काठमाडाैं। विश्वको प्रतिष्ठित चलचित्र महोत्सव टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ काे वर्ल्ड प्रिमियर हुने भएको छ। अगामी सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने ४८ औं फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको निर्देशक सुब्बाले बताए।
‘विश्वको प्रतिष्ठित चलचित्र महोत्सव ४८ औं टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा छनौट भई वल्ड प्रिमीयर हुन गइरहेको समाचार सुनाउन पाउँदा हामी उत्साहित भएको छौं,’ निर्देश सुब्बाले भने। विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनौंट हुँदा यस क्षेत्रमा सकरात्मक प्रभाव पार्ने टिमले विश्वास लिएको छ। साथै यस चलचित्रले नेपाली चलचित्रको बिश्वमा दृष्यता बढाउन र सही अन्तराष्ट्रियकरणमा टेवा पुर्याउनेमा निर्माण पक्ष आशावादी रहेको उनले बताए।
निर्देशक सुब्बाले पछिल्लो समय नेपाली सिनेमाको पहुँच विश्वमा बढे पनि विश्व बजारसँग जोड्न नसकेको उनले बताए। ‘नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने हामी प्रयासरत छौ, नेपालमा पनि गुणस्तर सिनेमा निर्माण हुन्छ भन्ने सन्देश पनि विश्वलाई जान्छ,’ उनले भने।
राई समुदायको सामाजिक परिवेषमा बनेको फिल्ममा गाउँमा बाटो आएपछि जनजीवनमा आएको परिवर्तनको विविध पक्षलाई कथामा उतारिएको निर्माता अमोद राईले बताए। निर्देशक सुब्बाको ‘नुमाफुङ’ चलचित्रले यसअघि यसअघि विश्का विभिन्न फिल्म फेस्टिभलमार्फत अन्तर्राष्ट्रिय बजारमा पुरस्कार पाएर चर्चा समेत कमाएको थिए।
नवीन सुब्बाको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा आदीले अभिनय गरेका छन।
महेश राई र नवीन सुब्बाको लेखन रहेको यस चलचित्रमा जोस हेरमको छायाँङकन, क्वान पुन लिउङको सम्पादन, हेडी लि को संगित, किशोर आचार्यको ध्वनी, राज थापाको प्रडक्सन डिजाइन, जगदिस अधिकारी र सुजना श्रीसको कला, रजत राईको प्रप्स र सिकुमा राईको कस्टयूम डिजाइन छ। मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको यस चलचित्रको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता रहेको छन्। यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको व्यानरमा निर्माण गरिएको छ।
चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो। यो चलचित्रको निर्माणमा देश भिन्न र विश्वका विभिन्न देशहरूमा छरेर रहेका नेपालीहरूले सामुहिक लगानी गरेका छन्। फिल्ममा हङकङ, मकाउ, युके, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल, जर्मनी, नेपाल लगायत नेपालबाट लगानी गर्ने व्यक्तिहरुको साथ सहयोग रहेको उनले जानकारी गराएका छन। निर्माता राईले यो फिल्मलाई हङकङको घरेलु बजार हुँदै चीनसँग जोड्ने चहाना रहेको छ । यो चलचित्र भोजपुरको आमचोक, भोजपूर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ।