पोखरा। पर्यटकीय सहरका रुपमा संसारभर चिनिएको पोखराले कला, साहित्य र लोकसङ्गीतमा पनि प्रभावकारी उपस्थिति जनाउँदै आएको छ। पोखरामा विभिन्न साहित्यिक संघसंस्था क्रियाशील छन्। तर ‘पुछारसिटे अभियान’को क्रियाशीलता बिछट्टै लोभलाग्दो देखिन्छ। अनुकरणीय पनि।
स्थापनाको छोटो समयमै विभिन्न प्रभावशाली काम गरेर पोखरेली साहित्य आकाशमा ‘पुछारसिटे अभियान’ स्थापित भैसक्यो।
यसले हरेक वर्ष दुई ओटा कार्यक्रम नियमित गर्छ, माघ १ गते ‘घ्युचाकु र तरुलसँग कविता’ र असार १५ गते ‘दहीच्युरासँग कविता’। यस्ता कार्यक्रमले साहित्य र संस्कृतिका बीचमा पुल हाल्ने काम गर्छन्। त्यसबाहेक पनि महिनैपिच्छे सामुदायिका शिक्षा, पर्यटन र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
अभियानले पहिलो एकल कविता वाचन प्रकट पगेनी ‘शिव’को आयोजना गरेको थियो। त्यस यता सुमन स्मारिका, अल्पज्ञानी, अर्जुनकुमार ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरु’ र इन्द्र राना ‘प्रतीक’को एकल रचना वाचन गरिसकेको छ।
त्यसैगरि विभिन्न पुस्तकमाथि परिचर्चा कार्यक्रम पनि गर्दै आएको छ। उसले खगराज बरालको ‘सिकाउने शैली’, उमा सुवेदीको ‘सयौँ पुतली’, तर्कना शर्माको ‘जेब्राक्रस’, अमृत क्षेत्रीको एकान्त भीड, डा. तुलसी आचार्यको ‘मोचन’, लोकराज भट्टको ‘छाइल’, अशोक थापको ‘सन्तापको धून’ र महानन्द ढकालको ‘बुह्रान’ कृतिको परिचर्चा गरिसकेको छ।
ग्रामीण पर्यटन प्रवद्र्धनमा समेत अभियान सक्रिय छ। उसले स्याङ्जाको रामकोट, कास्कीका ह्याङ्जाकोट, याङ्जाकोट, ताङतिङलगायत गाउँमा भ्रमण गरी प्रचारप्रसारमा सहयोग पु¥याइसकेको छ। त्यस्तै कास्कीको मादी गाउँपालिका–१ ‘चिप्ली’ गाउँमा सुरु भएको होमस्टेमा वि.सं. २०७५ पुस २० गते एक रात बसेर फर्केपछि सञ्चारमाध्यममा लेखहरू छापिएका थिए।
अभियानले कास्की कारागारको पुस्तकालयलाई पनि ३५० भन्दा बढी पुस्तकहरू दिएको थियो। कोभिड–१९ का कारण वि.सं. २०७७ र वि.सं. २०७८ मा भने यो अभियान पनि सुस्ताएको थियो। पुछारसिटे अभियान स्थापनाको छोटो समयमै प्रभावशाली कार्यक्रमहरू गरेर चर्चित बन्यो।
कसरी जन्मियो त यो अभियान ?
‘पोखराका गजल सन्ध्या र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार अक्षरयात्रा आयोजना गर्दै आएका थिए। त्यहीक्रममा हामी स्याङ्जाको सुन्तलाबारी जाँदै थियौं’, अभियानका संयोजक सञ्जीव पौडेल भन्छन्, ‘लामो यात्रामा गाडीको पछिल्लो सिटमा बसेर दोहोरी गीत, मुक्तक दोहोरी र रमाइलो गर्ने सिर्जनशील व्यक्तिको सानो समूहको एउटा अवधारणाबाट हामीले पुछारसिटे अभियान गठन गरेका हौं।’
वि.सं. २०७४ मा सञ्जीव पौडेल संयोजक रहनेगरि मोहन भण्डारी, अल्पज्ञानी, सुरज उपाध्याय, सरला लामिछाने ‘सरु’, वसन्त विनोद र श्रीराम अधिकारी ‘गोर्जे’सहित मिलेर अभियान गठन गरिएको। उनीहरूको पहिलो बैठकले निम्न चार बुँदे निर्णय गरेको थियो :
- स्वच्छ वातावरण निर्माण गर्दै निरन्तर सिर्जनामा लाग्ने,
- सिर्जनाको सामूहिक छलफल गरी परिष्कार गर्ने,
- उत्कृष्ट रचनाहरू तथा कृतिहरू प्रकाशन गर्ने,
- शैक्षिक, सामाजिक र पयर्यटन (होमस्टे प्रवर्धन)का गतिविधिमा जोड दिने।
पहिलो औपचारिक कार्यक्रमका रूपमा प्रकट पगेनी ‘शिव’को एकल कविता वाचन गरिएको थियो। त्यसयता पुछारसिटे अभियानको गति निरन्तर अघि बढीरहेको छ। सबैतिरबाट यसले स्याबासी पाइरहेको छ। तर, आजसम्म यो संस्था दर्ता भैसकेको छैन। यही भदौभित्र संस्था दर्ता गर्ने तयारी गरिएको छ।
शिक्षा, साहित्य र पर्यटनमा हाम्रो योगदान
अब हामी विभिन्न गाउँपालिका र नगरपालिकासँग मिलेर शैक्षिक कार्यक्रम चलाउँछौं। लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन पालिकाहरूसँग समन्वय गरी गाउँगाउँमा वक्तृत्व, चित्रकला, अभिनय, गायन, नृत्य, साहित्य लेखन आदि कार्यक्रम चलाउँछौं। विद्यालयस्तरका बालबालिकासँग स्थापित कवि, कलाकार, गायक आदिको सम्बन्ध स्थापित गर्न पुल बन्ने छौं। गाउँगाउँका होमस्टेहरूमा हराउँदै गरेको मौलिकता कसरी कायम गर्न सकिन्छ ? भन्ने अध्ययन गर्ने र ग्रामीण पर्यटन अवधारणालाई जीवन्त तुल्याउने कार्यक्रम गर्नेछौं। त्यस्तै सामाजिक, सांस्कृतिक एवम् समसामयिक हिसाबले नागरिक समाजले गर्नुपर्ने अभियानहरूमा सक्रिय सहभागिता जनाउने छौं।