बागलुङ। नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अबधारणा भित्र्याई त्यसलाई लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङको सम्मानमा बागलुङको भकुण्डेमा सालिकसहित पार्क निर्माण गरिएको छ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र अगुवाईमा वि.सं. २०५४ देखि उनकै जन्मथलो स्याङ्जाको सिरूबारीमा ग्रामीण पर्यटन सुरु गरिएको थियो।
‘रुद्रमान गुरुङ स्मृति पार्कमा’ सालिक बनाइएको छ भने फूलबिरुवा रोपेर सजाउने काम हुँदैछ। ‘हामीले होमस्टेका पिताको सम्मान गरेका हौं’, अतिथि सत्कार सामुदायिक होमस्टे, भकुण्डेका पूर्व अध्यक्ष खिमबहादुर थापा भन्छन्, ‘आउँदो दसैताका सालिक अनावरण गर्नेछौं।’
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमानको परिकल्पना र अगुवाइमा वि.सं. २०५४ देखि उनकै जन्मथलो स्याङ्जाको सिरूबारीमा ग्रामीण पर्यटन सुरु गरिएको थियो।
सिरुबारीको सिको गर्दै मुलुकभर होमस्टे पर्यटन फस्टाएको छ। त्यस्तै एउटा नमुना हो, ‘अतिथि सत्कार सामुदायिक होमस्टे।’ बागलुङ नगरपालिका–१० भकुण्डे गाउँमा वि.सं. २०७३ सालदेखि ‘अतिथि सत्कार सामुदायिक होमस्टे’ सञ्चालनमा गरिएको हो। अचेल यहाँका १५ घरमा पाहुना राखिन्छ।
भकुण्डे घुम्नलायक छ जहाँबाट गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत दर्जनौं हिमचुली देखिन्छ। गाउँ नजिकै जंगल छ जहाँ चराको चिरबिर सुनिन्छ। जंगली जनाबरहरु पनि भेटिन्छन्।
मगर समुदायले होमस्टे सञ्चालन गरेका छन्। बागलुङबजार नजिकैको होमस्टेमा लोकल परिकार पाक्छ। लोकल कुखुरा, कोदोको रक्सी, कोदोका परिकार पनि यहाँका खाद्य आकर्षण हुन्।
गाउँको शिरानमा भ्यू टावर छ भने बीचमा बराहताल र मन्दिर। सांस्कृतिक हिसाबले पनि रमणिय छ। पाहुनाको मागअनुसार साँझ यानीमाया, सालैजो र झ्याउरे भाकामा छुम्छ भकुण्डे।
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० किमि। पोखरा–बागलुङबजार ७२ किलोमिटर। बागलुङबजारदेखि भकुण्डे ११ किलोमिटर। बजारबाट जीप वा बाइकमा सजिलै भकुण्डे गाउँ पुग्न सकिन्छ।
सम्पर्कः
अतिथि सत्कार होमस्टे
भकुण्डे, बागलुङ
खिमबहादुर थापा–९८४७६२८४९