पोखरा। रमणीय पोखरा उपत्यकाको चारैतिर सुन्दर डाँडापाखा छन्। ती हरियालीको बर्को ओढेर बसेका छन्। उत्तरमा उभिएका डाँडाको शिरमा भने हिमाल मुस्कुराउँछन्। असिनपसिन हुँदै हिँडेर जब थुम्कामा पुगिन्छ तब हिमाली मुस्कानले थकाई बिर्साउँछ।
चिसो बतासले स्फूर्ति दिलाउँछ। सबैभन्दा ठुलो कुरा हाइकिङले शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ। त्यसैले त ‘हाइकर्स क्लब नेपाल’को छाता ओढेर हरेक महिनाको अन्तिम शनिबार पोखरेली तन्नेरीहरू गाउँघर डुलिरहन्छन्।
क्लबको अभियानले हाइकर्सको स्वास्थ्य त राम्रो हुने भैहाल्यो, गाउँगाउँका सामुदायिक होमस्टेका पनि प्रवद्र्धन भैरहेको छ।
‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मुलमन्त्र बोकेर उनीहरू हिँडिरहन्छन्। कास्की जिल्लामा मात्र होइन, छिमेकका स्याङ्जा र तनहुँका गाउँघर पनि उनीहरूको अभियानले स्याबासि पाइसकेको छ।
उनीहरूको ३७ औं पदयात्रा २७ साउन शनिबारका दिन फेवातालको बाँध (ड्यामसाइट)बाट सुरु भएर रानीवन, विश्व शान्ति स्तुप हुँदै पुम्दिकोटको शिव मन्दिरसम्म पुगेको थियो। झरीबादलका बीचमा मनसुनी सौन्दर्यमा रमाउँदै उनीहरूले पदयात्रा गरे।
पुम्दिकोट पुगेपछि उनीहरू गएकै बाटो फर्केका थिए। शनिबार पदयात्राको नेतृत्व क्लबका सहसंयोजक प्रितम सेनले गरेका थिए।
विगत चार वर्षदेखि क्लब सक्रिय छ। क्लब औपचारिक रुपमा दर्ता भने भैसकेको छैन। ‘अब हामी यसलाई दर्ता गर्छौं’, क्लबका अध्यक्ष कृष्ण रानाभाट भन्छन्, ‘दर्ता गरेपछि हामी महिनाको अन्तिम शनिबार मात्र होइन, हाइकर्सको डिमान्डअनुसार अरु दिन पनि हाइकिङ गराउने छौं।’
उनीहरूको हाइकिङमा २० जनादेखि ५० जनासम्म सहभागि हुन्छन्। कहिलेकाहिँ विदेशी पनि आइपुग्छन्। उनीहरू खाना, खाजा र पानीका लागि जनही पाँच सय रुपैयाँ उठाउँछन्। निश्चित ठाउँसम्म गाडीमा यात्रा गर्नु परेमा त्यसका लागि थप रकम उठाइन्छ। विशेषतः सामुदायिक होमस्टे भएका ठाउँमा बिहानको खाना खुवाइन्छ।
क्ल्बको कदम प्रसंशनिय छ। ‘हाइकर्स क्लबको अभियानले ग्रामीण पर्यटनलाई टेवा पुगेको छ’, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, गण्डकीका संस्थापक अध्यक्ष एवम् ग्रामीण पर्यटनविज्ञ तारानाथ पहारी भन्छन्, ‘साथीहरूले हिँड्नुपर्छ भन्ने जागरण त ल्याएकै छन्। त्यसमाथि गाउँलेहरूको मनोबल बढाउने काम पनि गरेका छन्।’
हाइकिङबाट फाइदैफाइदा
हाइकिङले आफ्नो स्वास्थ्यलाई माया गर्न सिकाएको छ। अर्को कुरा, हामीले पोखरा सेरोफेराका गाउँघर डुल्ने मौका पायौं। त्यहाँको प्रकृति, संस्कृति, जनजीवन र बाटोघाटको अबस्था बुझ्न पायौं। होमस्टे प्रवद्र्धनमा सहयोगी बन्न सक्यौं। यसरी हेर्दा हाइकिङ धेरै उपलब्धिमुलक बनेको छ। हाइकिङबाट बेफाइदा केही छैन, फाइदैफाइदा मात्र छ।
सम्पर्क: ९८५६०७४००६