म्याग्दी। जनैपूर्णिमाका दिन मुलुकका धेरै ठाउँमा मेला लाग्छ। उचाईमा बसेका देवदेवीको दर्शन, त्यसमाथि मनसुनी यात्रा साहसिक बन्छ। तपाईंले यसपाली कुन ठाउँमा मेला भर्ने योजना बनाउनु भएको छ ? आउनुहोस् ‘खयर भारानी’को कुरा गरौं।
अन्नपूर्ण हिमालको जरामा बसेकी ‘खयर भारानी’को दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। मनसुनी सौन्दर्यमा डुबुल्कि मार्दै यात्रा गर्न पाइन्छ है !
अन्नपूर्ण गाउँपालिका–५, म्याग्दीमा बसेकी छिन् भारानी। यिनी शक्तिपीठ हुन्। ४,६३० मिटर उचाइमा अवस्थित खयरतालको किनारामा भारानी थान (मन्दिर) छ। तालमा भेटिएको अनौठो शिलालाई भारानीको प्रतीक मानेर पूजिन्छ।
जनैपूर्णे मेला भर्नेको घुइँचो लाग्छ। भारानीसँग चिच्याएर वर माग्ने चलन छ। एक पटकको यात्रामा एउटा मात्र वर माग्नु पर्छ। कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, कसैले सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी त कसैले सेनामा भर्तीको वर माग्छन्।
तिर्थालुले भारानीबाट आफूले माग्न चाहेका कुरा तलाउ छेउमा उभिएका पुजारीलाई खुसुक्क सुनाउँछन्। अनि पुजारीले तालतिर फर्केर ‘भक्तले मागेको कुरा पुरा गरिदिनुस् है भारानी माता’ भनेर चिच्याउँछन्। र, प्रसादस्वरुप तालबाट ढुङ्गामाटो झिकेर तिर्थालुको सेतो कपडामा राखिदिन्छन्।
भाकल पुरा भएपछि जनै पूर्णिमाका दिन भारानी थानमा पुगेर भेडाको साँढ (थुमा) चढाउने चलन छ। नरिवल चढाउँदा पनि हुन्छ।
पाउद्वार गाउँको शिरमा ‘अन्नपूर्ण साउथ’ हिमालको जरामा बसेकी छिन् भारानी। उनलाई धजा, अक्षता, फूल, गहना, सुन चाँदी, नरिवल र पाठा चढाइन्छ।
धार्मिक आस्था त छँदैछ, प्राकृतिक हिसाबले पनि खयर क्षेत्र सुन्दर छ। डाँडाबाट अन्नपूर्ण साउथ र धौलागिरि हिमाल छर्लङ्ग देखिन्छन्। त्यस्तै हिमचुली, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, टुकुचे पिक, मानापाथी हिमालसँग पनि पिरती गाँस्न सकिन्छ।
खयर क्षेत्रलाई ‘खोप्रा पदमार्ग’का रुपमा ब्रान्डिङ गरिएको छ। त्यसैले पदयात्रीहरू पाउद्वार, नागी, मोहरेडाँडा, टाडापानीलगायतका मार्गबाट खयरतालमा पुग्छन्।
खयरताल भन्दा तल पर्दछ खोपारा डाँडा(३,६६० मिटर)। खोपारा हिलस्टेशनका रुपमा चम्किएको छ। यहाँ सामुदायिक होटल छ। खोपाराबाट चार घण्टा दूरीको खयर खोला (४,३०० मिटर)मा पनि सामान्य होटल सुविधा छ। खयर खोलाभन्दा मास्तिर कुनै होटल वा रेष्टुराँ छैनन्। खयर खोलाबाट भारानी थान पुग्न करिब तीन घण्टा लाग्छ।
खयर पदमार्ग व्यवस्थित छ। पाउद्वार गाउँदेखि नै उकालीमा ढुङ्गा ओच्छ्याइएको छ। ठाउँठाउँमा चौपारी र चौतारी बनाइएको छ। बेलायती सेनाका रिटायर्ड लेफ्टिेनन्ट राजु पुनको अगुवाइमा जनस्तरबाट पूर्वाधार विकासका काम गरिएको हो। उनले पुर्याएको योगदान प्रशंसनीय छ।
मेलामा धेरै तिर्थालु पुग्छन्। खोपारा डाँडा र खयर खोलामा तिर्थालुलाई बास बस्ने केही टहरा बनाइएका छन्। सामान्य खाना पाइन्छ। त्यसैले पदयात्रीले न्याना कपडा र केही ड्राइफुड बोकेर यात्रा गर्दा सजिलो हुन्छ। पोखराबाट खयर भारानी यात्राका लागि करिब एक हप्ताको यात्रा योजना बनाउनु बेस हुन्छ है !
