रोल्पा। लुम्बिनी प्रदेशकै अग्लो झरना रोल्पाको सुनछहरी झरना प्रचुर पर्यटकीय सम्भावना बोकेको झरना हो। हिजो आज यस झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।
सुनछहरी गाउँपालिकाले पर्यटकीय गुरुयोजना अन्तर्गत सुनछहरीको मुहार फेर्न झरनालाई समावेश गरेको छ। गाउँपालिका अध्यक्ष धन बहादुर पुनमगर (कृतिमान)भन्छन , ‘झरना प्राकृतिक रुपमा निकै सुन्दर छ, आन्तरिक पर्यटकहरु दिनहु भ्रमण गर्छन।’
उनिहरुले राम्रो मानेर झरनाको अवलोकन गर्न आउनने गर्दछन् त्यसैले यसको संरक्षण र प्रर्वद्धनमा गाउँपालिका लागेको छ।’ कतिपय गुरु योजना अघिल्लो सरकारको पालामा बनिसकेकोले त्यसलाई निरन्तरता दिएको छ। ‘हामी समग्र गाउँपालिकाकै पर्यटकीय स्थल र धार्मिक गुरुयोजनाहरु पनि बनाउने तयारीमा छौं,’ उनले भने।
सुनछहरी झरनाको अवलोकन गर्न रोल्पा लगायत छिमेकी जिल्ला प्युठानका मानिसहरु आउने गरेका छन्। झरनाको सिरानमा राङरी गाउँ ‘सुनछहरी सामुदायिक होमस्टे’ छ। होमस्टेका अध्यक्ष कुल बहादुर घर्तीमगरले यसको पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिए यस ठाउँ पर्यटनको केन्द्रविन्दु बन्न सक्ने विश्वास व्यक्त गरे। हिउँदमा पनि प्रशस्त पानी रहने झरना २ सय १८ मिटर अग्लो उचाई रहेको छ। समुन्द्री सतहबाट १ हजार ६७५ मिटर उचाईमा रहेको झरना मनमोहक दृश्यले पर्यटकको आगमनमा वृद्धि हुने स्थानीय ज्वाला घर्तीमगर बताउँछन्।
पछिल्लो समय झरनामा पुगेर फोटो,भिडियो खिच्नेदेखि टिकटक बनाउने युवायुवतिहरुबिच प्रतिस्पर्धा चलेको छ। मनमोहक झरनाको तस्विर र भिडियो सामाजिक संजालमा भाईरल भइरहेको छ। कोरोना महामारीको समयमा पनि झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको थियो भने यस झरनाको जानकारी लिने र भ्रमण गर्न चाहनेको संख्या समेत बढ्दै गएको छ।
पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्थाले यस झरनाको सक्रिय रूपमा प्रचार प्रसार गरिरहेको संस्थाका अध्यक्ष पृथ्वी पुनको भनाई छ। ‘हामीले ड्रोन मार्फत फोटो भिडियो लगाायतका सामग्री बनाएर प्रचार प्रसार गर्दै आएका छौँ, अहिले हेर्न आउनेको पर्यटकको संख्या बढेको छ ,’ उनले भने। कोरोनापछि भ्रमण गर्ने आउने आन्तरिक पर्यटकको संख्या बढेको छ।
झरना हेर्न आउनेको संख्या बढेसँगै यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका पूर्वाधार निर्माणले तिव्रता लिन थालेको छ। झरना हुँदै सुनछहरी गाउँपालिकाकै गामको कोठीभीर , तिलाचन , गर्जाबाङ , बिवाङदह लगायतका सम्भावना बोकेका अन्य गन्तव्य समेत रहेका छन्।
कसरी पुग्नेः
(सुलिचौर बजारदेखि करिब १८ किमि माबाङ्गसम्म कच्ची मोटर बाटो हुदै गाडी वा बाइकमा १ घण्टा। माबाङ्गबाट एक घण्टा पैदल मार्गमा झरनासम्म पुगिन्छ।