काठमाडौं। उनी विदेशीलाई विभिन्न ठाउँमा डुलाउने काम गर्छन्। कहिले सगरमाथा आधारशिविरमा पुग्छन् त कहिले उपल्लो डोल्पामा। त्यसो त उनी पर्यटकलाई पदयात्रा मात्र गराउँदैनन्, सहरका सांस्कृतिक सम्पदाहरू पशुपतिनाथ, बौद्धनाथ, लुम्बिनी, भक्तपुर, पाटन, बसन्तपुरतिर पनि घुमाइरहेका भेटिन्छन्।
फोटोग्राफी उनको सौखको विषय। काठमाडौंको मरु ख्योकेवमा जन्मे/हुर्केका रोशनको तन र मन पर्यटनकर्ममै समर्पित छ।
यसबाटै उनको बिहान र बेलुकीको गुजारा चल्छ। यतिले मात्र रोशन मानन्धरको चिनारी पुरा हुँदैन। उनी माउन्टेन फोटोग्राफर पनि हुन्। जताजता पुग्छन् त्यहाँका तस्बिर क्यामेरामा कैद गर्छन्। पोखरा पुग्दा उनको लेन्समा फेवाताल र माछापुच्छे« अटाउँछन् भने सगरमाथामा पुग्दा आमाडब्लम र सगरमाथा चुली। साथै वनजङ्गल, खोलानाला, संस्कृति र जीवनशैलीका तस्बिर पनि खिचिरहन्छन्।
कति भयो त तस्बिर खिच्न थालेको ?
‘दश वर्षभन्दा बढी भयो मैले फोटो खिच्न थालेको’, ४३ वर्षे रोशन भन्छन्, ‘पहिलापहिला मोबाइल फोनले खिच्थें। पछि पोर्चुगलबाट दाइले पठाइदिएको डिजिटल क्यामेराले खिच्न थालें ।’
खासमा विदेशीलाईं खुसी बनाउन उनले फोटोग्राफी सुरु गरेका। भएछ के भने, एकपटक कोरियालीसँग अन्नपूर्ण पदमार्गमा जाँदा हाई अल्टिच्युडमा उसले क्यामेरा बोक्न सकेन। उसले आफ्नो डिएसएलआर क्यामेरा रोशनलाई दियो।
‘उसले अटोमा राखेर मलाई फोटो खिच्न सिकाइदियो’, रोशन सम्झिन्छन्, ‘मैले पनि धमाधम खिचें। जति खिचें ती सबै राम्रा निस्किए। ती पाहुना पनि साह्रै खुसी भए।’
रोशनलाई लाग्यो, अहो, यसरी पो पाहुना झनै खुसी हुँदा रहेछन् ! अनि उनले एउटा राम्रो क्यामेरा किने। पदयात्रा र सिटी टुरमा खिचिएका तस्बिरहरू पर्यटकलाई दिन थाले। यसले उनीहरूका बीचमा आत्मीयता बढायो। पछि सन् २०१८ अगस्टमा ओमप्रकाश यादवसँग फोटो सम्पादन कला पनि सिके।
अचेल पदयात्रामा जाँदा हातमा क्यामेरा भएन भने उनका पाइलै सर्दैनन्। एकै ठाउँमा जाँदा पनि फरकफरक समयमा फरकफरक दृश्य देखिन्छन्। ती दृश्यले लठ्ठै बनाउँछन्।
उनको अकाईभमा हजारौं तस्बिर छन्। उनी सामाजिक सञ्जालहरू फेसवुक र इन्स्टाग्राममा तस्बिरहरू पोस्ट गर्छन्।
‘काममा अझै निखार ल्याउन प्रयत्न गर्दैछु’, भबिश्यका योजनाबारे उनी भन्छन्, ‘एउटा राम्रो फोटो बुक प्रकाशन गर्ने रहर छ।’
आज फोटोग्राफीमा रमाएका रोशन पुराना दिन कहिल्यै बिर्संदैनन्। तिनताका उनी ग्राफिक डिजाइनरका रुपमा, कलङ्की काठमाडौंको ‘कोजी कनेक्सन नेपाल’मा काम गर्थे। केही न केही नौलो काम गर्न रुचाउने उनी विश्वभाषा क्याम्पसमा कोरियन भाषा पनि सिकिरहेका थिए।
त्यतिबेला उनले ‘डिस्कभर एडभेन्चर कम्पनी’बाट सगरमाथा क्षेत्रको पदयात्रामा जाने मौका पाए। जम्मा दुई विदेशी र एक जना गाइड थिए। उनको काम चाहिँ भाषा अनुवादकका रुपमा थियो। यसरी पहिलोपटक सन् २००७ जनवरी २२ मा पदयात्रामा निस्के उनी।
पदयात्राले उनलाई मोहनी लगायो। त्यसपछि फर्केर हेर्नु परेन। उनी एकपछि अर्को गर्दै अन्नपूर्ण वेस क्याम्प, लाङटाङ र उपल्लो डोल्पा पदयात्रामा निस्के। उपल्लो डोल्पाबाट उपल्लो मुस्ताङसम्मको पदयात्रा लामो थियो, २८ दिनको।
समयसँगै उनले मुलुकका प्रमुख पदमार्ग छिचोलिसके। कोभिड–१९ सुरु भएसँगै पर्यटन ठप्प भयो। पदयात्रामा जान पाएनन्। त्यसैले साथीहरूसँग मिलेर चराचुरुङ्गीका तस्बिर खिच्न थाले। आजभोली हरेक शनिबार काठमाडौं सेरोफेरोमा चरा अध्ययनमा निस्कन्छन्।
कोभिड शान्त भएसँगै बिस्तारै पर्यटनले गति लिन थालेको छ। फेरि उनी पदयात्रामा फर्किसके। ‘अब जाँदा हिमाली चराको पनि अध्ययन गर्नेछु’, उनले भने, ‘हिउँचितुवा पनि खिच्नेछु ।’
फोटोग्राफी उनको सौखको विषय। काठमाडौंको मरु ख्योकेवमा जन्मे/हुर्केका रोशनको तन र मन पर्यटनकर्ममै समर्पित छ। उनले उनले भर्खरै ‘स्माइल नेपाल एड्भेन्चर’ नामक ट्रेकिङ कम्पनी पनि खोलेका छन्।
अत्यमा, हिजो उनी पर्यटकलाई खुसी बनाउन फोटो खिच्थे। आज पनि पर्यंटकलाई खुसी बनाउँछन्। तर उनीहरूभन्दा बढी खुसी आफैं बन्छन्। यसरी फोटोग्राफीले उनलाई खुसी दिलाएको छ।
हेर्नुहोस् रोशनले खिचेका केही तस्बिरहरू :
फाटाेग्राफर मानन्धरकाे सामािजक सञ्जाल हेर्न यहाँ थिच्नुहाेस्।