कसरी पुग्ने ?
काठमाडाैँ–बेनी २८२ कि.मि., बसमा ९ घन्टा। अथवा काठमाडौँ–पोखरा २५ मिनेट हवाई यात्रा। पोखरा–बेनी ८२ कि.मि., गाडीमा ३ घण्टा। पहिलो बास बेनी बजारमा। बेनीबाट गलेश्वर, तिप्ल्याङ, पोखरेबगरसम्म जीपमा। पोखरेबगरबाट हिँडेर दोस्रो बास पाउद्वार गाउँमा। तेस्रो दिन ५ घन्टा उकालो चढेर खोपारामा बास। चौंथो दिन ४ घन्टा पदयात्रामा खयर खोलामा बास। पाँचौं दिन खयर खोलाबाट ३ घण्टा उकालो चढेमा खयर भारानी थान पुग्ने। दर्शन गरेर फर्केर खोपारामा बास बस्न आइपुग्ने। अर्को रुट पहिलो दिन घान्द्रुकमा बास, दोस्रो दिन टाडापानी हुँदै बयलीमा र तेस्रो दिन खोपारामा बास।
खयर भारानीका सेवक
खयर भारानी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटनधामका रुपमा विकास गर्न बेलायती सेनाका रिटायर्ड लेफ्टिनेन्ट राजु पुनको अगुवाइमा उदाहरणीय काम भएका छन्। आफ्नो जन्मथलोको विकासमा श्रम, सिप र धन खर्चेर उनले प्रेरणादायी काम गरेका छन्।
१२ वर्ष भयो उनले यसरी काम गरेको। अहिले ७२ वर्षका भए। उनले वि.सं. २०६८ सालदेखि खयर क्षेत्रमा पदमार्ग सुधार, चौतारी, धर्मशाला र थान (मन्दिर) निर्माणलगायत कामको नेतृत्व गर्दै आएका छन्। विशेषतः स्वदेश तथा विदेशमा रहेका म्याग्देलीसँग सहयोग उठाएर उनी ‘खयर भारानी थान तथा संरक्षण कोष’ मार्फत् काम गर्छन्।
उनमा लोभलालच, ईष्र्या र मोह छैन। उनी आफैं खटिन्छन्। उनको काम पारदर्शी छ। त्यसैले सबैले विश्वास गर्छन्। मुटु रोगी, त्यसमाथि ढल्किँदो उमेरमा लेक लाग्ने डाँडामा बसेर काम गर्नु उदाहरणीय काम हो। उनी वर्षका ६ महिना खयर क्षेत्रमा बसेर सुधारका काम गर्छन्।
उनको जन्मथलो खयर भारानीको काख पाउद्वार गाउँ हो। कक्षा ७ पढ्दापढ्दै उनले शिक्षक तालिम लिएर वि.सं. २०२५ सालदेखि दुई वर्ष गाउँकै विद्यालयमा पढाए। तिनताका गाउँका युवा भर्ती हुन मरिहत्ते गर्थे। उनी पनि वि.सं. २०२७ सालमा बेलायती सेनामा भर्ती भए।
सेनामा २२ वर्ष काम गरेर सेवा निवृत्त हुँदा लेफ्टिनेन्ट भइसकेका थिए। नेपाल फर्केको केही समयपछि उनी साउदी अरबमा जनरल खालिद दिन सुल्तानको सुरक्षा व्यवस्थामा खटिए। त्यहाँ ५ वर्ष बिताएर नेपाल फर्के।
काठमाडौँमा आएर सफा टेम्पुको चार्जिङ स्टेसन खोले। सोचेजस्तो भएन व्यवसाय। दुई वर्षपछि उनले फेरि नेपाल छाडे। अमेरिकी दूतावासको जागिरे भएर युगान्डामा पुगे। त्यहाँ ६ वर्ष काम गरे।
