आँखै अगाडी देखिने चाँदी जस्तै टल्कने अन्नपूर्ण प्रथम, निलगिरी नर्थ र साउथ, तिलिचो पिक । बिहान उदाउने सूर्य हिमालमा पर्दा सुन जस्तै टल्किने र मध्यरातमा जून चम्किँदा चाँदी जस्तै टल्कने हिमालको काखमै अवस्थित पञ्चकुण्ड ताल । नेपालमा नै पहिले आरोहण अनुमति पाएको हिमाल भनेर परिचित अन्नपूर्ण हिमालको जुन प्रसिद्धि कमाएको छ, त्यो प्रसिद्धिको ओझेलमा परेको छ, त्यहाँको बेस क्याम्प र पञ्चकुण्ड ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण हिमाल । आफैमा सुसज्जित, मनमोहक र आकर्षक अन्नपूर्ण हिमालय र त्यसको आधारशिविरमा पुग्दा स्वर्गको अनुभूति नगर्ने कमै होलान् । वरिपरीबाट हिमालयले घेरिएको अन्नपूर्णको आधारशिविरमा नीलो रङको ताल छ । चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई स्थानीयले पञ्चकुण्ड नाम राखिदिएका छन् ।
धार्मिक तथा पर्यटकीय महत्व रहेको पञ्चकुण्ड तालको लम्बाई झण्डै एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान गरिएको छ । तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब देखिन्छ । तालदेखि एक सय ४० मिटरको उचाइमा अन्नपूर्ण आधारशिविर पर्दछ । तालबाट नीलगिरि र अन्नपूर्ण हिमालको रेन्जलाई अवलोकन गर्न सकिन्छ । नारच्याङ गाउँदेखि दुई घण्टा गाडीको यात्रा गरेर मौरिस हर्जोग पदमार्गको करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । अन्नपूर्ण आधारशिविर पुग्ने यो सबैभन्दा छोटो दुरीको पदमार्गको रुपमा मानिन्छ ।
यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाकाले जानकारी दिएको छ । गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) ८०९१ मिटर उचाइबाट हिउँ पग्लेर ताल बनेको छ। विश्वकै उत्कृष्ट मौरिस हर्गोज पद मार्गको गन्तव्यमा पर्ने यो ताल पञ्चकुण्ड धामले समेत परिचित छ।
करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पाँच भागमा बनेको तालनजिकै भगवान् शिवको मन्दिर पनि छ । यस तालमा स्नान गरी नजिकै रहेको शिव मन्दिरमा पूजाआजा गरे पाप नष्ट हुने धार्मिक विश्वास छ। हिमालको आधार शिविरमा अवस्थित यस तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ।
धार्मिक रूपमा समेत परिचित यस ठाउँमा पूजा गरेर स्नान गरे पाप नष्ट हुने जनविश्वास रहदै आएको छ । सन् १९५० मा शेर्पा भाषामा दिकिचो ताल अर्थात् जम्ने ताल भनेर नामकरण गरिएको यो ताल पद मार्ग पुगेपछि स्थानीयले पञ्चकुण्ड ताल नामकरण गरेका हुन् ।
सन् १९५० जुन ३ तारिखको दिन पहिलोपटक आठ हजार मिटर अग्लो अन्नपूर्ण हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले सन् १९५० मा फ्रान्सेली नागरिक मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको थियो ।