नुवाकोट। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर प्राकृतिक स्वास्थ्यका पक्षमा काम गर्दै आएको अग्रणी संस्था ‘प्रकृतिप्रेमी समूह’ले शनिबार नुवाकोटको ‘झरना पदमार्ग’ अर्थात् लखिनश्वरी क्षेत्रमा पदयात्रा गराएको छ।
शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को सीमामा पर्ने मनमोहक लखिनश्वरी झरना नजिकै लखिनश्वरी महादेव मन्दिर पनि छ। ठाउँठाउँमा भएका मनमोहक झरनाहरूका दृश्यमा रमाउँदै पदयात्री लखिनश्वरी पुगेका हुन्। भदौ ९ गते अर्खौले नजिकै पहिरोबाट पदयात्रा सुरु गरेर खोले गाउँ, लखिन खोला हुँदै झरनासम्म पदयात्रा गरियो। उनीहरू गएकै बाटो पहिरोसम्म फर्के। यसरी उनीहरूलाई करिब २२ किलोमिटर पदयात्रा गराइयो।

समूहकी कोषाध्यक्ष एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा गएका पदयात्रीहरूले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मन्त्रोचारण गरेका थिए। हरियालीमा भुइँकुहिरोसँग लुकामारी खेल्दै हिँड्न पाउँदा पदयात्रीहरू रमाएका थिए।
लखिनश्वरी झरना अग्लो छ। झरनामा पुग्दा सिमसिम पानी परेको थियो। त्यसमाथि झरनाबाट उडेर आएको पानीले छाता ओढेका पदयात्रीलाई पनि रुझाएको थियो।

लखिनश्वरी झरना दर्शनपछि उनीहरूलाई स्थानीय बलबहादुर गुरुङको घरमा खाना खुवाइयो। समूहको पदयात्रामा जंकफुड, फास्टफुड, मदिरा र मासु निषेध छ। स्वास्थ्यका लागि पदयात्रा गरिने भएकाले स्वास्थ्यबद्र्धक शाकाहारी खाना खुवाइन्छ।
खानापछि हाइकिङविज्ञ महर्जनले निरोगी रहने ज्ञान बाँडेकी थिइन्। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा लिँदै हामीले निरोग, आनन्दित भएर बाँच्नु पर्छ’, उनले भनिन्, ‘उचित आहार, विहार र विचार गरेमा मात्र निरोग, आनन्दित भएर बाँच्न सकिन्छ। त्यसबारे निरोगधामबाट आवश्यक ज्ञान पाइन्छ। साथै दलचोकीमा रहेको निरोगआनन्दधाममा व्यवहारिक अभ्यास पनि गर्न पाइन्छ।’

स्मरणीय छ, संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। नेपालमा हाइकिङ जागरण ल्याउने अग्रणी संस्था प्रकृति प्रेमी समूह नै हो। अब भदौको चौंथो शनिबार फरक ठाउँमा पदयात्रा आयोजना हुनेछ।
तस्बिरहरु:





































