्रकार हुन्। उनी गाउँगाउँमा पुगेर रिपोर्टिङ गर्छन्। खोजी पत्रकारितामा पनि रुचि राख्छन्। उनले सुदूरमा भएका थुप्रै बेथितीको भण्डाफोर गरिसकेका छन्।
यतिवेला उनी केन्द्रीय राजधानी काठमाडौंमा छन्। नेपाल पर्वतारोहण संघको वार्षिक साधारण सभामा बिहीबार उनको पुस्तक ‘साइपाल हिमाल’ लोकापर्ण गरियो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटन मन्त्री सुदन किराँती, पूर्व पर्यटन मन्त्री याङ्किला शेर्पा र संघका अध्यक्ष निमानुरु शेर्पालगायतले पुस्तकको घुम्टो उघारेका हुन्।
पुस्तकको प्रकाशन ललितपुरको म्याप हाउसले गरेको हो भने पर्वतारोहण संघ, साइपाल गाउँपालिका र कैलास मिडिया प्रालीले सहयोग पुर्याएका छन्।
पुस्तकबाट साभार केही तस्बिरहरु: