सौराहा। एक समय थियो बर्खा लाग्नेवित्तिकै सौराहा बन्द हुन्थ्यो। अर्थात् सौराहाका होटल तथा रेष्टुराँ बन्द गरिन्थे। बर्खा सकिएपछि मात्र पर्यटकीय सिजन सुरु हुन्थ्यो। अहिले समय फेरिएको छ, वर्षैभरी खुल्छ सौराहा। मनसुनमा पर्यटकको संख्या भने थोरै हुन्छ।
हरियालीमा आँखा शितल बन्छन्। फोटोग्राफी पनि राम्रो हुन्छ। त्यसैले जंगल सफारी, बोटिङ र सांस्कृतिक कार्यक्रममा रमाउन जाने होइन त सौराहा ?
खासमा चितवन जिल्लाको सौराहा ‘वाइल्ड लाइफ डेष्टिनेशन’ हो। यहाँका सामुदायिक वन तथा चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावर, चराचुरुङ्गी आदि अवलोकन गर्न पाइन्छ। तीन ओटा सांस्कृतिक भवनमा थारू संस्कृतिमा झुम्न पाइन्छ। त्यस्तै सूर्यास्त दर्शन, डुंगा शयर र हात्ती सफारीमा रम्नु त छँदैछ।
मनसुनी याम भउकाले पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज भने खुला भैसकेको छैन। त्यसैले व्यवसायीहरूले कुमरोज सामुदायिक वनमा जीप सफारी र बाघमारा सामुदायिक वनमा हात्ती सफारी गराउँदै आएका छन्। त्यसैगरि हात्ती प्रजनन केन्द्रमा छावा हेर्न पाउँदा पर्यटक रमाउँछन्।
सौराहामा एसी र स्विमिङ पुल सुविधा भएका होटल तथा रिसोर्टको कमि छैन। दिनदिनै आधुनिक होटल खुल्ने क्रम जारी छ। चितवनका पर्यटनविज्ञ एवम् सौराहाका होटल व्यवसायी सुमन घिमिरे भन्छन्, ‘आजका दिनमा यहाँ ७५ सय बेड पुगिसक्यो। कोठा थपिनेक्रम जारी छ।’
सामुदायिक वनमा ठाउँठाउँमा जनावर हेर्न मचान बनाइएको छ। यस्ता मचानमा रात विताउने प्याकेज पनि पाइन्छ। पछिल्लो समय मचानमा रात विताउने पर्यटक सङ्ख्या बढ्दै गएको घिमिरेले बताए।
हरियाली मन पराउनेका लागि मनसुन उपयुक्त मौसम हो। हरियालीमा आँखा शितल बन्छन्। फोटोग्राफी पनि राम्रो हुन्छ। त्यसैले जंगल सफारी, बोटिङ र सांस्कृतिक कार्यक्रममा रमाउन जाने होइन त सौराहा ? निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ सौराहा। निकुञ्ज एक सिंगे गैंडा, बाघ र थरिथरिका चराका लागि प्रख्यात छ। अरू जनावर पनि देखिन्छ।
राप्ती नदी किनारमा उत्तर–दक्षिण फैलेको छ सौराहा बजार जहाँ छन् होटल, लज, रिसोर्ट र रेस्टुराँ।
साँझ राप्ती किनारमा बसेर सूर्यास्त दृश्य दृश्यावलोकन गर्न सकिन्छ। बिहान जंगल वाक, हात्ती सफारी र डुँगा चढ्नु बेस हुन्छ। सौराहा यात्रामा सङ्ग्रहालय अवलोकन गर्न छुटाउनु हुँदैन। यहाँ आखेटोपहार र थारू संग्रहालय पनि छन्। सौराहाका आदिबासी थारु जाति। उनीहरूले यहाँका होटल तथा सांस्कृतिक केन्द्रमा नाचगान देखाउँछन्।
सौराहाको पर्यटन इतिहास चार दशक लामो छ। नेपाल सरकारले वि.सं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज बनायो। त्यसपछि यहाँ पर्यटकीय गतिविधि सुरु भएका हुन्। यहाँका होटलमा एक हजारदेखि बाइस हजार रुपैयाँ मूल्यका कोठा पाइन्छन्। बजारका होटल तथा ट्राभल कम्पनीले प्याकेज बेच्छन्। प्याकेज किनेर घुम्दा सजिलो हुन्छ।
फर्कंदा स्थानीय बजारबाट काठबाट बनाइएका गैंडा, हात्ती र गोहीका प्रतिमा, टिर्शटलगायत हस्तकला कोसेली ल्याउन नबिर्सनुस् है!
कसरी पुग्ने ?
काठमाडौं–सौराहा १६५ किलोमिटर, बसमा ५ घन्टा। अथवा काठमाडौं–भरतपुर १८ मिनेट हवाई यात्रा। भरतपुर–सौराहा १८ किलोमिटर, बसमा २० मिनेट।
स्वागतम्
मनसुनी याम भएकाले सौराहा शान्त छ। पर्यटक कम छन्। घुम्नका लागि बर्खामास पनि उपयुक्त हुन्छ। चारैतिर हरियाली छ। यतिवेला जङ्गली जनावर र चराचुरुङ्गीको दृश्य राम्रो देखिन्छ। होटलहरूमा डिस्काउन्ट पनि पाइन्छ। त्यसैले सबैलाई सौराहा घुम्न अनुरोध गर्दछु।
सम्पर्क: ९८५१००८३९९