रोल्पा। बहुउपयोगी जडीबुटी पदमचाल (चुल्ठे) रोल्पालीको आयआर्जनको माध्यम बन्दै गएको छ। सुनछहरी गाउँपालिकाको जेलबाङ, गामलगायतका तीन सयभन्दा बढी किसानले यसको व्यावसायिक खेती गर्दै आएका छन्।
केही वर्ष अघिसम्म प्रति नम्बरी (५ केज= १ नम्बरी) १५ सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्रि हुन्थ्यो। ‘अचेल नम्बरीको एक हजारदेखि १५ सय रुपैयाँसम्ममा बिक्छ’, डम्फु गाउँका किसान गज पुनले भने।
अर्का किसान बनसिंह बुढामगरकाअनुसार केही वर्ष अघिसम्म यस क्षेत्रका किसानले एक पटकमा एक घर बराबर २/३ क्विन्टलसम्म संकलन गर्थे। यहाँका शुल्कबाङ, भागतरे, डम्फुका सबै ७५/८० घरपरिवारले पदमचाल खेती गरिरहेको उनले बताए। उनले पनि दुई रोपनी जमिनमा खेती गरेका छन्।
बर्खामा पदमचाल संकलन गरिन्छ। ‘मेरो फर्ममा अहिले दुई देखि तीन क्विन्टलसम्म उत्पादन हुन्छ’, बुढामगरले भने, ‘यसलाई एक मुष्ट बेच्दा तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’
व्यवस्थित ढङ्गले खेती गर्न सकेमा थोरै जमिनबाट राम्रो आम्दानी लिन सकिने किसान कृष्ण बिकको भनाई छ। ‘पछिल्लो समय पदमचालमा ढुसी लाग्नेलगायतका रोग देखिन थालेको छ’, उनले भने, ‘गानोमा समस्या नभए पनि बोट भने ढुसीले मर्छ।’
बिरुवा उम्रिएको एकदेखि दुई वर्षमा पदमचाल फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सय ओटासम्म बिरुवा उम्रिन्छन्।
पछिल्ला वर्षमा मूल्यमा गिरावट आए पनि किसान निरुत्साहित भएका छैनन्। सुनछहरी गाउँपालिका–२ भित्री गामका किरण बुढामगर भन्छन्, ‘पदमचाल खेतीमा हामी उत्साहित भएर लागेका छौँ। मूल्य सुधार होला भन्ने आशा छ।’
पदमचाल २१ सय मिटर उचाईभन्दा माथि पाइने जडीबुटी हो। यसको बिरुवा एक देखि दुई मिटरसम्म अग्लो हुन्छ। जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ। यसबाट सुगन्धित वासना पनि आउँछ।