दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने प्रसिद्ध धार्मिकस्थल जटापोखरी र पाँचपोखरीमा जनैपूर्णिमा मेला लाग्ने भएको छ। पोखरीको पवित्र जलमा स्नान गरेर पूजापाठ सकेर पाँचपोखरी पुगेर ठूलो स्वरमा आफूले चाहेका कुराहरू माग्दै घुमेमा मनोकामना पुरा हुने जनविश्वास छ।
मेलामा जटापोखरी र पाँचपोखरीमा पुग्दा अध्यात्म, प्रकृति र संस्कृतिको त्रिवेणीमा पुगेझैं लाग्छ।
मेला भर्न दोलखा, रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत धेरै ठाउँबाट दर्शनार्थी आउँछन्। करिब चार हजार दुई सय पचास मिटरभन्दा माथि रहेका जटापोखरी र पाँचपोखरी प्राकृतिक छटाले भरिपूर्ण छन्।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा पर्दछन् यी पोखरी। तामाकोसीको प्रमुख सहायक नदीका रुपमा रहेको खिम्ति खोला शिरमा रहेका यी पोखरीको धार्मिक महत्व ठुलो छ।
सत्ययुगमा भगवान शिवले लोकलाई बचाउन कालकुट विष पिएपछि त्यसको छटपटिबाट शान्त हुन डुबुल्की मारेको हुँदा जटापोखरीलाई शान्ति पोखरी पनि भनिन्छ।
पाँचपोखरी भने जटापोखरीभन्दा पनि माथि पर्दछ। पाँचपोखरी ४ हजार ६ सय ५ मिटर उचाईमा छ। एउटै पोखरीका बीचबीचमा प्राकृतिक रुपमा उठेका बाँधले पोखरीलाई पाँच ओटा कुण्डमा विभाजन गरेको छ।
पाँच पाण्डव वनबास जाँदा यहाँको पोखरीमा स्नान गरि वरिपरि केही समय बिताएको किंवदन्ती पनि सुनिन्छ। जटापोखरीबाट पाँचपोखरी पुग्न करिब डेढ घण्टा लाग्छ।
यही पोखरीबाट झरेका दुई खहरे खिम्ती र लिखु खोला भएर बग्छन। खिम्ती र लिखुलाई एकै कोखबाट जन्मिएका दिदीबहिनी पनि भनिन्छ।
पाँचपोखरीबाट तल देखिने जट्टापोखरीको दृश्य यति मनमोहक हुन्छ कि स्वर्गको अनुभूति मिल्छ।सुन्दर पर्यटकीय नगरी जिरीलाई नियाल्दै चुचुरेका समथर भु–भागलाई छिचोल्दै, खिम्ती खोलाको सुस्केरामा रमाउँदै खहरेबाट उकालो लाग्दा मन रोमाञ्चित हुन्छ। पदमार्गमा सुनिने चराको चिरविर र हरियाली वातावरणले मोहित बनाउँछ।
जटापोखरी क्षेत्र जडीबुटीको खानी पनि हो। यहाँ लोठसल्ला, चिराइतो, पाखनवेद, ठुलो ओखतो, पाँच औले, जटामसी, सुनापति, विषमारलगायत जडीबुटी यत्रतत्र भेटिन्छ। यहाँका चौरहरूमा यार्सागुम्बा पनि पाइन्छ।
काठमाडौंबाट जिरी हुँदै गर्जङ्ग, खहरे, पानीपाखा, मानेडाँडा भएर जटापोखरी र पाँचपोखरीमा पुग्न सकिन्छ।