पोखरा। पोखरेली साहित्यकार डा. ईश्वरमणि अधिकारीको नयाँ कृति प्रकाशित भएको छ। उनको ‘सम्बोधिका’ मुक्तकसङ्ग्रह आउँदो शनिबार पोखरामा सार्बजनिक हुनेछ। यसमा १११ ओटा मुक्तक छन्।
आनन्दको खोजीमा साहित्य सृजना गर्दै आएका स्रष्टा हुन् ईश्वरमणि। उनी मुक्तक, कविता र समालोचना लेख्छन्।
‘सम्बोधिका मेरो हृदयमा कोरिएको प्रेमिल बिम्ब हो। केही वास्तविक, केही काल्पनिक। कतै मूर्त, कतै अमूर्त र प्रायः अर्धमूर्त छन्’, सम्बोधिकाबारे अधिकारी भन्छन्, ‘यसमा मैले आफैसित संवाद गरेको छु जसमा समय, जिन्दगी, जीवन–दर्शन, सामाजिक विकृति–विसंगति, राष्ट्रप्रेम, मायाप्रेम आदिसंग सम्बन्धित मुक्तक छन्।’
पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको पुस्तक स्रष्टाहरू सरुभक्त र तीर्थ श्रेष्ठका हातबाट सार्बजनिक गरिँदैछ। स्मरणीय छ, वि.सं. २०३४ सालमा स्थापना भएको परिवारले ‘टिकटमा मुक्तक’ कार्यक्रम गरेर समेत इतिहास रचेको थियो।
पेशाले उनी गणित विषयका सह–प्राध्यापक। पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउँछन्। यसबाटै उनको गुजारा चल्छ। साहित्य सृजनाबाट भने आत्मसंतुष्टि पाउँछन्।
यस अघि उनका कविताकृति ‘समयको तस्वीर’, गजलकृति ‘ह्दयको आलाप’ प्रकाशित भैसकेका छन्। ‘सम्बोधिका’पछि कवितासङ्ग्रह प्रकाशन हुनेछ।
उनी चालिसको दशकदेखि साहित्य सृजनामा लागेका। पचासको दशकमा पोखरेली युवा सांस्कृतिक परिवारले चलाएको ‘समता काव्य सन्ध्या’सँग जोडिएपछि उनका सृजनामा निखार आउन थाल्यो।
पूर्वी लमजुङको भारते देउरालीमा जन्मेका अधिकारी झन्डै चालिस वर्षदेखि पोखरामा छन्। उनको घरमा पनि साहित्यिक वातावरण छ। उनकी जीवनसङ्गी रीता अधिकारी ‘ऋतु’ पनि कवि हुन्।
उनी पोखरेली युवा सांस्कृतिक परिवार, नेपाली लेखक संघ, लघुकथा प्रतिष्ठान, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, गजल सन्ध्या, काउन्सिल फर म्याथमेटिक एजुकेशन र नेपाल गणित समाज आदि संस्थामा सक्रिय छन्।
‘सम्बोधिका’बाट तीन मुक्तक
पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ
चर्चा, प्रतिष्ठा, पुरस्कार र मङ्गलगान हुन्छ
जिन्दगीबाट यी सब घटाउनुस् महोदय
अब जति बच्छ, त्यही नै पहिचान हुन्छ
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
हृदय जब टुक्रिन्छ, त्यो कि ढुङ्गा बन्छ कि कपास बन्छ
अहँ तिमीले भने झैँ, न् त्यो वादल बन्छ न बतास बन्छ
तिमी हरदम स्वतन्त्र छ्यौ, निर्बन्ध छ्यौ सम्बोधिका !
ईश्वर भन्नु त मूर्ति न हो, न उदास बन्छ न हतास बन्छ ्र
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
सत्य बोलूँ , सुन्दर बाँचूँ, जून छुन नबिर्सूं म
हाँर्सूं–खेलूँ, जिन्दगानी, प्रेमिल धून, नबिर्सूं म
पद, प्रतिष्ठा, पहिचान यी सब क्षणिक हुन्
ठुलो हुने स्वप्न पालेर मान्छे हुन नबिर्सूं म !
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