जेष्ठको महिना प्रचण्ड गर्मी, काठमाडौँमा नै उकुसमुकुस भइरहेको थियो । तराई लगायतका जिल्लाहरुमा गर्मीका कारण विद्यायलहरु बन्द भइरहेका थिए । यसैपनि गर्मी, कामगर्ने जोस जाँगर कहाँबाट आउनु र ? कतै अलि सितल हुने ठाउँ; अलि पहाडी क्षेत्रमा घुम्न जाने योजना बनाउनु पर्छ कि क्या हो, सोचिरहेको थिएँ । यता एफपीए नेपालबाट कैलालीका जिल्लाहरुमा कार्यक्रमका लागि जानु पर्ने भयो भन्ने खबर आयो । घुम्न पाउने भन्ने वित्तिकै मन खुश नहुने कुरै थिएन । तर, कैलाली, गर्मीयाम, उखरमाउलो गर्मी, सम्झिँदा मन पाकेर पो आयो । गर्मीदेखि नि कोही डराउछ ?? सोचेर कार्यक्रम अघि बढाउने निर्णय गरेँ । टीममा जाने भयौँः त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक, डा. किशोर राजभण्डारी, उहाँकी धर्मपत्नी गीता राजभण्डारी, सामाजिक अभियान्ता ध्रुव लामिछाने र म । कैलालीको लागि कार्यक्रमको खाका तयार भयो । ४ ओटा क्षेत्रमा कार्यक्रम गर्ने, विश्वशान्तिका लागि युवा तथा किशोर किशोरीले खेल्नु पर्ने भूमिकाका विषयमा चर्चा गरिने । ३ दिनमा ४ ओटा कार्यक्रम सक्ने । कैलालीका सुन्दर ठाँउहरु घुम्ने, मैले र कैलालीका सहकर्मी खेम ढुंगाना मिलेर कार्यक्रमको डिजाइन ग¥यौँ । ०००
बेलुकी ५ः५० को फ्लाइट । काठमाडौँबाट धनगढीको यात्रा । सिंगो जहाजमा १५ जना मात्रै । गर्मी हुने भएकोले धेरै मान्छे नगएका होलान्, एकछिन गफियौँ । प्लेन भन्दा अघि मन उडिरहेको थियो । कस्तो होला त्यो कैलाली ! कस्तो होला धनगढी ! साँच्चै कस्तो होला त्यो सुन्दर सुदूरपश्चिम ! गोपी हमालको नगर, रेशम चौधरीको रेडियो, राजाको दरबार, घोडाघोडीको सुन्दरता ! म मेरो आँखा अटाउछु कि अटाउन्न होला ! करिब ४५ मिनेट पछि धनगढीका फाँटहरु आकाशबाटै देखिए ! ओहो कति फराकिला, कति समथर तर खडेरीले होला उराठ–उराठ । धनगढी एयरपोर्ट पुगियो । तातो राँफको झोक्काले कहाँबाट हानेजस्तो भइहाल्यो कस्तो गर्मी उफ्ः !
सहकर्मी खेम ढुंगाना बाटोमै कुरिरहेको छु हैँ भन्दै फोन हान्न थालिसकेका थिए । पटक–पटक टेलिफोन वार्ता भएको भएपनि प्रत्यक्ष भेटवार्ता भने पहिलो पटक थियो । उहाँले नै हामीलाई कैलालीको सयर गराउनु हुनेथियो । धनगढी एयरपोर्टबाट हामी मोडियौँ, घोडाघोडी नगरपालिका तिर । सडकमा बलिरहेका बत्ति, छेउमै रहेको गेटा मेडिकल कलेज, छेउछेउका बस्तीहरु । साइकलमा साँझको हावा खाँदै हिडेका युवा युुवतीहरु । सडक छेउमा लागेका हटियाँ बजारहरु, उफर बजाएर नाचिरहेका युवायुवतीहरु, चिसो बरफको आनन्द लिइरहेका बालबालिकाहरु । गाडीमा बजिरहेको थारु गीतसंगै गफिँदै घोडाघोडीस्थित जंगल रिसोर्ट पुग्यौँ । झमक्क साँझ, झिलीमिली बत्तीको बिचमा रहेको होटल जंगल रिसोर्ट । अग्ला कद भएका अर्धवैंसे वेटर, गेटमै आइपुगे पाहुना सत्कारका लागि । खाना आएर रेष्ट गर्ने, भोलि बिहान ७ बजे कार्यक्रमको तयारी गर्ने सल्लाह भयो । ०००
