नुवाकोट। नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका वडा नं ६, मोहर थोकस्थित लप्से खोलामा रहेको मनोरम झरनालाई पर्यटकीय गन्तव्य बनाउन चाहिने पूर्वाधार विकास गरिने भएको छ। स्थानीय गाउँपालिकाले पदमार्ग निर्माणका साथै झरना क्षेत्रको सौन्दर्यीकरणको काम गर्नेछ।
खोलेगाउँभन्दा मुन्तिर जंगल खोंचमा रहेको छाँगोको दृश्यले सबैलाई मोहित तुल्याउँछ। बर्खामा मात्र होइन, हिउँदमा पनि पानी हुने भएकाले यसलाई आकर्षक पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिन्छ। त्यसका लागि पूवर्धार विकासका काम जरुरी छ।



गाउँबाट झरनासम्म पुग्ने गोरेटो भने सजिलो छैन। ‘हामी यही वर्षदेखि पदमार्ग निर्माण सुरु गर्दैछौं’, स्थानीय वडाध्यक्ष बिष्णु श्रेष्ठले भने, ‘खोलेगाउँबाट झरनासम्म पुग्न ठाउँठाउँमा सिँढी बनाउनेछौं। कतै गोरेटो फराकिलो बनाउनेछौं भने कतै अप्ठेरो ठाउँमा रेलिङ पनि निर्माण गर्नेछौं।’

खोलेगाउँबाट देखिएको दृश्य ।
गाउँलेले यसलाई ‘ठुलो भिरको छाँगा’ भन्ने गरेका छन्। ‘छाँगाको शिर र पुछारमा ढुङ्गाबाट बनेका प्राकृतिक पोखरी पनि छन्’, मोहर थोकका ६२ वर्षे पूर्णबहादुर तामाङ भन्छन्, ‘झरनासम्म पुग्ने बाटो सजिलो बनाउन सके दिनदिनै पर्यटक आउने थिए।’

झरना जाने सडक छेउको चैत्य ।
प्रकृतिप्रेमी समूहकी कोषाध्यक्ष एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा साउन २० गते शनिबार लप्से झरनाको अध्ययन गरिएको छ। झरनासम्म घुमेर फर्केपछि उनले वडाध्यक्ष श्रेष्ठसहित स्थानीयसँग अन्तरक्रिया गरिन्। ‘झरना एकदमै सुन्दर रहेछ। तर अहिलेकै अबस्थामा यहाँ हाइकिङ सम्भव छैन’, उनले भनिन्, ‘तपाईंहरु पदमार्ग बनाउनुस्। हामी यहाँ पदयात्रा गराउने छौं।’

पदमार्ग बनेपछि आगामी भदौ वा असोजको दोस्रो शनिबार पदयात्रा गराउने उनको योजना छ। स्मरणीय रहोस् प्रकृतिप्रेमी संस्थाले महिनाको दुई पटक (दोस्रो र चौंथो शनिबार) काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। महर्जन तिनै हाइकिङविज्ञ हुन् जसले नेपालमै पहिलो हाइकिङ पुस्तक ‘हाइकिङ काठमाडौं’ लेखेकी छिन्।
उनको यो पुस्तक दुई संस्करण प्रकाशित भैसकेको छ। तेस्रो संस्करणमा काठमाडौं नजिकैका नुवाकोट, धादिङ, मकवानपुर र काभ्रेका केही गन्तव्य समेत थप्ने उनको योजना छ।
हाइकिङविज्ञ रामदेवी महर्जन
लप्से झरना ओझेलमा परेको छ। गाउँकै जंग लामा, वडाध्यक्ष श्रेष्ठलगायतका युवाले भने सामाजिक सञ्जाल मार्फत् निरन्तर यसको प्रचारप्रसार गर्दै आएका छन्। पर्यटकका लागि गाउँमा एउटा रिसोर्ट निर्माण हुँदैछ भने वडाध्यक्षको घरमा होमस्टे सुविधा पनि छ।


खोलेगाउँको होमस्टे ।
झरनामा पुग्न काठमाडौंको सामाखुसीबाट ग्राण्डी हस्पिटल हुँदै गुर्जेभञ्ज्याङ भएर पुलिसचौकीसम्म १२ किलोमिटर। चौकीबाट खोलेगाउँसम्म ९ किलोमिटर पक्कि सडक। त्यहाँबाट २ किलोमिटर कच्चि सडक। अनि आधा घण्टा पदयात्रामा झरनामा पुगिन्छ। झरनासम्म पुग्ने गोरेटो निकै अप्ठेरो छ।

बिष्णु श्रेष्ठ, वडाध्यक्ष, शिवपुरी गाउँपालिका–६
सम्पर्क:
बिष्णु श्रेष्ठ–९८५११५५१५८
वडाध्यक्ष