बागलुङ। एकै ठाउँमा उभिएर गुर्जादेखि धवलागिरि, निलिगिरि, अन्नपूर्ण हुँदै माछापुच्छ्रे हिमालसम्म हेर्न पाइने सुन्दर गाउँ हो, बागलुङ जिल्लाको भकुण्डे। बागलुङ नगरपालिका–१० मा पर्दछ भकुण्डे गाउँ।
बागलुङ नगरपालिका–१० मा रहेको भकुण्डेमा सामुदायिक होमस्टे सुविधा छ, जहाँ मिठो खाना र आत्मीय व्यबहार पाइन्छ।
भकुण्डे पर्यटकीय गाउँ। प्राकृतिक सौन्दर्य, मगर संस्कृति र रैथाने परिकार यहाँका विशेषता। मिहिनेती, फरासिला र सहयोगी छन् गाउँले।
धैलागिरि हिमसृङ्खला ।
गाउँ नजिकै जङ्गल भएकाले हरपल चराको चिरबिर सुनिन्छ। जंगल भ्रमणमा जङ्गली जनावरको दर्शन पाइन्छ। गाउँको शिरमा बनाइएको भ्यूटावरबाट बागलुङ, म्याग्दी र पर्वतका विभिन्न डाँडापाखा देखिन्छन्। गाउँबाट आधा घण्टा पदयात्रामा टावरमा पुगिन्छ।
गुर्जा र चुरेन हिमाल ।
यसबाहेक गाउँलेको जीवनशैली, बराहताल, सङ्ग्रहालय आदि अवलोकन गर्न पाइन्छ। अर्को नयाँ प्रोडक्ट थपिएको छ, ‘रुद्रमान स्मृति पार्क।’
सामुदायिक होमस्टे सञ्चालकहरू ।
नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अबधारणा भित्र्याई त्यसलाई लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङको सम्मानमा बागलुङको भकुण्डेमा सालिकसहित पार्क निर्माण गरिएको।
भ्यूटावर ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमानको परिकल्पना र अगुवाइमा वि.सं. २०५४ असोजदेखि उनकै जन्मथलो स्याङ्जाको सिरूबारीमा ग्रामीण पर्यटन सुरु गरिएको थियो। यसरी गाउँ पर्यटनका अगुवाको सम्मान गरेर भकुण्डेका गाउँलेले प्रेरणादायी काम गरेका छन्।
बराहताल।
वि.सं. २०७३ सालदेखि ‘अतिथि सत्कार सामुदायिक होमस्टे’ सञ्चालनमा गरिएको हो। अचेल यहाँका १५ घरमा पाहुना राखिन्छ। होमस्टेमा लोकल कुखुरा, कोदोको रक्सी, कोदोका परिकारलगायत थरिथरिका परिकार पकाइन्छ। अनि गाउँमा यानीमाया, सालैजो र झ्याउरे भाकाको झङ्कार सुनिन्छ।
माछापुच्छ्रे हिमसृङ्खला ।
भकुण्डेमा दुई रात बसेर घुमफिर गर्ने गरि यात्रा योजना बनाउनु पर्छ। अनि सामुदायिक होमस्टेलाई पहिल्यै खबर गरेर साँझ घाम नडुब्दै गाउँमा पुग्नु पर्छ है!
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० किमि। पोखरा–बागलुङबजार ७२ किलोमिटर। बागलुङबजारदेखि भकुण्डे ११ किलोमिटर। बजारबाट जीप वा बाइकमा भकुण्डे गाउँ पुग्न सकिन्छ।
अतिथि सत्कार सामुदायिक होमस्टे ।
स्वागतम्
मुना थापा
अध्यक्ष, अतिथि सत्कार सामुदायिक होमस्टे
हामी पाहुनाको स्वागतमा सधैं तयार छौं। होमस्टेमा बस्न पाहुनाले सादा खानाको २५० रुपैयाँ, मासु खानाको ५०० रुपैयाँ र ब्रेकफास्टको २५० रुपैयाँ तिर्नुपर्छ। त्यसैगरी सुतेको प्रति बेड २५० रुपैयाँ पर्दछ। हामी पाहुनाको मागअनुसार लोकल कुखुरा पकाइदिन्छौं। प्रति किलो एक हजार रुपैयाँमा एक किलो मासु पकाएर दिन्छौं। पाहुनाले आवश्यकताअनुसार मासु अर्डर गर्न सक्छन्। समूहमा पाहुना आउँदा हामी सांस्कृतिक कार्यक्रम पनि देखाउँछौं। त्यसका लागि एकमुष्ठ ५ हजार रुपैयाँ पर्छ।
सम्पर्क
मुना थापा–९८४७६६८८२४
खिमबहादुर थापा–९८४७६२८४९
होमस्टे सञ्चालकहरु।
ब्रेकफास्टमा कोदाको रोटी सेट ।
बराहताल।
साँझको खानामा कोदोको ढिँडो सेट ।
बिहानी सौन्दर्य ।
धाैलागिरि हिमसृङ्खला ।
क्याप्टेन रुद्रमान गुरुङको प्रतिमा। तस्बिर सौजन्य:उदित थापा