काठमाडाैं। कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला र तेन्जिन सहितका आरोहि टोलीलाई काठमाडौंमा शनिवार भव्य स्वागत गरिएको छ ।
तीन महिनामा १४ वटा ८ हजार मिटरमाथिका हिमाल आरोहण गरेका विश्व कीर्तिमान राखेका दुई पर्वतारोहीलाई लगायत अन्य शेर्पा आरोहीहरुलाई पाकिस्तान स्थित ८ हजार मिटरका हिमाल आरोहणपछि नेपाल फर्कने क्रममा विमानस्थलमा स्वागत गरिएको हो।
उनिहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले लगायत विभिन्न संघ संस्थाले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
उनिहरुसँगै पाकिस्तानका ५ वटा सबै हिमाल चढेर १७ वर्ष उमेरमै किर्तिमान राखेका निमा रिन्जिन शेर्पा लगायत एकै परिवारका ४ जना शेर्पा र अन्य आरोहिलाई पनि स्वागत गरिएको थियो। रिन्जिनले यस अघि नेपालको मनास्लु, सगरमाथा र ल्होत्से चढिसकेका छन।
नर्वेकी आरोही क्रिस्टिन हरिला र संखुवासभाका नेपाली माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले गत जुलाई २७ मा विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहण गरेसँगै विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल सबै भन्दा छिटो चढ्ने किर्तिमान राखेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको आरोहण गरिसकेका थिए ।