दोलखाको जिरी बजारबाट ३ किलोमिटर दूरीमा रहेको जिरेश्वर महादेव हरियाली जंगल बिचमा विशाल ओढारमा छ।
विशाल ओढारका ढुंगाहरू प्राकृतिक तरिकाले कुँदिएका छन्। परापूर्वकालमा एक जना किसानले धेरै गाई पालेका थिए रे। दिनमा गाई चरनमा जाँदारहेछन्। बेलुकी सबै गाई आफैं गोठमा फर्किदारहेछन्। तर एउटा गाई सधैं ढिला आउने र दूध पनि नदिने रहेछ।
अनि किसानले किन दूध दिँदैन भनेर एक दिन त्यहीँ गाईलाई पछ्याउँदै जाँदा त्यहाँ ओढारमा गाई गएर त्यहाँको कुण्डमा दूध चढाएको देखेपछि वरिपरि उत्खनन गर्दा महादेव प्रकट भएको जनविश्वास रहेको छ।
त्यसपंछी कृषकले त्यहाँ गएर पूजा गर्दा बालीनाली एकदम राम्रो हुने र पशुपंक्षी पाल्दा फलिफाप हुने विश्वास छ। पानी नपरेर खडेरी लाग्ना लाग्दा यस जिरेश्वर महादेवमा दूध चढाएर पूजापाठ गर्दा पानी पर्ने जनविश्वास छ।
त्यस्तै मनोकांक्षा पूरा हुने विश्वासमा दैनिक कयौं दर्शनार्थी दर्शन गर्न जिरेश्वर पुग्छन्। शिवरात्री, तीज, एकादशी, औंशी, कृष्ण अष्टमी जस्ता चाडपर्वमा मेला लाग्दै आएको छ।
जिरेश्वर महादेवका पाउ भएर सलल बग्ने सानो खोला अनि त्यस खोलाबाट निस्कने कलकल आवाजले छुट्टै आन्नद दिलाउँछ। मन्दिर नजिकैको सानो पुल अनि नजिकै सानो पानीको छाँगामा त दर्शानार्थीले फोटो खिचिहाल्छन् भने टिकटक बनाउनेको कमी हुँदैन।
बिहानै जिरी बजारबाट ३० मिनेट सल्लाघारी बिचबाट हिँडेर चराचुरूंगीको सुमधुर आवाजसँग मितेरी साईनो लगाउँदा, मन कसको फुरूंग नहोला र? पर्यटकीय दृष्टिकोणबाट हेर्दा जिरीको रमणीय झल्काउने जिरेश्वर महादेवले, प्राकृतिक एवंम धार्मिक महत्त्व बोकेको छ।
घना जंगलको उक्त ठाउँमा बिभिन्न बोटबिरूवाले श्रृंगारेको पाईन्छ। जिरेश्वर महादेव नजिकै चिया बगान छ, जहाँ केही समय भुल्न सकिन्छ।
जिरीकै सम्पतीका रूपमा रहेको यस मन्दिरमा विभिन्न भौतिक विकास गरिरहेको पाईन्छ। प्रवेशद्वारदेखि, सल्लाघारीको बिचको बाटोले सुन्दरता थपेको छ।
नेपालकै स्वीजरल्याण्डको उपनाममा चर्चित जिरी घुम्नु र जिरेश्वर महादेव दर्शन गर्नु स्वर्गमा पुगेसरी आनन्द आउनु हुन्छ।
जय जिरी, जय जिरेश्वर महादेव...।।