त्यतिबेला बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकलाई आवासीय सुविधा दिने निर्णय गर्यो। उनी पनि सपरिवार बेलायतमा पुगे। जीवनसाथी गीता र चार छोरीसहित बेलायतमा बसोबास गर्न थाले।
दोस्रो चरणमा ६ वर्ष बेलायत बस्दा उनको उमेर ६० वर्ष पुग्यो। तन उता भए पनि उनको मन भने र्भुरभुर्र उडेर पाउद्वारतिर डुलिरहन्थ्यो। उनले जन्मथलो फर्केर खयर भारानीलाई व्यवस्थित धार्मिक पर्यटन केन्द्र बनाउने अठोट गरे। यसमा परिवारले पनि साथ दियो। गाउँलेले पनि साथ दिए।
युगान्डा जानुअघि उनले म्याग्दीकै पर्यटकीय केन्द्र पुनहिलमा आफ्ना ससुरा बा मेजर टेकबहादुर पुनको स्मृतिमा भ्युटावर बनाउने कामको नेतृत्व गरेका थिए। तिनै टेकबहादुरको अगुवाइमा पुनहिलमा पर्यटनको बिउ रोपिएको थियो।
उनलाई जीवनसाथी गीताको ठुलो भरथेग थियो। कोभिड–१९का कारण वि.सं. २०७८ साउनमा उनको निधन भयो। अबका केही वर्ष उनी खयर क्षेत्रमै समर्पित हुनेछन्। पदमार्गलाई थप व्यवस्थित गर्ने, खोपारामा चिमल पार्क र सामुदायिक होटल बनाउने उनको योजना छ। उनलाई धेरैधेरै शुभकामना !
सम्पर्क
राजु पुन–९८५१०६७५४८
ख्याल गरौं
- एक्लै यात्रा नगरौं, समूहमा पदयात्रा गर्दा सजिलो हुन्छ। यात्रा सुरु गर्नु अघि पदमार्गका होटलहरूमा सम्पर्क गरी कोठा बुक गरौं।
- हिँड्न सजिलो टे«किङ बुट, न्याना कपडा, ब्याग र लौरो व्यवस्थापन गर्ने। पानीको बोतल, थर्मस, हेडलाइट, क्यामेरा, कलम, डायरी आदि बोक्ने।
- बेलाबेलामा पानी पिउँदै सुस्तरी हिँड्ने। झोलिलो खानेकुरा खाने। साथमा क्याटबरी र ड्राइफुड पनि बोक्ने।
- एक्लमटाइज हुन खोपारा डाँडामा दुई रात बस्ने। पुगेको भोलिपल्ट डाँडातिर हाइकिङ गर्ने। यसो गरेमा लेक लाग्ने सम्भावना हुँदैन।
- खयर खोलाभन्दा माथि होटल सुविधा छैन। खोपाराडाँडा भन्दा माथि बिजुली सुविधा पनि छैन। खोपारा डाँडाभन्दा माथि मदिरा सेवन गर्न निषेध छ। गाउँलेले बनाएका नियम पालना गर्ने।
- लेक लाग्दा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिन्छन्। त्यस्तो बेलामा आराम गरिहाल्ने। घुच्चुक दुखेमा वा वाकवाकी लागेमा बिरामीलाई ओरालो झारिहाल्ने।
- पदमार्गका वनस्पतिलाई नछुने। बोटबिरुवा उखेल्ने र भाँच्ने नगर्ने। जङ्गली जनावर र चरालाई नजिस्क्याउने।
- तस्बिर खिच्दा भिरबाट लडिएला, होस गर्ने। मान्छेको तस्बिर खिच्दा अनुमति लिने।
- जनैपुर्णे मेलामा एकै पटक सयौं पदयात्री पुग्ने भएकाले टेन्ट र सिल्पिङ ब्याग बोक्न बिर्सनु हुँदैन। अन्य समयमा होटलमा बस्नु सजिलो हुन्छ।