काठमाडौं। नेपाल आरोहण खेल संघ (नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन) को शनिबार काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनबाट पर्यटन व्यवसायी हरिप्रसाद धरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ।
संघको वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल, उपाध्यक्षहरूमा सुनारबहादुर गुरुङ र ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवहरूमा सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्षमा प्रणिलमान श्रेष्ठ, सदस्यहरूमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्रराज दाहाल, मनराज शिम्खडा, राजेश धरेल, मन्जु गिरि र शिवबहादुर सापकोटा निर्वाचित भएका छन।
कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकारमा प्रमनारायण अधिकारीलाई मनोनित गरेको छ।
अधिवेशनका उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए। उनले एनसिएसएसँग हातेमालो गर्ने बताए। ‘एनसिएले भूमिका दियो भने टोखामा यस खेलको लागि जग्गा उपलब्ध गराउँनेछौ। यसले टोखाको पर्यटन विकासमा समेत टेवा पुग्नेछ,’ उनले भने।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेल्कुद परिषदका सदस्यसचिव टंक घिसिङले एउटै क्षेत्रका विभिन्न नाम गरेर संस्था राखेपमा दर्ता गर्न आएको वताउँदै त्यसलाई चुस्त बनाउने प्रयत्न रहेको बताए।
‘एनसिएसए नेपालको एड्भेन्चर स्पोर्टसको प्रतिनिधित्व गरेको संस्था भएकाले परिषदले यसको विकासमा पुर्ण सहयोग गर्नेछ’, उनले भने।
त्यस्तै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले यस खेलले पर्यटन विकासमा ठुलो योगदान पु¥याउने भएकाले हातेमालो गर्न बोर्ड तयार रहेको प्रतिबद्धता जनाए।
‘खेल जगतमा भएको उत्पीडनबारे आवाज उठाउँदा राज्यले निस्तेज गर्न सक्छ’, उनले भने, ‘त्यसैले तपाईंहरू एकजुट भएर अघि बढ्नुहोस्। म साथमा छु।’
यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य प्रकाश कुमार कुसारी (सम्राट) ले एनसीएसएको अभिभावकत्वको रुपमा राखेप रहेको बताए।
कुसारीले खेलकुद क्षेत्रको विकासको लागि निजी क्षेत्रले लगानी गर्ने वातावरण बन्दै गरेको जानकारी दिए। ‘कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत नीजी क्षेत्र, बैङ्क तथा बित्तिय सस्थाहरु सङ्ग खेलकुद अनिवार्य रुपमा लगानी गर्ने गरी कानुन बन्दै गरेको बताए। ‘त्यसको पनि राखेपले अग्रणी पहल कदमि लिने साथै आगामी आवबाट परिषदले नयाँ राष्ट्रिय प्रतियोगिता पनि सुरु गर्ने जानकारी गराए।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको आरोहण खेललाई अन्तराष्ट्रिय जगतमा पुर्याउन ओलम्पिक कमिटीले सक्दो सहयोग गर्ने बताए।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका बोर्ड सदस्य प्रकाशकुमार कुसारी(सम्राट) र गोविन्द भट्टराईलगायतले नवनिर्वाचित सबैलाई शुभकामना दिएका थिए।