पोखरा। साहित्यकार डा. ईश्वरमणि अधिकारीको चौंथो कृति ‘सम्बोधिका’ मुक्तकसङ्ग्रह लोकार्पण भएको छ। प्रकाशक पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा शनिबार साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले लोकापर्ण गरेका हुन्। यसमा १११ ओटा मुक्तक छन्।
कृतिको समीक्षा गर्दै सञ्जीव पौडेलले ‘सम्बोधिका’ प्रेम, राजनीतिक विकृति, सामाजिक विसङ्गति, समयको महात्म्य, जीवनमूल्य, न्याय, मातृभक्ति, प्रकृतिप्रेमलगायतका विषयमा केन्द्रित मुक्तक समावेश भएको बताए।
‘प्रेम पुरानो र प्रेमीप्रेमिका भूतपूर्व हुँदैनन् भन्ने प्रेमदर्शन नै सङ्ग्रहको केन्द्रीय विचार हो’, उनले भने, ‘समयभन्दा बलवान् केही नभएकाले समयसँगै निरन्तर हिँडिरहने प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ।’
पद र प्रतिष्ठाका पछाडि नदौडिई कर्मशील मानिस बन्नेतर्फ प्रयास गर्नुपर्नेमा जोड दिँदै लेखकले वदनामहरूसँगै आफ्नो नाम नजोडियोस् भनी असल बन्नेतर्फ प्रयास गर्नुपर्ने बताएको समीक्षक पौडेलको भनाइ थियो। सरल भाषामा काव्यिक शैली र नवीन बिम्ब तथा प्रतीक प्रयोग गरी लेखिएका मुक्तकहरूले पठनिय छन्।
कार्यक्रममा साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, रमेश श्रेष्ठ, दीपक समीप, सरस्वती प्रतीक्षा, रीता अधिकारी ‘ऋतु’, जीवनसागर भण्डारी, डा. चैतन्य अधिकारी, प्राञ्जल र साहित्यकर्मी उपेन्द्र पौडेलले कृतिकारलाई शुभकामना दिएका थिए।
साहित्यकार अधिकारीका यसअगाडि एक जीवनी, एक कवितासङ्ग्रह र एक गजलसङ्ग्रह गरी तीन कृति प्रकाशित छन्। उनको आगामी कृति कविता सङ्ग्रह हुने जनाइएको छ।