भोलिपल्ट बिहानै खेम जी लगायतका सबैजना होटलमा जम्मा भयौँ । बिहानैपनि टन्टालापुर घाम । चिटचिट पसिना आउने गर्मी । गर्मी जाडो जे भएपनि चिया चाहिने मलाई । किशोर दाई कफीको पारखी । आ–आफ्नो तलतल मेट्यौ र कार्यक्रम स्थल तिर लाग्यौ । महिला समुह, किशोरी क्लब, युवा क्लब, पुर्व जनप्रतिनिधि, वडा सदस्य, अध्यक्षहरु बीचको कार्यक्रम । सबै कति उर्जाशील । युवा वडाध्यक्ष,जगतबहादुर शाही, शिक्षक उदय विसी, तारा जोशी, पूर्व जनप्रतिनिधि टंक ओली अन्य स्थानीय पत्रकारहरु, समाजसेवीहरुको समान साथ । त्यसमाथि पनि काठमाडौँबाट हामी जाने खबर पाएसंगै अन्य कामलाई व्यवस्थापन गरेर आएका सहकर्मी लोकुसिंह ठकुरीजीको सहयोग । कुनैपनि समय लागेन कि हामी आफ्नो ठाँउबाट फरक ठाँउमा आएर काम गर्दै छौँ । ०००
साँझको समय ! हाम्रो समय ! घोडाघोडी सयर गर्न गयौँ । सुरुमा पर्यटकको बोटिङको लागि बनाइएको मानव निर्मित तालमा पुग्यौँ । उत्साही बालक जस्तै भएका थियौँ हामी । बालकको जिज्ञाशा मेट्ने कोसिस गर्ने अभिभावक जस्तै भए खेमजी र लोकुजी । बोटिङ, सेल्फी, ग्रुप पिक्चरमा रमाइरहका थियौँ सबैजना । अल्लारे ठिटाठिटीसंग हिडेर होला किशोर दाई, गीता भाउजु र ध्र्रुर्व दाइ पनि हामी जस्तै बनेर वातावरण सहज बनाइरहनु भएको थियो । अन्र्तमुखी स्वभावको किशोर दाइ हाम्रो पोजलाई कैद गर्नमा व्यस्त हुनुहुन्थ्यो । यो देखेर मनमनै सोचे, हरेक मानिसभित्र एक बालक लुकिरहेको हुन्छ । ०००
तेस्रो दिन, अन्यदिनजस्तै महिला क्लवको काम सकाएर हामी लाग्यौँ टीकापुर घुम्न । लम्की चुहा नगरपालिका हुँदै अलि भित्र गएपछि केही अफरोड बाटो । विद्यालयबाट साइकलमा फर्किदै गरेका स्कुले केटाकेटी । सडकका छेउबाट स्वागतको हात हल्लाइरहेका केराका पातहरु । पानी नपरेर चिरा चिरा परेका फाँटहरु । झुण्डिरहेका आँप । काँचा आँप हेरर गीता भाउजुले र मैले खुबै मुख मिठ्यायौँ । थारु भिलेजको ढिग्री । बनाना भिलेजको बनाना जुसको स्वाद लिँदै हामी टीकापुर पार्क पुग्यौँ । पार्कको बीचमा रहेको पौराणिक दरबार । स्वर्गीय राजा महेन्द्र तराइका जिल्लाहरुमा शिकार गर्न आउदा बस्ने गरेका दरबार । मुलुककै ठूलो पार्कका रुपमा चिनिएको टीकापुर पार्क ।
राजा वीरेन्द्र बस्ने घरलाई वीरेन्द्र विश्राम बाटिका नामको परिचित काठले बनेको बंगला र राजा महेन्द्र बस्ने महेन्द्र आरोग्य केन्द्र, रत्न बाटीका, एश्वर्या वाटिका । ऐतिहासिक क्षेत्र । कैलालीको पूर्वी कर्णाली नदी तटीय क्षेत्रमा रहेको टीकापुर पार्कलाई एक फन्को लगायौँ । गर्मीले सबैका अनुहार रातापिरो भइसकेको थियो । ध्रुव दाइले त कर्णाली नदीमै पुगेर केही शिला बोकेर आउनुभएछ । किशोर दाई घुमन्ते आइसक्रिमवालाको ठेलालाई नै रोकेर चिसो बरफको आनन्द लिइरख्नु भएको थियो । हेल्थ कन्सियस दाइ बरफ लिन थालेको देखेर म दंग परे ।
पार्कको सुन्दरता र पर्यटकको घुइँचो हेर्दै हामी फेरी घोडाघोडी नै फर्कियौँ । गर्मीले होला सबै थकित भएका थियौँ । गाडीमा सबैजना निदाएछौँ, होटल अगाडी गाडी रोकियो, ब्यूझिँदा लोकुजी त बाटोमा नै झरिसक्नु भएको रहेछ । हामीलाई त्यसै दिन काठमाडौँ फर्किनु थियो । खाना खाएर हामी धनगढीको लागि निस्कियौँ । हाम्रो फ्लाइट थियो बेलुकी ७ः१५ को हामी समयमा नै एयरपोर्ट पुग्यौँ । तर फ्लाइट डिले भएर ९ः१५ मा मात्र काठमाडौँका लागि उड्यौँ । जाँदा जस्तै आकाशबाट धनगढी नियालेँ । उज्यालो देखियो धनगढी बजार, सोही उज्यालोलाई मन, मतिष्कमा बोकेर अलि समयलिएर फेरी पुरै सुन्दरसुदूर घुम्न आउने बाचासहित काठमाडौँ फर्किएँ । ०००