काठमाडौं। घुमफिरका अनुभूतिहरूलाई कवितामा ढाल्दै आएका पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने पुस्तक ‘कञ्चनपुरदेखि कञ्चनजंघा, कवितामय फन्को देशको’ प्रकाशन हुँदैछ।
यसमा सातै प्रदेशका पर्यटकीय सम्पदाको कवितात्मक महिमागान छ। साथै पर्यटकीय सम्भावना भएका ठाउँहरूलाई कसरी ब्रान्डिङ गर्ने र कसरी पर्यटकीय उपज बनाउने भन्ने सन्देश पनि दिइएको छ।
त्रिशुली राफ्टिङ
सरल अनि कलात्मक भाषामा लेखिएका कवितासँगै सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि राखिएका छन्। पुस्तकले पाठकमा नेपालप्रति आत्मगौरब बढाउन र घुमघाम गर्न प्रेरित गर्ने देखिन्छ।
खप्तडमा
बुक्स हिमालयले प्रकाशन गर्न लागेको पुस्तकमा कवि एवम् पर्यटनविद् ऐर भन्छन्, ‘सातै प्रदेशका हिमाल, पहाडतराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, चैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तब्यहरूमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गर्ने प्रयास गरेको छु।’
उनी नेपालका सबै जिल्लामा घुमिसके। यो नै उनको पहिलो किताब हो। सुदूरपश्चिमका कवि ऐरले कलेज जीवनदेखि नै कविता लेख्न थालेका। ‘पहिलापहिला डायरीमा लेखेर राख्थें’, उनले भने, ‘३–४ वर्ष यता भने मिडियामा छाप्न थालेको हुँ।’
उनी नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हुन्। हाल पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखा प्रमुखका रुपमा कार्यरत छन्। बोर्डमा उनले काम गरेको २३ वर्ष भयो।
बर्दियामा बाघलाई कुर्दै ।
सगरमाथा पदयात्रा